महिलालाई सुन्दर पुरुष खोज्ने अधिकार छैन ?

उमेर बढ्दै जादा आफन्त, नातेदार र चिनजानका मान्छेहरुको नियमित प्रश्न होस् विवाह । किन, कसरी के कारणले यी प्रश्न पनि संगै जोडिएर आउँछन् ? उनीहरु नै जानुन संगै सुझाव पनि दिन्छन –“ अव त उमेर भइसक्यो, छोरी मान्छेले ढिला गर्न हुन्न, वैलैमा नगरे उमेर वित्छ ” । नेपालमा कानुनले नै विवाहका लागि उमेरको हद २० बर्ष तोकेको छ । प्रजनन् स्वास्थ्यका दृष्टीकोणले पनि २० कटेपछी महिलालाई विवाहका लागि योग्य मानिन्छ । त्यसैले यी प्रश्नहरुको सामना गर्नु मेरो उमेर समुहका हरेक छोरीका लागी दैनिकी जस्तै भइसकेको छ ।

                                         रोशनी कठेत 

सानोमा विवाहको कुरा कतै सुन्दा रमाइलो लाग्थ्यो । गाँउमा कसैको विवाह हुने सुन्दा चाड नै आए जस्तो लाग्ने । विहेको दिन गन्दै बस्थ्यौ हामी । परिवारका ठुला सदस्य विहे घरमा सघाउन जाने चलन । हामी केटाकेटी पनि ठुला मान्छेको पछि लागेर जान्थ्यौ । विहेको प्रसंग निकाल्दै गाँउका मान्छेले तेरो पनि विवाह हुन्छ भनेर जिस्क्याउँदा लाज संगै चिन्ता पनि हुन्थ्यो । अर्काको घर जानुपर्ने, आफ्नो घर छाडेर अनि सोच्दैमा नजानिदो भय जसले मन खिन्न बनाउथियो । मेरो पीडा वुझेर होला आमाले मेरी छोरी त विहा गर्दिन भन्नुहुन्थियो । अनि वुवाले त झन मेरी छोरी विहे गर्दिन सैलजा आचार्य जस्तै बन्छे भन्नुहुन्थ्यो । सैलजा आचार्य नेपालि प्रजातान्त्रिक आन्दोलनकी एक नेत्री र अविवाहित । ओहो १११म पनि मख्ख, अनि साथीका अगाडी छाती फुलाएर भन्थेँ म सैलजा आचार्य जस्तै बन्छु ।

ममा अथाह सम्भावना देख्ने मेरा वुवा आमालाई लाई आज मेरो विबाहको ठुलो चिन्ता छ । बुवा आमालाई मात्र किन , चिन्ता त म आफँैलाई पनि छ । जीवन विताउने त म आफैँले हो । आम केटी मान्छे मन मिल्ने, आफ्नो रुची र पेसालाई बुझ्ने मान्छे चाहन्छन् र म पनि त्यसबाट अछुतो रहने कुरै भएन । समयक्रम सगै मलाइ पनि विवाहका प्रस्ताबहरु आउन थाले । करिव ४ बर्ष बर्ष अगाडी आफन्तको माद्यमबाट विवाहको प्रस्ताव आयो । एक जना सिविल इन्जिनियर , आफै ब्यवसाय गर्ने, घर पनि नजिकै । म २० पुगेकी थिएँ । वुवाआमाले मेरो विवाहका लागि चासो दिन थालिसक्नुभएको थियो । २ बर्ष अगाडी आफन्तकै माद्यमबाट नेपाल सरकारको अधिकृत तहको जागिर खाने केटाका लागि विवाहको कुरा चल्यो ।

परिवारले मेरा लागि योग्य ठानेका ती दुवै जनाका धेरै पक्ष मन परे पनि एक– दुई कुरामा म सन्तुष्ट हुन सकिन । दुवै जनाको प्रस्तावपछि साता दिन सम्म ती केटासंग विवाह गर्न परिवारबाट दवाव झेल्नुप¥यो । उनिहरु मलाई शारीरिक रुपमा आकर्षक लागेनन् । आम युवतीहरुको चाहना जस्तै म पनि हेन्डसम, हाइटी, स्मार्ट र कमाउने केटा चाहन्थेँ । मलाई मनपराउने कतिपय संग मैले खोजेका यी गुणहरु मध्ये केही न केही अपुग भएर पनि विवाह हुन सकेन । यतीवेला म आर्थिक रुपमा आत्मनिर्भर छु । पत्रकारितामा ब्यस्त छु । परिवारमा आर्थिक बोझ दिएकी छैन । समय वित्दैछ र विवाहको लागि केटा छनौट गर्ने सन्दर्भमा मेरो प्राथमिकता पनि थपिएको छ । अव म मेरो पेसा पनि बुझ्ने मान्छे चाहन्छु ।

कुनैपनि पुरुषले विवाहका लागि केटी खोजी गर्दा सुन्दरतालाई पहिलो प्राथमिकता दिन्छन् । राम्री त्यसपछि पढेकी अनि मात्रै सक्षम । तर महिलालाई सुन्दर पुरुष खोज्ने अधिकार हुँदैन । छोरीलाई हेर्न आउछन तर यो समाजले किन आजपनि छोरीले केटाहेर्नु पर्छ भन्ने मान्यता राख्दैन र आज २१औ शताब्दीमा आईपुग्दा समेत छोरी को चाहना र आवश्यकतालाई महत्व दिईदैन ।

छोराका लागि राम्री वुहारी खोज्ने अभिभावकले आफ्नी छोरीलाई केटा सुन्दर नलागेकै कारण विवाह गर्दिन भन्ने अधिकार दिँदैन । अर्थात छोरीलाई आफ्नो भविष्यको गोरेटो आफै निर्धारण गर्न दिन हिचकिचाउछन् । आजकाल महिला चुलोचौकोमा मात्र सिमित हुन चाहँदैनन् । सानो तिनो आवश्यकता पुरा गर्न पनि अरुको भर पर्नुपर्ने बाध्यताबाट मुक्ती पाउन आफै आत्मनिर्भर बन्न चाहन्छन् । मेरो उद्येश्य पनि यही नै हो । अझै बढदो उपभोक्ताबादी समाजमा समयसापेक्ष चल्न एकजनाको कमाइ अपर्याप्त छ । विवाहपछि पनि दुवैजनाले काम नगरी जीविका चलाउन कठिन छ । त्यसैले दम्पती नै स्वरोजगार बन्न अपरिहार्य छ । पत्रकारिता क्षेत्रमा त धेरै महिला विवाह पछि यो पेसाबाट पलायन भएका छन् । यो पेसामा समयको कुनै सिमितता हुँदैन । विहान राती जस्तोसुकै अवस्थामा पनि काम गर्नपर्ने । अधिकांस महिला विवाहपछि श्रीमान् र परिवारको असहयोग हुँदा पत्रकारिताबाट विस्थापित भएका छन् । म त्यो चाहन्न । आम युवतीले चाहने पनि यही हो आफु र आफ्नो पेसाको जटिलतालाई बुझ्ने सक्ने मान्छे ।

अर्कोतर्फ संसारभरि नै महिला माथि हिँसा छ । यसबाट उन्मुक्ति पाउनका निम्ति पनि सक्षम भएर मात्र बिबाह गर्नु जरुरि हुन्छ । म यो मान्यतामा अडिग रहन र आर्थिक तथा सामाजिक रुपले आत्मा निर्भर भई वैवाहिक जीवन सुरु गर्दा समाजमा केहि योगदान दिन सकिन्छ भन्ने मेरो अटल मान्यतालाइ म मुर्तरुप दिन चाहान्छु । बिबाह हेरेक युबतिको लागि उत्साह बनेर आउनु पर्दछ । आज यो समाजमा युवतीहरु ले विवाहलाई बोझको रुपमा लिने कारण बिबाहका पुर्वहुने निर्णय प्रक्रियामा छोरीको सहभागिता नहुनु हो । यदि यस प्रक्रियालाई युवा युवतीको सहभागिता सुनिश्चित गर्ने हो भने महिला माथि हुने विभिन्न किसिमका दुब्र्यवहार घट्ने मात्र नभइ वैवाहिक सम्वन्ध विश्वस्त, सहज र उत्साहपूर्ण समेत हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित