एकल कविता वाचनमा नरेश काङमाङ

फागुन १३ / सुनसरी । युद्धकविको पहिचान बनाएका नरेश काङमाङ राईले शुक्रबार सुनसरीको भरौलमा युद्धकविता बाचन गरेर स्थानियको मन जिते ।
……..उनको आँखावाट
बगीरहेको आँशुको नदी पुछिदिँदै
म भाकभुक भएर झोला टिप्छु
उनी भक्कानिँदै दुईहातले
बेस्सरी मेरो कम्मर कस्छे
निकै बाँकी छ उज्यालो हुन
मस्त निदाइरहेको छ छोरो
बत्तीमा झुम्मिइरहेका छन् किराहरु
कोही घाइते भएर खुट्टा तन्काउँदैछन् ………..।
उक्त कवितांश समेटिएको ‘आँशु जस्तै छ युद्ध’ शीर्षक कविता सहित उनले जम्मा १५ वटा युद्धसम्बन्धि र एउटा समसामयिक कविता बाचन गरे । अवकाशप्राप्त ब्रिटिश गोरखा सैनिक नरेश सैनिक जीवनदेखि नै युद्धकविता लेखनमा लागिपरेकाहुन् । नेपाली कविताका पाठकहरुका लागि नयाँ विषयका रुपमा आएको युद्धकविता भरौलवासीले नयाँ विषयकै रुपमा लिए । सबै कवितामा बेलायतको युद्धनिति अनुसार खटिएको, बाँच्नका लागि संघर्ष गरेको, आफ्नो देशको माया हुँदाहुँदै अर्कै देशका लागि लड्नुपरेको जस्ता भावनात्मक सम्प्रेषणले स्रोताहरुले युद्धमैदानमै पुगेको अनुभूति गरे ।
कविताका विचमा रचनागर्भ सहित गोरखाली सेना भर्तिका विविध पक्षहरु समेत प्रकाश पार्दै कवि नरेशले कविताको भावभूमिलाई सहज बनाएका थिए । गोरखाली सेनाको मुद्धा पछिल्लो अवस्थामा चरम भेदभाव र पहिचानको मुद्धासँग जोडिएकोले बहालवाला र अवकाशप्राप्त गोरखाली सेना पहिचानको आन्दोलनमा रहेको उनको भनाई थियो । कवितामार्फत गोरखाली सेनाप्रतिको भेदभाव र अधिकारको आवाज बुलन्द गर्दै आफु पहिचान प्राप्तीकै आन्दोलनमा रहेको उनको जिकिर थियो ।


स्वर्णिम साहित्यि समाज भरौलले आयोजना गरेको एकल कविता बाचनमा नरेशलाई कविहरु नदी राई, तारा पराजुली र इन्द्रसुर बेल्टारेले सघाएका थिए । बेलायती सेनामा रहँदा युद्ध लडेर अवकाश पाएका रणहाङ एभेङले आयो गोरखाली भन्ने उद्घोष गरी कार्यक्रम उद्घाटन गरिएको थियो ।
प्राज्ञ उपेन्द्र पागलले नरेशका कविताले निश्चित विषयवस्तुलाई जिम्मेवारीपुर्वक बोकेकाले शक्तिशाली भएको बताए । नयाँ विषय वा शैलीका साथ आएकाले युद्धकविता सम्बन्धि पहिला पाठकहरुलाई अभिमुखीकरणको आवश्यकता भएको उनले बताए ।
प्रमुख अतिथी एभेङले भुपु गोरखाहरुको मुद्धा राष्टियतासँग जोडिएकोले मुलुक हाँक्ने निकाय गम्भिर हुनुपर्ने बताए । नरेशका कविताहरुमा भुपुहरुको योगदान र मुद्धालाई राष्टवादसँग जोड्न खोजेकाले मुलुकको साझा आवाज भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित