भावनाथ घिमिरे (स्मृति ग्रन्थ)’ पुस्तकको लोकार्पण

सुन्दरहरैँचा / ’बहु आयामिक व्यक्तित्व भावनाथ घिमिरे (स्मृति ग्रन्थ)’ पुस्तकको लोकार्पण तथा रचना वाचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा हलमा सम्पन्न भएको छ ।
आधुनिक साहित्य परिषदको आयोजनामा कार्यक्रम भएको थियाे। स्मृति ग्रन्थकाे लाेकार्पणमा कार्यक्रमका प्रमुख अतिथि भाषा विज्ञ मुकुन्दशरण उपाध्यायले उदघाटन गरेका थिए। उनले कार्यक्रमलाई सम्बाेधन गर्दै लोकार्पित पुस्तकका लागि लेखक छवि वैरागी घिमिरेले विस्तृत अनुसन्धान गर्दै अथक परिश्रमका पश्चात् पुस्तक तयार पार्नु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

उपाध्यायले सर्जकले सिर्जना गर्नु नै ठूलो कुरा भएको उल्लेख गर्दै मोतीरामले भानुभक्तलाई चिनाए झैँ बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरेलाई यस कृतिले अझै प्रष्टसंग चिनाएकाे उल्लेख गर्दै नेपाली भाषा भनेको अशुद्ध हुनु हुँदैन बोल्दा बोलिने भनेको कथ्य हो र कथ्य सधैँ एकनास हुँदैन तर लेख्य सदैव शुद्ध हुनुपर्दछ भन्दै आफ्ना महत्त्वपूर्ण भनाइ राखेका थिए । यथार्थ अक्षरद्वारा खाेज अनुसन्धान गरि भवनाथ घिमिरेलाई सबैका सामु राख्न सफल हुनुहुने ग्रन्थका लेखक तथा साहित्यकार छवि वैरागी घिमिरेलाई प्रमुख अतिथिले दोसल्ला ओढाएर अभिनन्दन तथा ताम्रपत्रद्वारा सम्मान गरेका थिए ।

समाराेहमा डा.भोलानाथ पोखरेलले पुस्तक माथि समीक्षा गर्दै बहु आयामिक व्यक्तित्व भावनाथ घिमिरेको जीवनको प्रारम्भ,पूर्वार्द्ध,वृत्त,आयतन साथै उत्तरार्धलाई चलचित्र झैँ झलल बनाएका थिए । कार्यक्रममा घिमिरे कुलवंश प्रतिष्ठान बेलबारी मोरङका अध्यक्ष हेमचन्द्र घिमिरे, सम्पूर्ण परिवारको तर्फबाट प्रतिनिधित्व गर्दै इ.गुणराज त्यस्तै प्रा.डा.यादेवी ढकाल लगायतले सभालाई मन्तव्यद्वारा सम्बोधन गरेका थिए ।

कार्यक्रममा तिलक भट्टराई ‘कल्पित’ को प्रत्यक्ष गायनले सबैलाई मनोरञ्जन गराएको थियो। राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’ले सुसेली गाएर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा कल्पना भट्टराई अधिकारीको कोकिल स्वरमा शार्दूलविक्रीडित कविताले मुग्ध बनाएको थियो। साथमा नेपाल गजल प्रतिष्ठानका सचिव अनजान यात्रीले तरन्नूममा गजल प्रस्तुत गरेका थिए ।

गौरी पब्लिकेशनका प्रबन्धक दामोदर ढकालले स्वागत मन्तब्यद्वारा सम्बोधन गरेकाे कार्यक्रम गजलकार आँचलकुमार शर्माले सञ्चालन गरेका थिए । आयाेजक परिषदका अध्यक्ष तथा साहित्यकार मुरलीप्रसाद ढकालकाे सभापतित्वमा कार्यक्रम भएको थियाे। स्मृतिग्रन्थमा भवनाथ घिमिरेले बाल्यकाल वि. सं १९९० को दशकदेखि देखि वि. सं २०५३ सम्म गरेको सङ्घर्षलाई वर्णन गरिएको साथै ग्रन्थका प्रकाशक रूपमाया घिमिरे तथा सीताराम घिमिरे रहेको कृतिका लेखक तथा साहित्यकार घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित