मेरो घरठेगाना कहाँ हो सरकार ?

दिनेश पौडेल

पोहोरसाल भारतको तीर्थयात्राको सिल्सिलामा उडिसाको जगन्नाथधाम पुगेको थिएँ । त्यहाँ रहेको नेपाली धर्मशालामा पुग्ने तीर्थयात्रीको विवरण राखिँदो रहेछ ।
हाम्रा हजुरबा १९८७ सालतिर त्यहाँ पुग्नुभएको कथा मैले सानामा उहाँकै मुखबाट सुनेको थिएँ । त्यहाँको कर्मचारीलाई भनेँ– ‘मेरा हजुरबा १९८७ सालतिर यहाँ आएको कुरा गर्नुहुन्थ्यो । त्यसबेलाको रेकर्ड हेर्न सकिएला ?’
‘मजाले सकिन्छ नि, किन नसक्नु ?’ उसले उज्यालो अनुहार बनाएर भन्यो– ‘नाम र ठेगाना भन्नुहोस् न त †’
‘कपिलमणि पौडेल, जिल्ला– ताप्लेजुङ, गाविस– ढुङ्गेसाँगु, वडा नम्बर नौ † विक्रम संवत् १९८७ माघ हुनुपर्छ ।’
उसले उक्त ठेगाना भएको खाता निकालेर हे¥यो । त्यहाँ केही भट्टराई, अधिकारी र गौतमहरूको विवरण भेटियो । आफ्नाहरूको विवरण नभेटेकाले म उदास भएँ ।
हजुरबाले यसै धर्मशालाको कुरा गर्नुभएको नहुन पनि सक्थ्यो । मैले उक्त कर्मचारीलाई सोधेँ– यहाँ अरू पनि यस्ता नेपाली धर्मशाला छन् ?
‘छैनन् । नेपाली धर्मशाला यही मात्र हो ।’ उसले प्रस्ट पा¥यो ।
मैले केहीबेरपछि झट्ट सम्झेँ । हाम्रो गाउँ त पहिले तेह्रथुम जिल्लामा पथ्र्याे । पछि तेह्रथुमका केही गाउँ पञ्चायत काटेर ताप्लेजुङमा मिसाइएको हो । मैले उसलाई तेह्रथुम जिल्लाको ढुङ्गेसाँगु गाउँ पञ्चायतमा मेरा हजुरबाको विवरण खोजिहेर्न भनेँ ।
उसले अर्काे एउटा उस्तै मोटो न मोटो ढड्डा पल्टायो र तेह्रथुम जिल्ला, ढुङ्गेसाँगु गाउँ पञ्चायतबाट जगन्नाथपुरीको दर्शन गर्न आउने मानिसको विवरण हे¥यो । त्यहाँ पनि केही मानिसको नाम थियो तर मेरा हजुरबा र उहाँसँग आउनुहुने अरू कुनै तीर्थयात्रीको नाम थिएन ।
निकैबेरपछि उसले टोलको नाम सोध्यो । मैले भनेँ– टोलको नाम त ठोट्ने हो ।’
‘धत्तेरिका † अगि नै त्यसो भन्नुपर्दैन †’ उसले तुरुन्तै अर्काे उस्तै ढड्डा पल्टायो ।
हो रहेछ । मेरा हजुरबा मात्र होइन, हजुरआमा, कान्छा हजुरबा, कान्छी हजुरआमा र अरू निकैजना आफन्त तीर्थयात्रुको नाम र ठेगाना त्यहाँ सुरक्षित रहेछ । भेटियो– धनकुटा जिल्ला ठोट्ने गाउँ ।
हामी २०२८ सालमा ठोट्ने छाडेर मोरङको दुलारी गाउँ पञ्चायत वडा नं. ९ लोचनीमा बसाइ स¥यौँ । पछि २०३५ मा हो क्यार दुलारीलाई टुक््रयाएर राजमार्गदेखि उत्तरको भाग सुन्दरपुर भएछ, आधाउधि भाग मात्र दुलारी बाँकी रहेछ । पोहोर त्यै दुलारी र सुन्दरपुरलाई फेरि मिसाएर सुन्दरदुलारी नगरपालिका भनियो । पोहोर दुलारीलाई सुन्दरदुलारी बनाएकै समयमा हरैँचा र इन्द्रपुर मिलाएर कोसीहरैँचा नगरपालिका भनियो । इन्द्रपुरलाई हरैँचा गाउँ पञ्चायतबाट टुक््रयाएर छुट्टै गाउँ पञ्चायत बनाइएको थियो उसबेला । एक वर्ष नपुग्दै अब सुन्दरदुलारीलाई कोसीहरैँचासँग जोडेर सुन्दरहरैँचा नगरपालिका बनाएका रे । २०३४ साल माघमा हामी लोचनीबाट राजघाट गाउँ पञ्चायत वडा नम्बर ४ मा बसाइ सरी गयौँ । केही समयपछि त्यो ठाउँ इटहरा गाउँ पञ्चायत वडा नं. ८ घोषित भयो । मेरो नागरिकतामा त्यही इटहरा गाउँ पञ्चायत वडा नंं ८ नै लेखेको छ । गाउँको नाउँ सातमेडी हो । अहिलेसम्म गाविस भन्दै थियौँ अब खै गाउँपालिका भएको हो कि नगरपालिका भइसकेको हो, म स्पष्ट छैन ।
मेरो इटहरा गाउँ अब रतुवामाई नगरपालिका भएको छ भन्ने खै कुनचाहिँ हो, अनलाइन पत्रिकामा पढेको छु । हाम्रो गाउँमा ध्वाँसे भन्ने एउटा जँड्याहा थियो । एक नम्बरको ठग र ढाँट । बरु त्यस ढाँटले भनेको पत्याउन सकिएला, यी असङ्ख्य इन्टरनेट पत्रिकाको भनाइ पत्याउन सकिँदैन । जे भए पनि मेरो गाउँ अब नगरपालिका चाहिँ भएजस्तो छ † अबको तीनचार वर्षभित्रमा महानगरपालिका पनि हुन के बेर ? म बाउन्न सालमा मास्टरी गर्न इटहरी आउँदा यो गाउँ विकास समिति नै थियो । गाउँको विकास हुँदाहुँदा नगरपालिका हुँदै अब उपमहानगरपालिका भइसक्यो इटहरी ।
हिजो एउटा गाउँले भाइसँग भेट भएको थियो । ऊ पनि इटहरा गाउँको नाम रतुवामाई हो कि के राखियो है भन्दै थियो । रतुवा त गाउँनेरकै नदी हो, हुनसक्छ त्यसै नदीको नामबाट हाम्रो गाउँको नाम राखे कि ? तर कसैले रतुवा खोलालाई रतुवामाई भनेको सुनिनँ मैले जिन्दगीमा कहिल्यै । सबैलाई थाहा छ, माईखोलो निकै पर छ हाम्रो गाउँबाट । त्यति परको माईको नाम जोडेर कसले मेरो गाउँको नाम फेरिदियो होला ?
यो सरकार पनि अचम्मको छ भन्या, कहीँकतै टिनको छानो भएको घर देख्नै हुँदैन यसलाई । हतारहतार नगरपालिका बनाइदिइहाल्छ । एउटा किराना पसल, एउटा स्कुल, एउटा सिटामोल बेच्ने दोकान, हप्ताको एक दिन हटिया लाग्ने चोक र चार फिट चौडा गोरेटो बाटो देख्यो भने नगरपालिका घोषणा गरिदिइहाल्छन् । हामी उल्लूहरू पनि दङ्ग, सरकार पनि ढुक्क ।
अब आफूलाई रतुवामाई नगरपालिकाको नागरिक हुँ भनूँ भने वडा नम्बरसम्म थाहा छैन । आफू बस्तै छु इटहरीमा, उताबाट बसाइसराइको कागत यता ल्याएकै छैन । अब कताबाट इटहरी आउने होला म ?
आज एउटा ब्याङ्कमा गएको थिएँ । ब्याङ्कका कर्मचारीले घरठेगाना सोधे । मैले त स्थायी ठेगाना इटहरा गाविस हो भनिदिएँ । गल्ती पो बोलियो कि ?
राणा प्रधानमन्त्री वीरशमशेरले देशको शासन–प्रशासन चलाउन देशलाई पैँतीस जिल्लामा बाँडेका थिए । पछि देशमा प्रजातन्त्र आयो, पैँतीस जिल्लाले काम चलेकै थियो क्यार प्रजातन्त्रको जुगमा । तर श्रीश्रीश्रीश्रीश्री महेन्द्र नामका बडा क्रान्तिकारी राजालाई माटो सुहाउँदो प्रजातन्त्र चाहियो । उनले पचहत्तर जिल्ला र चौध अञ्चल जोडे । उनका पुत्ररत्नलाई त झन् त्यतिले पुग्ने कुरै भएन । उनलाई जताततै विकास नछरी चित्त बुझ्ने कुरा थिएन । त्यै भएर चार–पाँच विकासक्षेत्र बनाएर देशलाई एसियाली मापदण्डमा पु¥याए ।
अनि त के थियो र, देशमा विकासको बाढी ह्वालह्वाल आइहाल्यो । गाउँगाउँमा विकासको खोलो बग्यो । त्यै भएर त हो गाउँ पञ्चायत भएका ठाउँमा त्यसलाई विकास गरेर गाउँ विकास समिति ठड्यायौँ । धन्न बेलैमा हामी विकासको बाढीमा पसिहालेछौँ ।
हुन त राजा वीरेन्द्र नाताले महेन्द्रका छोरा हुन्, तर विकास गर्ने मामिलामा उनी महेन्द्रका बडाबाबु देखिए । देशले विकासबाहेक अरूथोक सोच्नै छोड्यो । हामी त खान पनि विकास, दिसापिसाब पनि विकासकै गर्न थालिहालेका थियौँ नि । संसार नै छक्क प¥यो हाम्रो विकासको गति देखेर ।
अनि त देश क्रमशः स्वर्गको टुक्रो झैँ सुन्दर हुन थाल्यो । बाह्र वर्षसम्म हामी नागरिकहरुलाई स्वर्ग पठाउने उद्धारकार्यमा व्यस्त भयौँ । भ्रष्टाचारका कारण कमजोर तरिकाले बनाइएका भवन, पुल, टावरहरू ध्वस्त पार्यौँ । बाढीपहिरो र दुर्घटनामा तेह्र हजार अनि महान् बलिदानद्वारा सत्र हजार गरी तीस हजार मानिसको समयपूर्व उद्धार भयो ।
म त ढुक्क छु । जे भए पनि अब वीरेन्द्रका हजुरबाहरू सत्तामा आइसकेका छन् । अचेल सडकमा मोटर होइन विकास गुडुडु कुद्छ । विकासलाई स्वागत गर्न सडकमा टायर बाल्दै छौँ । कहिलेकाहीँ टायर मात्र बालेर विकास सम्हाल्न गारो पर्छ अनि ट्रक, बस र मोटरसाइकल नडढाईकन हुँदैहुँदैन भन्या । स्कुलमा विकासको बीज रोपिइसकेकाले त हो, केटाकेटीले पढ्न छाडेर लभ र डेटिङ सुरु गर्न थालेका । विकासमा सबैभन्दा बाधा गर्ने भएकाले शिक्षकहरूलाई कान समातेर उठबस गराउँछौँ । त्यतिले पनि कहिलेकाहीँ विकासको बाटो खुल्दै खुल्दैन, अनि उहाँहरूलाई सादर कुटपिट, काटकुट आदि गरेर परमधामको बाटो तय गरिदिन्छौँ ।
अझै केही युवाहरू खाडीमा जान बाँकी नै छन् । त्यै भएर सहरमा अझसम्म कताकतै ठिटाठिटी देखिन्छन् । हुन त यति ठिटाठिटी टायर बाल्न, लाठी वा भालाबर्छा जुलुस निकाल्न र पुलिसको गोलीको सदुपयोग गर्न नभई हुँदैन ।
अब झन् धेरैथोक हुने भयो मुलुकमा । मानिसहरूलाई उद्धार गर्दै सहिदहरूकहाँ पठाउने क्रम सुरु हुनासाथ तीव्रगतिमा बढोत्तरी हुँदै छ ।
अब विकासको गति अझै बढाउने हो भने हरेक वर्ष हाम्रा गाउँ र सहरको नाम र सिमाना हेरफेर गर्नुपर्छ । हरेक वर्ष नयाँनयाँ राज्य निर्माण गर्नुपर्छ । राज्यपुनर्संरचनाको पवित्र कार्यलाई निरन्तर कायम राख्नुपर्छ । यसपालिलाई गाउँपालिका वा नगरपालिका भनिहालियो, आघौँचाहिँ यिनीहरूको नाम बदलेर चीनका झैँ काउन्टी र टाउनसिप राख्नुपर्छ । अर्काे वर्षचाहिँ बेलायतका झैँ प्यारिस र बोरो भन्नुपर्छ । अनि अर्काे वर्ष अमेरिकाका झैँ पचास राज्यमा बाँड्नुपर्छ । अर्काे वर्ष टोलटोललाई अमेरिकी नाम दिनुपर्छ । देश कहाँको कहाँ पुगिहाल्छ नि †
छाप र साइनबोर्ड बनाउने अनि लेटरहेड छाप्ने उद्योगको विकासमा पनि योगदान पुगिरहेकै छ । यस उद्योगको विकासका लागि स्कुल, कलेज र विश्वविद्यालयहरूको नाम पनि फेर्दै गर्नुपर्छ । यस महान् कामको सुरुआत महेन्द्र संस्कृत विश्वविद्यालयबाट सुरु भएकै हो । कुनचाहिँ नश्लवादी, यथास्थितिवादी, पुनरुत्थानवादीले गर्दा हो त्रिभुवन विश्वविद्यालयको नाम अझै त्यही रहेको ?
तर एउटा कुरो सुटुक्क भन्छु म, चुनावचाहिँ कहिल्यै गर्नुहुँदैन । बेकारको खर्च हो चुनाव भनेको । चुनावले देशको लोकतन्त्रलाई धरापमा पार्छ । चुनावले राष्ट्र, राष्ट्रियता, समाजवाद र देशको सार्वभौमसत्ता खतरामा पार्छ ।
उसबेला राणाहरूले बाँडेका पैँतीस जिल्ला र तिनका नाम नै आजसम्म कायम राखेको भए आज देश बर्बाद भइसक्ने थियो होला । धन्न हाम्रा नेताहरूले बेलैमा बुद्धि पु¥याएर देशको रक्षा गरेका छन् । संसारैभरि देशको विकास यस्तै तरिकाले हुन्छ । हगि ?
(२०७३ फागुन २७, इटहरी)

प्रतिक्रिया

सम्बन्धित