सर्लाहीमा साइकलसँग ठोक्किँदा मोटरसाइकल चालक पूर्व वडाध्यक्षको निधन

सर्लाही । मोटरसाइकल दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको छ ।

बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा शुक्रबार राति भएको दुर्घटनामा पूर्व वडाध्यक्ष यादवको निधन भएको प्रहरीले जनाएको छ । कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गए राति ९ः३० बजे एक साइकलमा ठोक्किएर दुर्घटना भएको र उनको घटनास्थलमै निधन भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए । 

पूर्व वडाध्यक्ष यादवले चलाएको मोटरसाइकले एउटा साइकल ठक्कर दिएको प्रहरी उपरीक्षक सिंहले बताए । ‘साइकल, चप्पल र मोबाइलको खोल घटनास्थलमै रहेको तर साइकल चालक फरार छ’, उनले भने, ‘पूर्व वडाध्यक्षको घटनास्थलममै मृत्यु भएपछि साइकल चालक डराएर फरार भएको हुनसक्छ ।’ 

साइकल चालकको खोजी तथा दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । यादवको टाउकाको पछाडि भागमा गम्भीर चोट लागेको छ । नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य रहेका यादव २०७४ को निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित