सङ्खुवासभाको खादबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने निर्णय

खाँदबारी । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको छ । २०८१ भदौ १३ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयको केन्द्रीय कार्यालयको टुङ्गो लगाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको हो । आयुर्वेद योग, ध्यान तथा वैकल्पिक चिकित्सा र जडीबुटीको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले स्थापना गर्न लागेको विश्वविद्यालयको ऐन पारित भएको दुई वर्षमा समेत सञ्चालनमा आउन सकेको छैन ।

सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योद्धा योगमायाको सम्मानमा सरकारले आयुर्वेद विश्वविद्यालय खोल्ने निर्णय गरेको थियो । सोही आधारमा २०७९ भदौ २८ गते ‘योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९’ जारी भएको थियो । ऐनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय काेशी प्रदेशकाे अरुण उपत्यकाभित्र रहने भनेर स्थान स्पष्ट रूपमा तोक्न सकेको थिएन ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकमाथि भएको दफावार छलफलको प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव गरेपछि उक्त विधेयक सर्वसम्मतिबाट पारित भएको थियो । ऐन जारी भए पनि अझै जग्गा तथा भौतिक पूर्वाधारको काम समेत अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित