इन्धन डिपोका कर्मचारी बर्माको कार्यालयको कोठामै हत्या, सहकर्मी पक्राउ

धनुषा । नेपाल आयल निगम धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेशकुमार वर्माको हत्या भएको छ । सिरहा नगरपालिका–३ घर भई डिपोमा कार्यरत वर्माको आज विहान बेल्चाले हानेर त्यही कार्यरत अर्का कर्मचारीले हत्या गरेको खुलेको छ । 

करारमा कार्यरतहरुको सेवा सुविधालगायतका विषयमा केही समय अघिदेखि विवाद थियो । सोही विवादले उग्ररुप लिँदा सिरहाको सिरहा नगरपालिका–३ मखनाहाका बर्मामाथि कुटपिट भएको हो । नेपाल आयल निगमका प्रवक्ता पूर्ण रिजालले जनकपुर डिपोमा घटना घटेकोबारे जानकारी आएको पुष्टी गरे ।

उनको कर्मचारी प्रकाश यादवले हत्या गरेको प्रहरीले जनाएको छ । यादव धनुषाको सबैला नगरपालिका–१० हुन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आज विहान करिब १० बजे वर्माको हत्या भएको जानकारी दिए । हत्यामा संलग्न प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले बताए । मृतक वर्माको शव अहिले घटनास्थलमै छ । सरसफाईको विषयमा वर्मा र यादवबीच हिजो कार्यालयमै विवाद भएको थियो । सोही निहुँमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीले  जनाएको  छ ।

वर्मा चार वर्षदेखि उक्त डीपोमा करारमा कार्यरत थिए । शुक्रबार बिहान ८ बजे राकेशलाई सहकर्मीहरुले कोठामा थुनेर बेल्चाले टाउकोमा प्रहार गर्दा मृत्यु भएको खबर आएको दाजु राजेश बर्माले जानकारी दिएका छन् । ‘बिहान कार्यालय गएको बेलामा ठोका थुनेर भाइलाई बेल्चा लगायतले हानेर मारेको खबर आयो,’ बर्माले भने, ‘स्पोट डेथ भएको छ । म त्यता जाँदैछु ।’

प्रतिक्रिया

सम्बन्धित