काठमाडौंमा एउटा घर ! संस्मरण

काठमाण्डौंमा घर बनाउनलाई जग खन्दै गर्दा थुप्रै कुराहरू आँखामा झल्झल्ति आए । जागीर खान कार्यालयको ढोका-ढोका चहारेको सम्झें ।खालि गोजी सम्झें । संघर्ष सम्झें । भोक सम्झें । धोका सम्झें   । बेवास्ता सम्झें । अभाव सम्झें। आमाबाबुलाई सम्झें ।काठमाडौंमा धूलो खाँदै हिंडेको सम्झें । सोच्थें यो घरहरूको लहरमा मेरो पनि घर भइदिए ।

हुन त मभन्दा धेरै अघि साथीहरूले काठमाडौंमा घर बनाइसकेका छन् । डाहा लाग्दो प्रगति गरेका छन् । कतिले बाआमाको सम्पत्तिमा थपथाप गरेर घर बनाए। कतिले जग्गा किनेर घर बनाउने सोंचमा छन् भने कति अझै काठमाडौंको धूलो खाँदै सपना बोकेर हिंडिरहेका छन् ।काठमाडौंमा घरै बनाउनु ठूलो उपलब्धी भने होईन । जीवनमा गरिबीले हदैसम्मको दु:ख दियो ।गरियो ।त्यस अर्थमा काठमाडौंमा घर बनाउन सक्नुले मेरो जीवनमा थोरै भएपनि महत्व राखेको छ ।

जग खन्दै गर्दा स्कूल पढ्दाताका थुप्रै दु:खहरू सम्झें । त्यो बेला भर्ना शुल्क तिर्न पनि कठीन थियो । सापट पाउँन उस्तै गाह्रो । खासमा  फिर्ता दिंदैन भनेर सोच्थे | दिए ढिलो दिन्छ भन्थे । कैले भोकभोकै स्कूल कुदियो । पढेर जानेर आएका कुराहरू भोकै बस्नु पर्दा सबै बिर्सिन्दो रहेछ । जब आफूले आफूलाई चिने त्यस बखत अभाव थिएन । त्यहि भएर जीवनमा आर्थिक संकट झेले पनि गरिब हुँ भनेर मनमा कैले परेन ।

कलेज पढ्दा पनि आर्थिक संकटले छाडेन । अधिकांश ईच्छाहरु मनैभित्र दबिए। थुप्रै साथीभाईहरू भए । बनाईए । वैंशको लहलहैमा एउटा केटीलाई मन पराएँ । आखिर गरिबको पनि त मनै हो। सायद उनले पनि मन पराउदिहुन् । अपरिपक्क अवस्थाको प्रेम। चरम अभाबबीचको प्रेमले न आकार दिन सक्थ्यो न किनार लाउन नै । फगत्  एउटा रमाइलो अनुभूती बाहेक। धोका, कहीँ न कहीँबाट कुनै न कुनै बहानामा आउँथ्यो नै । अन्तत्: गरिबको प्रेम अक्सर धोकामै टुङ्गिने त हो । धोका खाने अाँटसम्म गरिएन । प्रेम मनैमन रह्यो।

जग खन्दै गर्दा बा-आमालाई सम्झें । वहाँहरूले दिएको अमूल्य समय सम्झें । दु:ख गरेर हुर्काएको सम्झें । अभावले खग्रास बनाएपछि कविता र फेसबुकमा लेखेजस्तो सुमधुर पारिवारिक सम्बन्ध भने नहुँदो रहेछ । बा-आमाले कामबाहेक तलाईं मिस गरेको छु, खाना खाइस्-खाइनस् जस्ता कुराहरू फोन गरेर कहिल्यै सोध्नु भएन । न मैले नै सोधें । न कसैको जन्मदिन केक काटेरै उल्लास साथ मनाइयो । गरिबीले मान्छेलाई कठोर बनाउदो रहेछ । तर परिवारमा अाइपरेको जिम्मेवारी र कर्तब्यबाट पछि भने हटेनौं ।

जीवनमा सबैको आधारभूत चाहनाहरू हुन्छन् ।एउटा घर, परिवार अनि एउटा गाडी। त्यसका निम्ति मानिस कठीन कार्य गर्न पनि अभिप्रेरित हुन्छ । आफ्नो प्राणभन्दा प्यारो परिवार र देश छाडि परदेशसमेत लाग्छन् । राम्रो कमाई भए काठमाडौंमै घर बनाउने सोंच राख्छन् | दु:खबिराम पर्दा, राम्रो स्कूल र अवसरको लागि भएपनि शहर पहिलो रोजाईमा पर्छ ।वास्तवमा काठमाडौं सपनाको नगरी हो । यहाँ सपनामा थुप्रै मान्छेहरू बाँचेका छन्। कतिको सपना पूरा हुन्छ भने कतिको सपना सपनामै सिमित रहन्छ ।

काठमाडौंमा काम पाउँन एकदम गाह्रो छ । कि त आफ्नो मान्छे हुनु पर्‍यो, कि त अनुभवी वा एकदम ट्यालेन्ट हुनुपर्‍यो । सामान्य मानिसलाई काम पाउँन थुप्रै पापड बेल्नु पर्ने हुन्छ । कामको अनुभव छ भने खालि हात बस्नु पर्दैन । काम आँफै पछि लाग्छ । जागीर मिलाई दिन्छु भनेर आस्वाशन दिने मान्छेहरूको पनि कमी छैन ।तर खालि आस्वाशनमात्रै।काठमाडौंमा रोजगारदाता र बेरोजगारबीच ठूलो ग्याप छ । रोजगारदाताले अनुभवी कर्मचारी पाउन सकेको छैन भने अनुभव नभएका बेरोजगारहरूले काम नपाएको अवस्था छ । रोजगारदाताले सिकाएर काममा लाउने जोखिम मोल्न नचाहेकोले पनि धेरै बेरोजगार बन्नु परेको अवस्था छ ।

जीवनमा अनेकौं चुनौती आउने गर्छन्। कैलेकाहीं त यो जगत् गरिबहरूको लागि रैनछ भन्ने समेत अनुभूती गराउँछ। सानोतिनो कुरामा हार मानेको भए न पढाई सिद्ध्याउन सकिन्थ्यो न घर बनाउन नै। केही गर्नका लागि मनमा द्रिढ इच्छाशक्ति र आत्मबल दह्रो बनाउनु पर्ने रहेछ। काठमाडौंले केहि दिए-नदिए पनि धेरै कुराको अनुभव भने अवश्य दिलाउँछ। पहिलो कुरा त मान्छे बनाउँन सिकाउँछ। खारिन सिकाउँछ। समयको महत्व। कसरी बाँच्ने बचाउने। जाली-फटाहरूसँग कसरी जोगिने लगायत थुप्रै कुरा सिकाउँछ। यदी गाउँमै बसेको भए यति धेरै पक्कै सिक्न सकिंदैन थियो होला। भनिन्छ यदि जीवनमा धेरै कुरा सिक्नु छ भने केही समयको लागि भए पनि थातथलो छोड्नु पर्छ |

एकदिन जग्गा खोज्दै जाँदा दलालले भनेका थिए, ‘पचत्तरै जिल्लाको मान्छेलाई काठमाडौंमै घर चाहिने। अलिअलि कमायो कि काठमाडौं मै घर बनाउनु पर्छ। जग्गाको भाऊ तेसै बढेको होईन नि सर। ‘ उनले आफ्नो कुरा अझ माथि पार्दै भने, ‘जग्गाको भाऊ त घट्दैन सर अब। मैले तपाईंलाई बेच्दा खासै फाईदा पनि छैन। अहिले तपाईंलाई चालीस लाखमा जग्गा बेचें भने त्यै जग्गा आफूले किन्न परे चालीस लाखमा आउँदैन। अनि खै त फाईदा ?’ दलालले आफ्नो जग्गाको भाऊ कस्दै थोरै गफ दिन समेत भ्याएका थिए।

काठमाडौंले धेरै कुरा सिकायो। ती हरेक पीडा र संघर्षलाई सम्झन चाहन्छु। दु:ख-सुखका अनुभवहरूले अझै पनि धैर्य भई उचित निर्णय गर्न सघाउँछ। विवशतामा केही मान्छेहरूले मान्छेजस्तो नै ब्यवहार गरेनन्। कसैले कुखुरा, सुङ्गुर या राँगा काटेर खाए पाप गरे जस्तो लाग्दैन। आफ्नो दशा कटाउन बोकालाई बलि चढाए त्यो पाप हो जस्तो लाग्दैन। ती जनावर मासुकै लागि उत्पादन गरिएका हुन्छन्। एउटा वर्ग, समुदाय वा देशका मान्न्छेले नकाटे पनि अर्कोले काट्छ नै। तर एउटा मान्छेले अर्को मान्छेलाई मान्छेजस्तो ब्यवहार नगरिनु त्यसलाई पाप ठान्छु। एउटा चेतनशिल प्राणीले अर्को चेतनशिल प्राणीलाई आमानवीय कार्य गर्छ भने हो त्यो चैं पाप गरे जस्तो लाग्छ। र त आफ्नो काम गर्दा अरू कोही पीडित नहोस् भनेर सचेत हुने गर्छु।

रोजगारको शिलशिलामा बिदेशिएँ। बिदेशिनु पक्कै राम्रो होईन। न रहर नै। देखे र सुने जस्तो बिदेशमा धन कमाउन सजिलो कहाँ हुँदोरछ र। मात्रिभूमि र परिवारको यादले हरपल सताउने। देशको माया र महत्वको साँचो अर्थ बिदेश गएपछि अझ थाहा पाइँदो रहेछ। बिदेशमा खटिने समयले देशमै खटिन सके केही गर्न सकिन्थ्यो होला। तर उही लगानि गर्ने रकम नभएर न हो। देशमै लगानि गर्छु भन्दा सापट पाउँनै मुस्किल तर बिदेश जानलाई भने तुरुन्त पाईन्छ। गरिब हुनु भाग्यलाई दोष दिन्थें। बिदेश र बिदेशिलाई बुझ्दै गर्दा गरिब हुनु, अशिछित हुनु र बेरोजगार हुनु भाग्य मात्र दोषी हैन सरकार पनि दोषी रै’छ भनेर बुझें।

काठमाडौंमा जग खन्दै गर्दा ती डटेर संघर्ष गर्ने साथीहरूलाई सम्झें। कठीन मोडहरूमा पनि पढाईलाई अघि बढाएको सम्झें। अभाव र पीडाहरू बीच हार नखाएको सम्झें। अहिले उनीहरूले सफलता चुमेको सम्झें। सधैंभरि मान्छेलाई एकै नजरले हेरिनु हुन्न भन्ने बुझें। जीवन एकैनास कहाँ हुँदोरछ र। जग खन्दै गर्दा मान्छे सधैंभरि गरिब हुँदैन भनेर सम्झें।

प्रतिक्रिया

सम्बन्धित