मैनालीको ‘नलेखिएको इतिहास’ सार्वजनिक

काठमाडौँ, २९ माघ । वामपन्थी नेता राधाकृष्ण मैनालीको पाँच दशक लामो राजनीतिक जीवनको अनुभवमा आधारित ‘नलेखिएको इतिहास’ पुस्तक आज सार्वजनिक भयो । विभिन्न राजनीतिक आरोह अवरोहसहित हाल नेकपा (एमाले) मा रहनुभएका नेता मैनालीले झापा विद्रोहदेखि अहिलेसम्मका आफूसँग जोडिएका राजनीतिक घटनाक्रम समेट्नुभएको छ ।

पुस्तकमा जेलमा जीवनका भोगाइ, राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालको सरकारमा मन्त्री हुन पुग्दा महसुस भएको गल्ती, नेकपा (माओवादी केन्द्र)मा प्रवेश र एमालेमा पुनरागमनलगायतका सवाललाई महत्व दिइएको छ । पुस्तकको समीक्षा गर्दै प्रा कृष्ण पोखरेलले विभिन्न नेता र आफूसँग जोडिएका कार्यकर्ताका राम्रा तथा नराम्रा पक्ष उद्घाटन गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो ।

विश्लेषक डा सुरेन्द्र केसीले कम्युनिस्ट नेताहरुले किन पटक पटक गल्ती गर्छन् भन्नेबारेमा पुस्तकले जवाफ दिन नसकेको टिप्पणी गर्नुभयो । लेखक मैनालीले आफूले जे देखेँ र भोगेँ, त्यही लेखेको जनाउँदै आत्मालोचना भइसकेका विषयमा पटक पटक नकोट्याउन आग्रह गर्नुभयो । पुस्तकको वरिष्ठ पत्रकार भैरव रिसाल र लेखक स्वयम्ले लोकार्पण गर्नुभएको हो । पुस्तक पत्रकार माधव बस्नेत र मनबहादुर बस्नेतले सम्पादन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित