माछा मार्न गएका दुई युवक राप्ती नदीमा बेपत्ता

चितवन । चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता भएका छन् । शुक्रवार अपरान्ह तीन जना नदीमा माछा मार्न गएका थिए । उनीहरुमध्ये एक जना भेटिएका छन् । भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जिव चौधरी, वडा नम्बर २७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय पर्साढापले जनाएको छ ।

बगेको केहीबेरमा उत्रिएका रोहितकुमारले अन्य दुई जना साथीलाई जमुनाघाटबाट नदीले बगाएको जानकारी प्रहरीलाई दिएका थिए । सोही सूचनाको आधारमा हराएकाहरुको शुक्रबार रातिबाटै खोजी सुरु गरेको थियो । निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका नेपाली सेना, स्थानीयबासीको टोलीले शनिवार पनि बिहानैबाट हात्ती र मोटरबोटबाट खोजी सुरु गरेका छन् ।

सेनाले रोहितकुमारको सूचनाको आधारमा अन्य दुई जनाको खोजी भइरहेको जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले पनि दुई जना व्यक्ति राप्तीमा जाँदा बेपत्ता भएको सूचनाको आधारमा खोजी भइरहेको बताए । चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिले मात्रै माछा मार्न पाउँछन् । निकुञ्जभित्र अनाधिकृतरुपमा प्रवेश गर्न पाइँदैन । तर निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाहरुले प्रशासन तथा सुरक्षार्थ खटिएका नेपाली सेनाको आँखा छल्दै माछा मार्ने, निगुरो, घाँस, दाउराका लागि निकुञ्जभित्र प्रवेश गर्ने गर्छन् । 

प्रतिक्रिया

सम्बन्धित