इटहरीमा दुई वटा आकाशे पुल निर्माण प्रकृिया सुरू

इटहरी । सुनसरीको इटहरीको मुख्य चोकमा दुई वटा आकासे पुल निर्माणको काम सुरु भएको छ । मुख्य चोकको धरान लाइन हाल सार्वजनिक शौचालय नजिकै र विराटनगरतर्फ हटिया लाइनमा आकासे पुल निर्माण सुरु भएको हो ।

रिजेन्सी बिल्डर्स प्रालिले ४ करोड ५१ लाख ६३ हजारमा ठेक्का पाएको दुई वटा पुल २०८१ फाल्गुन १६ मा सम्पन्न गर्नेगरि सम्झौता भएको छ । धरान लाइनमा ३५ मिटर र विराटनगर लाइनमा २७ मिटर लामो पुल निर्माणको लागि २०८० फाल्गुनमै सम्झौता भएको हो ।

सडक विभागसँग समन्वय गरिरहेको उपमहानगरपालिकाले अनुमति पाउनासाथ काम अगाडि बढ्ने बताएको छ । यसअघि उपमहानगरपालिकाले ६ लेन सडक आयोजनालाई समन्वय गर्न आग्रह गरेपनि सडक विभागको अनुमति लिएर आउन भनेपछि सोही अनुसार प्रक्रिया अगाडि बढाइएको हो ।

काठमाडौको नयाँ बानेश्वरकै शैलीको पुल अपाङ्ग नागरिकले प्रयोग गर्न नसक्ने गरी निर्माण हुन लागेको छ । इटहरीमै विश्वबैङ्कको सहयोगमा जुट विकास चोकदेखि बरगाछीसम्म व्यवस्थित सडकको काम पनि सुरु भएको छ । तत्कालीन मेयर द्वारीकलाल चौधरी र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलबीच २०७७ फाल्गुनमा भएको सम्झौता अनुसार सडक निर्माण हुन लागेको हो ।

आशिष आशीर्वाद जेभीले ७३ करोड ८० लाखमा निर्माण गर्न ठेक्का पाएको सडक २०८२ साउनमा सम्पन्न गर्नुपर्ने सम्झौता छ । भर्खरै निर्माणको काम सुरु गरेको कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्ने अवस्था नभए पनि साइकल लेनसहितको व्यवस्थित सडक बन्न लागेको हो ।

इटहरीका २, ३ र ४ नम्बर वडालाई समेट्नेगरी बन्न लागेको नयाँ सडकको फरक फरक मापदण्ड तय गरिएको छ । २ नम्बरमा ३२ फिट, ३ मा ६० र ४ नम्बर वडामा ५० फिट चौडाइको साइकल लेनसहितको सडक बन्न लागेको हो ।

सडकले इटहरीको ग्रामीण कनेन्टीभिटिलाई सहज बनाउने विश्वास लिइएको छ । ८ किलोमिटर ४ सय मिटर सडक निर्माणपछि इटहरीको प्रमुख पर्यटकीय गन्तव्य तालतलैयाको प्रचार र विकास बढ्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित