कथा : रातो पोते

दिनेश पौडेल

‘ई……! के गरेको त्यस्तो ?’ उनी एकदम चिच्याइन्, मानौँ उनको भुँडीमै मैले कुनै धारिलो हतियारले घोचेको थिएँ ।
‘किन र बहिनी ? के गरेँ र मैले ?’ म पनि हडबडाएँ उनको चित्कारले ।
‘किन फोटो खिचेको त्यस्तो अपशकुनको ?’
कालीगण्डकी रिडीघाटको सफा बगरमा फालिएको त्यो रातो सुन्दर पोतेले सुखद सन्देश दिने कुरै थिएन । कुनै आलो वैधव्यको सङ्केत थियो त्यो । हिजो वा आज बिहानै कुनै नारीले आफ्नो पति गुमाएको शोकको प्रतीक बनेर बगरमा अलपत्र लडिरहेको त्यस रातो ठूलो पोेतेको फोटो खिच्तै थिएँ । एक विधवाको शोकलाई क्यामरामा उतार्नु सजिलो थिएन ।
म फोेटो खिचिरहन्छु । न त अनुभवी क्यामेराम्यानसँगको सङ्गत छ, न फोटोग्राफीसम्बन्धी पुस्तक वा लेखहरूको अध्ययन छ मेरो । आफ्नो मनज्ञान र अनुभवले जे सिकायो त्यसैको आधारमा म फोटो खिच्ने गर्छु ।
‘पोते आफैँ आँसुको प्रतीक होइन, पोते आफैँले आँसु बोक्तैन । घाटमा फालिएको पोतेले शुभ खबर त कहाँ भनेको हुन्छ र बहिनी ? यसरी मसानघाटमा अलपत्र परेको पोते नारीको जीवनको सबैभन्दा कहालिलाग्दो क्षणको सूचक हो ।’ मैले भनेँ ।
‘त्यो त हो …। मानिसको जिन्दगी, के भन्न सकिँदो रहेछ र खै ?’’ उनले निराश अनुहार बनाइन् ।
‘कुनै नारीको सबैभन्दा पीडाको क्षणको खबर बोकेर सफा सेतो बगरमा अलपत्र पडिरहेको हो भनेरै मैले यसको चित्र उतार्न खोजेको हुँ बैनी ¤’ मैले थपेँ ।
‘दाइ ¤ पत्रकार हुनुभो तपाईँ ?’ उनले भनिन् ।
‘हैन । किन र ?’ फोटो त अरूले पनि खिच्न मिलिहाल्छ नि ।’
‘पत्रकारहरू यस्तै आँसुको खबर बेचेर पेट पाल्छन् ।’
‘आँसु हाम्रो जीवनको अभिन्न अङ्ग हो । आँसुको खबर नछापिए हामीले थाहा पाउन्नौँ । पत्रकारले त आँसु र आक्रोशको मात्र हैन, खुसी, विकास, एकता, आशा र सपनाको पनि समाचार बनाउने गर्छन् । हैन र ?’
‘छाडिदिऊँ दाइ, तपाईँ पत्रकार हुनुहुन्न भने सकिइगो नि । घर कहाँ पर्यो रे तपाईँको ?’
‘घर त मेरो इटहरी हो । यहाँ रुरुक्षेत्रको दर्शनार्थ आएको हुँ ।’
‘ए !’ ती महिलाले भनिन् । केहीबेरअघि मैले उनैको होटलमा बिहानको खाना खाएर यता आएको थिएँ । परैबाट उनको होटलको नामपाटी देखिएको थियो ः ‘मरासिनी होटल । शुद्ध शाकाहारी भोजनका लागि हामीलाई सम्झनुहोला ।’
म फेरि त्यस अलपत्र पोतेको फोटो भिन्नभिन्न कोणबाट खिच्न थालेँ । ती बैनी अलिक नजिक आइन् । उनले मलाई आफ्नो होटलमा खाना खाएर निस्केको ग्राहक भनेर चिनेकी थिइन् ।
उनले सोधिन्– ‘दाइ ! रिडीबाट हजुरले आफ्नो गाउँमा लग्न मिल्ने धेरै कोसेली छन् । यहाँको सक्खर लग्नुहोस् । नामुद छ यो । यहाँका शालिग्राम त संसारभरि पुजिन्छन् नै । शालिग्राम लिएर जानुहोस् । यहाँका शालिग्राम लगेर घरमा राख्नुहोस्, पूजा गर्नुहोस् । यहाँ माला छन्, फूलपाती छन् । मन्दिरनेर पोते पनि किन्न पाइन्छ । ती पनि लग्नुभएको राम्रो । फोटो नै खिच्ने हो भने मन्दिरहरूको, रिडी बजारको, पहाड, नदी–खोला, पुल र मानिसको खिचेर लग्नुहोस् । यस्तो पोतेको फोटो नखिच्नुहोस् । खिच्नुहुँदैन । कसैलाई देखाउनू पनि हुँदैन ।’
‘किन र बहिनी ?’
‘मान्छेको मन भाँडिन्छ नि, बिरक्तिन्छ नि । छोटो तर कहालिलाग्दो कहानी छ यस पोतेको ।’
‘कस्तो कहानी छ बैनी ?’ मैले उनको पनि फोटो खिच्तै भनेँ ।
‘दाइ पूर्वको मान्छे, मलाई त पूर्वका मान्छेको बोली नै मन पर्छ । कति मीठो बोली हजुरको ?’ उनले कुराको विषय मोडिन् ।
‘हेहे । मलाई चाहिँ पाल्पाली र गुल्मेलीहरू बोलेको सुनिरहुँ जस्तो लाग्छ । हजुरहरू बोलेको त कविता भनेजस्तो, गीत गाएजस्तो …..। साँच्चै भन्छु म ….।’
यसैबेला पर रिडी बजारमास्तिर उता तमघासतिरबाट आउँदै गरेको बस ट्याँ…..ट्याँ….. गर्दै करायो । हेरेँ, सेतो बस बिस्तारै ओरालो झर्दै छ ।
ए ¤ साढे एघार पो बज्न लागेछ त ¤ उनले माथिबाट आउँदै गरेको बसलाई औँल्याउँदै भनिन्– ‘उ ः रेसुङ्गा आयो ।’
उता शिवमन्दिरतिरबाट एक हूल लोग्नेमानिस र स्वास्नीमानिस बगरतिर आइरहेका थिए । एउटा जिप रिडी बजारबाट यतापट्टिको ग्राभेल बाटामा धुलो उडाउँदै बुर्तिबाङतर्फ गइरहेको थियो । माथिल्लो बाटो मर्मत गर्नका लागि बन्द गरिएकाले सबै सवारी साधन यै तल्लो बाटाबाट चलेका रहेछन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमथलो यो रिडी धाम । रिडीको बजार गुल्मीपट्टि पर्छ । हामी उभिएको ढुङ्गे बगर पनि गुल्मी जिल्लामै पर्छ । हृषिकेश मन्दिर रिडीको मुख्य आकर्षण हो र यो पाल्पापट्टिको डिलमा छ । उता कालीगण्डकीपारिको भागचाहिँ स्याङ्जा जिल्ला हो । सुक्खा याममा स्याङ्जापट्टिबाट मानिस आउजाउ गर्न नदीमा फड्के राखिएको छ । रिडीखोलो सानो छ हिउँदमा । मानिस पानीबाट हिँडेर पनि सजिलै तर्छन् तर भाटे पुलमा मानिस र मोटरसाइकल तर्छन्, मोटरचाहिँ खोलैबाट पार गर्छन् ।
‘यस पोतेको कथा छ भन्नुहुँदै थियो बहिनीले…..।’
‘दाइ ! यो फेसबुक भन्ने पनि अचम्मको चीज रहेछ । सबैजना यसैमा झुन्डिएका देख्छु । रात, दिन, साँझ, बिहान, जतिखेरै फेसबुकमा झुन्डिँदा यस्ता दिन पनि आउँदा रहेछन् । गर्नु गर्यो यस फेसबुकले ….। मानिसको जिन्दगी, के भन्न सकिँदो रहेछ र खै ?’ उनले यति भनिसकेपछि खुइय गर्दै सुस्केरा काढिन् ।
उनी फेरि बोल्न थालिन्– ‘दाइले वीरेन्द्र साहुको नाम सुन्नुभएकै होला । पाल्पाका साहु बेखामानकी कान्छीपट्टिको छोरो त हो, जसले पनि उनलाई चिन्छ ।
‘म त टाढाको मानिस हुँ बैनी, यतापट्टिका मानिसलाई चिन्दिनँ ।’ मैले आफ्नो अज्ञानता पोखेँ ।
‘पाल्पाका साहु बेखामानको नाम त सुन्नुभएको थियो होला नि ¤ उनलाई नचिन्ने त को होला र ? बिचरा बूढा मानिस पोहोर क्यान्सरले पीडित भएर बितिहाले । उनी यता आउँदा हामीकहाँ पनि आउने गर्थे । मेरा ससुरा पाल्पामा छँदा उनका मिल्ने साथी थिए रे ….।’
मैले बेखामानलाई चिन्ने कुरै थिएन, तर पनि चुप लागेँ ।
उनले भनिन्– ‘हो, तिनै बेखामान साहुका कान्छा छोरा वीरेन्द्र साहुकी छोरी त हो त्यो केटी । नाम कुमुदिनी हो त्यसको । यहाँ पढुन्जेल यो केटी मेरी ठूली छोरीकी खुब मिल्ने साथी थिई । तर पाल्पाको खै कुन हो बोर्डिङ स्कुलमा पढ्न थालेपछि भने हामीकहाँ आउन छाडेकी थिई । महिनामा केही दिन मात्र घर आउँथी । तर जिन्दगी पनि कसको कस्तो, कसको कस्तो….। के भन्न सकिँदो रहेछ र खै ?’’
उनी फेरि रोकिइन् । यिनलाई पोतेको कथा भन्न पटक्क मन थिएन ।
‘अनि बैनी फेसबुकको कुरा गर्दै हुनुहुन्थ्यो । मैले त यस पोतेको कुरो सोधेको….।’ मैले प्रसङ्ग जोड्न खोजेँ ।
भर्खरै रिडीखोलो तरेकाले उनका चप्पल चिसै थिए । रातो सारी, रातै चोलो र पहेँलो पोते । सिउँदामा एक धर्काे सिँदुर । लगभग तीस–पैँतीसकी हुनुपर्छ । गरिबी र दुःखको चित्र कपडामा धेरै देखिँदैनथ्यो तर उनको जीउडाल र अनुहारबाट गरिबीको दुश्चक्रको पीडा कताकति चुहिइरहेकै थियो । होटल व्यवसायी भए पनि उनले केही बाख्रापाठा पालेकी थिइन् र माथि जङ्गलमा पुगेर दिनहुँ घाँसदाउरा नल्याई जिन्दगी चल्दैनथ्यो । अगि खाना खाँदै मैले थाहा पाएको थिएँ यिनीहरूको दैनिकीका बारेमा ।
रिडीबजार चल्तीको छ तर यिनको होटल बेचल्तीको कुनामा छ । हृषिकेश मन्दिरको सिँढीको पुछारदेखि दुईतीनओटा होटलबाट पश्चिमपट्टि उनको होटल छ ः ‘मरासिनी होटल ।’
पहाडी हावापानीको रापताप नभेटेकी जस्ती थिइन् यिनी । गालामा पहाडी महिलाको लालिमा त थिएन नै, शरीरमा पनि पहाडी फुर्ती र जोस देखिएन ।
‘अभागिनी बिचरी…¤’ तिनले फेरि सुस्केरा काढिन् ।
‘हाम्रो जमानामा फेसबुक थिएन । मान्छे यसरी मोबाइलमा झुन्डिँदैनथे । फेसबुकमा झुन्डिँदैनथे । यो फेसबुक भन्ने चीज पनि अचम्मकै हुँदो रहेछ । कसले बनायो होला यस्तो ? बिचरी ¤ मानिसको जिन्दगी, के भन्न सकिँदो रहेछ र खै ?’ तिनको अनुहार अमिलिँदै आयो ।
‘किन र बैनी ?’ मैले भनेँ । मलाई लाग्थ्यो यो जमाना हाम्रै हो । तर यिनी मभन्दा कम्तीमा पन्ध्र वर्षले कान्छी थिइन् र आफ्नो जमाना गइसकेको ठान्थिन् ।
‘त्यो बेखामानकी नातिनीको कथा नि दाइ …। उसबेला हजुरबाको त्यो चकचकी, आज नातिनीको यो गति । मानिसको जिन्दगी, के भन्न सकिँदो रहेछ र खै ?’ उनको विरक्ति प्रकट भयो ।
उता बगरमा झोलुङ्गे पुलको पक्की पिलर बनाउनेहरू आफ्नो काममा व्यस्त थिए । पाल्पा, स्याङ्जा र गुल्मी तीन जिल्ला जोड्नका लागि तीनतिरबाट यस पिलरसम्म पुल ल्याई जोड्ने योजना रहेछ । मैले काम गर्दै गरेका मजदुरहरूको एक पोज फोटो लिइहालेँ ।
‘अनि ?’
‘त्यै केटीको पोते हो यो । अगि बिहान त हो सतगति गरेको । दिनहुँ निकैवटा लास जल्छन् यहाँ, कसको मलामी गएर साध्य र ? तर आज हामी यहाँ सबैजना मलामी भएर आयौँ । बिचरी कुमुदिनी ¤’ उनले फेरि सुस्केरा हालिन् ।
अनि उनी फेरि बोल्न थालिन्– ‘दस क्लासमा पढ्दै थिई । यसै त नेवार्नी राम्रा, त्यसमाथि वीरेन्द्र साहुकी छोरी । कुमुदिनी अचम्मै सुन्दरी थिई । गोरी, सलक्क परेकी, अग्ली, खाइलाग्दो जीउज्यान । लामो कालो लर्के कपाल । तर मति बिग्रेपछि, मानिसको जिन्दगी, के भन्न सकिँदो रहेछ र खै ?’
यी नारी कुमुदिनीको नाम लिनासाथ खुइय मात्र गरिरहन्थिन् । यिनका कुराले दिक्क लगायो र वरपर हेर्न थालेँ म ।
अलिक मास्तिर श्राद्धतर्पण गर्न आएका श्रद्धालुहरू भुइँमा टक््रयाकटुक्रुक बसेका थिए । कोही खोलामा डुबुल्की मारेर नुहाइरहेका थिए । नाङ्गामुडुला पुरुषहरू सरादकर्ममा लागेका थिए । तीनचारओटा गाई केही खान पाइन्छ कि भन्दै मानिसका छेउछेउ आउँथे । गाईबस्तु फागुनको यस सुक्खा समयमा चर्ने ठाउँ पाउँदैनन् । जता पनि सुक्खा र धुलोमात्र छ । के खाऊन् त बिचरा ?
उता पश्चिमपट्टि रुरुकन्याको मूर्ति टल्ल टल्कन्थ्यो । ऋषिको बडेमानको मूर्ति ध्यानमग्न आसनमा अररिएर बसिरहेको थियो । फागुनको महिना हुनाले जङ्गलका रूखका पात सुकेर राता देखिन्थे । तैपनि जङ्गल हरियै थियो । परपर पहिरो गएका भीरहरूमा भने फुस्रो सेतो टल्कन्थ्यो । वर्षभरिको सबैभन्दा सुक्खा समय हो यहाँको फागुन–चैत । रिडीखोलो सुकेर त्यसको बगर अस्वाभाविक ढङ्गले चौडा लाग्थ्यो भने कालीगण्डकी पनि सुकेकाले हिँडेरै तरिएला जस्तो देखिन्थ्यो ।
ती बहिनी सराद गर्न आउने मानिसलाई केही सामान पुर्याउन बगरमा आएकी रहिछन् । अघि नुहाउँदा लगाएका कपडा ढुङ्गामाथि सुकाएको थिएँ, तिनै कपडा लिन आएको थिएँ मचाहिँ त्यहाँ ।
मैले फेरि कुरा कोट्याएँ– ‘यस रातो पोतेको कथा भन्न पटक्क चाहनुभएन बहिनीले …. ।’
‘यस्तो कथा कसैले भन्नु नपरोस्, कसैले सुन्नु–सुनाउनु नपरोस् यस्तो पोतेको कथा ।’
‘त्यो त हो …।’ मैले निराश अनुहार बनाएर उनलाई समर्थन गरेँ ।
‘दुःखको कथा कसले भन्न चाहन्छ र दाइ ¤ त्यसमाथि बेखामानकी नातिनीको कथा । तर तपाईँ त्यति टाढाको मानिस, म सुनाउँछु ।’
‘हजुर ।’ मैले फेरि समर्थन जनाएँ ।
‘बेखामान उस जमानाका नामुद कपडा व्यापारी । रिडी, तमघास, खस्यौली, बट्यौली, पुतलीखेत, बलेटक्सार, हार्थाेक, खिदिम आदि सबैतिर उनको दोकानबाट थोक माल जान्थ्यो । तीनचार भाइ छोराले अझै कपडाको कारोबार छाडेका छैनन् । उनकै कान्छीपट्टिका कान्छा छोरा त हुन् वीरेन्द्र साहु । यिनीचाहिँ कपडाको व्यापार छाडेर हार्डवेयरमा लागेका हुन् ।
‘रिडीको सबैभन्दा ठूलो हार्डवेयर पसल यिनकै हो । तमघास, बलेटक्सार र बुर्तिबाङमा पनि यिनका हार्डवेयर पसल छन् । गुल्मीको सबैभन्दा ठूलो कर्कटपाता र फलामे रडको भण्डार तम्घास बजारमा छ, त्यो यिनकै हो ।
‘कसरी भयो यस्तो ?’ उनले कथा भन्न मन नगरे पनि म केही न केही नफुत्काई नछाड्ने भएको थिएँ ।
‘हजुर, म भन्दै छु । दुई दिदीबहिनी छन् । एउटा भाइ छ । राम्रा लुगा लगाउनुपर्ने, मेला र उत्सवमा डुल्नुपर्ने, महँगा मोबाइल र ट्याब बोक्नुपर्ने अनि रमाइलो गर्नुपर्ने यिनलाई । मेरै छोरीकी साथी हुन् । एकदुईपल्ट हाम्रो घरमा पनि आइन् । हामी गरिब, उनीहरू धनी । धनले नमिले पनि साथी भनेको साथी हुँदो रहेछ दाइ ।’
‘महँगा फोन र ट्याब्लेटले यिनलाई बराले । पढाइ बिग्रियो ।’ मैले थपेँ ।
‘त्यतिमात्र कहाँ हो र ? फेसबुक चलाउँथिन् रे । अनि अचानक हराइन्, दसमा पढ्दै थिइन् भर्खर । बिचरी । दशाले कुत्कुत्याएपछि केके हुन्छ केके । मानिसको जिन्दगी, के भन्न सकिँदो रहेछ र खै ?
‘अँ, त्यै पवनेसँग फेसबुकमा लागिछन् । रिडी पुलको यतापट्टिको होटल छ नि, त्यै होटलको मालिक दुर्गानाथ पराजुलीको छोरो त हो पवने । नेवारकी छोरी बाउन केटासँग सल्की भनेर बाबुचाहिँले छुटाउन लाख कोसिस गरे । दुर्गानाथ पनि यो सम्बन्ध त कहाँ चाहन्थे र ¤ दुवैका बाबुआमा मिलेर धेरै सम्झाएबुझाए, केटाकेटीले माने पो ¤’
‘अनि के भो नि ?’ मैले थप जान्न चाहेँ ।
कुमुदिनीको पोते मेरा अगाडि बगरमा अलपत्र पडिरहेको थियो । अब त्यो उनलाई कहिल्यै काम नलाग्ने भइसकेको थियो । यतिबेला त्यो अभागिनी के गर्दै होली, मैले कल्पना गरिहेरेँ ।
‘अनि ती भागे । सँगै बस्न थाले, पोखरातिर । बाबुआमाको के लाग्छ र केटाकेटीले गति छाडे भने ? उतै कपडा पसल खोलेछन् । घरभाडा तिर्न पनि नपुग्ने कमाइ भएपछि त्यो छाडेछन् । अनि अर्गलीमा आएर हार्डवेयर पसल खोलेको थियो पवनेले …।
‘ठिकै थियो । चलेकै थियो जिन्दगी तिनको । हिजो दिउँसो हार्थाेकबाट यता घर फर्कँदै रहेछ । अर्गली फाँटको पूर्वी छेउमा एकदम घुम्ती छ बाटो । ख्याल गर्नुभएकै होला । त्यै घुम्तीको घटना त हो ।
‘दुई बजेको हुँदो हो, यताबाट ट्रक जाँदै रहेछ । उताबाट ऊ पल्सर मोटरसाइकल हुइँक्याउँदै आउँदै रहेछ । देख्न त परैदेखि देख्यो होला नै, मोड खुला छ । मोडमा मोटरसाइकल घुमाउँदा सन्तुलन गुम्यो होला, ल्याएर ट्रकमा जुधाएछ । ऊ त ठाउँको ठाउँ नि हजुर, ठाउँको ठाउँ । के भन्ने अब ?
‘ट्रक सडकको सबभन्दा पल्लो छेउमा देखिन्थ्यो रे । मोटरसाइकलकै गल्ती देखिन्छ भन्थे । गल्ती कसको भन्ने कुराको के अर्थ र अब ¤ बिचरा गइ नै सक्यो, हैन र ?’
उनले मतिर आफ्नो भनाइमा समर्थनका लागि आँखा झिम्म नपारी हेरिरहिन् । मैले चुपचाप सुनिरहेँ । अर्गलीको मोडको त्यस दुर्घटनाका बारेमा म चढेको बसका यात्रुहरूले कुरा गरेको र दुर्घटनास्थललाई औँल्याएको मलाई याद आयो ।
अनि फेरि भन्न थालिन् उनी– ‘कहीँ लग्नुपरेन, सोझै पोस्टमार्टम गर्न लगे । बिहान ४ बजे घर ल्याएछन् । अहिले भर्खर त हो दाहसंस्कार सकिएको । मानिसको जिन्दगी, के भन्न सकिँदो रहेछ र खै ?
‘बिचरी कुमुदिनीको जिन्दगी सम्झन्छु । कहालि लागेर आउँछ । अब के गर्छे होली बिचरीले ¤ अठार लागेकी छे भर्खर । दुई महिनाको छोरो छ । अर्गलीमा पसल छ, रिडीमा सासूससुरा र घर । अब के गर्छे होली बिचरीले ?’ उनले कुमुदिनीको कथा टुङ्ग्याइन् ।
फेसबुकबाट सुरु भएको प्रेमले उसलाई कुत्कुत्याएको थियो र कानुनले समेत निषेध गरेको उमेरमा बिहे गर्न पुगेकी थिई ऊ । त्यही बिहेले दिएको अस्थायी सुख यति चाँडै सकिएको थियो ।
‘अब के गर्छे होली बिचरीले ?’ उनले फेरि सुस्केरा हालेर भनिन् ।
म उसको दुःखान्त कथा सुनेर घाइते भएको थिएँ । मैले नजिकैबाट एउटा झिक्रो खोजेर ल्याएँ । त्यस झिक्राको मद्दतले त्यस रातो पोतेलाई कालीगण्डकीको नीलो पानीमा हुत्याइदिएँ । कुमुदिनीको त्यो पोते हेरेर अरू कसैले पुनःपुनः घाइते भइरहनु नपरोस् भनेर मैले त्यसो गरेको थिएँ ।
कुमुदिनीको दुःख पनि त्यसैगरी हुत्याइदिन सके पो हुन्थ्यो । मानिसको जिन्दगी, के भन्न सकिँदो रहेछ र खै ? म उदास अनुहार लगाएर उनीबाट बिदा मागेर आफ्नो गह्रौँ झोला बोक्तै उकालो लागेँ ।

प्रतिक्रिया

सम्बन्धित