गृहमन्त्री लेखकको आग्रह : कांग्रेस–एमालेबीचको सात बुँदे सहमतिमा शंका नगरौं

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उनले प्रहरीकोे सुविधा सम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए । ‘अहिले प्रहरीले सीमित स्रोत साधनमा काम गर्नुपरेको छ’, गृहमन्त्री लेखकले भने, ‘नवनिर्मित भवनले सेवा प्रवाहमा सहज हुनेछ ।’ 

उनले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ थियो । उनले संसदमा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनाएको बताए । ‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ’, उनले भने, ‘कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौं सशत्र द्वन्द्वलाई शान्तिमा ल्यायौँ ।’ 

उनले मुलुकमा दुई ठूला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसदका दुई ठूला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए । उनले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नर्गन समेत आग्रह गरे । 

उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागकिरले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले पूर्वाधार विकासमा जोड दिएको बताए । ‘नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन’, उनले भने, ‘यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।’ उनले नव निर्मित भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहज हुने विश्वास व्यक्त गरे । विसं २०७९ मंसिर २९ गते आशिष कन्ट्रक्सनसँग उक्त भवन निर्माण गर्न १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित