छाउपडी प्रथा , अन्धविश्वास र सामाजिक समस्या 

प्राचीनकालदेखि नै चलिआएको सुदुरपश्चिम र मध्यपश्चिमका पहाडी भेगहरुमा अझै पनि ज्वलन्त रहेको प्राय: हिन्दु धर्मका धेरै समुदायहरूमा छाउपडी प्रथा मान्ने गरिन्छ तर तिनका सीमाहरूमा भने ब्यापक विभिन्नता पाइन्छ । रजश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्धविश्वास रहदै आएको छ । धार्मिक भाषामा महिनावारीलाई मासिक धर्म भनिन्छ । सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा र मध्यपश्चिमका कर्णाली अञ्चल लगायत मुलुकका दुई दर्जन भन्दा बढि ग्रामीण जिल्लाहरुमा यो प्रथा कायमै छ ।
 महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहिपर बनाइएको झुपडीमा बस्न लगाइन्छ । यस्तो गोठलाई ’छाउपडी कुडी’ भनिन्छ ।छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो । सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नुपर्ने हुन्छ ।छाउपडी बस्ने महिलाले दही, दूध खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वास रहेको छ । सुत्केरी तथा रजश्वला भएकी नारीलाई झन सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाई आराम गराउनु पर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी, बुहारी समेत रजस्वला हुँदा घरका गाई, भैँसीको दूध खाँदैनन् । यस्तो बेलामा घरमा पालेको गाई, भैँसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास छ ।
परम्परागत जनविश्वासका कारण यस्ता महिलालाई छोएको खण्डमा वा कुनै लसपस भएमा अशुद्ध  हुने भएकाले छोए पनि सुनपानीको छिटो हाल्ने, गहुँत खुवाउने, घरका कुलदेवता चोख्याउने जस्ता चलन छ । प्राचीनकालदेखि चलिआएको परम्परालाई लत्याएर महिलाहरू महिनावारी तथा सुत्केरी भएको अवस्थामा छुईछाई गरेमा, घरका कुलदेवता रिसाउने र परिवारमा हानी नोक्सानी पुग्ने, शरीर सुक्दै जाने, अन्नबाली नफल्ने अन्धविश्वास छ । छाउपडी प्रथाका कारण विभिन्न विकृतिहरू देखापर्ने गरेका छन् । जस्तो कि छाउपडी बसेका बेला बलात्कार हुने, सर्पले टोकेर मर्ने लगायतका घटनाहरू विभिन्न सञ्चार माध्यमबाट सुन्नमा आउँछन् । कतिपय महिला छाउपडीमा बसेका बेला चिसोले कठ्यारिएर  र कतिपय बढी रक्तस्राव भएर पनि मर्ने गरेका छन् । गर्मीमा लामखुट्टे,सर्प, बिच्छी जस्ता विषालु किराहरुको डर हुन्छ भने जाडो याममा न्यानो लुगाको अभावमा विभिन्न स्वास्थ्य समस्याहरु आई पर्छन् ।
स्कूल पढदै गरेका साना नानीहरुमा रजश्वला हुँदा गरिने भेदभावपुर्ण व्यवहारले उनीहरुको मस्तिष्कमा नराम्रो असर पुग्ने गर्दछ । कतिपय बालिकाहरु त त्यस्तो अवस्थामा विद्यालय जानबाट समेत वञ्चित हुने गरेका छन् ।रजश्वला हुँदा महिलाले आफ्नो स्वास्थ्य प्रति अझ बढी जागरुक हुनु जरुरी छ । सरसफाईमा ध्यान पुर्यानुका साथै दैनिक आहारमा समेत पोषिलो खाने कुराको मात्रा बढाउनु पर्छ ।छाउपडी प्रथा जस्ता कुरीतिका विरुद्घ जनचेतना फैलाउने र छाउपडी गोठ भत्काउने अभियान समेत नथालिएका होइनन् तर ति त्यति प्रभावकारी हुन सकेका छैनन् ।
छाउपडी बार्न त्यहाँको धर्म र सस्कृति हो, सस्कृतिको आडमा महिलाहरूमाथि गरीने यस्ता अमानविय व्यवहारहरू मानव अधिकारका विरुद्धमा छन । सुत्केरी होस वा महिनावारी महिलाका प्रजनन अंगबाट रातो पदार्थ निस्के पछि उनी अछुत हुन्छिन ।
कस्तो बिडम्बना बच्चा गर्भमा हुन्जेल छुत हुने महिला बच्चा जन्मेपछि अछुत हुन्छिन् । सुत्केरी अवस्थामा लामो समय सम्म रज्वश्वला भइरहने हुनाले सुत्केरी हुँदा महिलाले २०/२२ दिन सम्म जाडो वा गर्मी होस छाउँ गोठमा,  घरपरिवारबाट अलग भएर बस्नु पर्दछ र यस्तो नाजुक अवस्थामा उनले बच्चा र आफ्नो स्याहार आफैंले गर्नुपर्दछ । यतिमात्र नभइ सुत्केरी अवस्थामा उनलाई दहि, दुध जस्ता तागत लाग्ने खानेकुराहरू समेत छुन र खान दिइदैन, पर्याप्त लता कपडा र अोछ्याउने सरसामान समेत दिइदैन । धारा, खोला तथा दहहरूका पानी छुन दिइदैन । उनले कसैलाई छुन समेत हुँदैन । महिनावारी पनि यसै गरि बारिन्छ तर यो भने पाँच दिन मात्र बारिन्छ ।
यसरी महिनावारी तथा सुत्केरी हुँदा शारीरिक रुपले कमजोर भएका अवस्थामा उनीहरूले उचित हेरविचार र पौष्टिक खानपान पाउनुको साटो उल्टो तिरस्कार, शारीरिक पिडा र लामो समय सम्म घरबाट टाढा एक्लै बस्नुपर्दा यस प्रथाले उक्त क्षेत्रका महिलाहरूका स्वास्थ्य, विचार, मनोवल र अस्तित्व आदिमा समेत ठुलै नकारात्मक प्रभाव पारेको छ । यसै प्रथाका कारण कयौं महिलाहरू जङ्गली जनावरका सिकार हुनुपरेको छ । अचेतना र रोगको सिकार हुनु परेको छ, व्यबिचारीहरूको फन्दामा परि बलात्कृत हुनु परेको छ, शिशु र मात्रृ मृत्युदर बढाएको छ । समग्रमा भन्नुपर्दा छाउपडी प्रथाका कारण महिलाहरूमाथि ठुलो अमानवीय तथा भेदभावयुक्त व्यवहार र उनीहरूको मानवअधिकारको हनन भैरहेको छ । यस अर्थमा छाउपडी प्रथा आजको आधुनिक जमानाको कलङ्क हो । आजको युगमा यस प्रथामा सुधार ल्याउनु तथा बन्देज लगाउनु अति आवश्यक भैसकेको छ ।
आजभोली उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला विकास, महिला शसक्तीकरण आदि जस्ता मुद्धाहरू व्यवहारमा लागु गर्न सर्वप्रथम यस्ता प्रथामा सुधार र बन्देज लगाई यस्ता प्रथाबाट पिडित महिलाहरूको जिवनस्तर र चेतनास्तर उठाउने काम पहिलो प्राथमिकतामा राखिनु पर्दछ र यस विरुद्ध आवाज उठाउन अब कति पनि ढिलो गर्नु हुन्न ।यस्ता कुप्रथाहरूमा सुधार ल्याउन शिक्षा तथा जनचेतना सबभन्दा राम्रो उपाय हो । यसक्रममा समुदायलाई नै दोषी मान्नु र जबरजस्ती उनीहरूमा बाहिरी संस्कृतिको प्रभाव पार्न खोजेर यो गर त्यो नगर भन्नु उचित समाधान होइन । यसको बदला उक्त क्षेत्रका जनताहरूमा शैक्षिकस्तर बढाएर, प्रकृतिको वास्तविकता बुझाएर यस्ता प्रथा र कुरीतिहरूलाई विस्तारै कम गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित