बंगलादेशमा बाढीका कारण १३ जनाको मृत्यु, ४५ लाख प्रभावित

बङ्गलादेश । बङ्गलादेशमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ४५ लाख मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयले शुक्रबार जनाएको छ ।

‘ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स’का अनुसार बङ्गलादेश प्रकोप र जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका देशमध्ये एक हो । करिब सत्र करोड  जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशका सयौं नदीमा पछिल्लो समयमा बारम्बार बाढी आएको छ ।

विपद् मन्त्रालयको शुक्रबारको बुलेटिनमा प्रभावित तथा मृतकको पुष्टि गरेको हो । बुलेटिनअनुसार लगभग एक लाख ९० हजार प्रभावितहरूलाई आपतकालीन राहत शिविरमा राखिएको छ । बङ्गलादेशका ६४ जिल्लामध्ये ११ जिल्ला बाढीबाट प्रभावित भएको विपद् मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको बुलेटिनमा उल्लेख भएअनुसार चितागङको मुख्य बन्दरगाह सहरबाट करिब एक सय  किलोमिटर  उत्तरपश्चिममा रहेको फेनी बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले विनाशकारी अवस्था निम्त्याएको बताउँदै उद्धारकर्मी जाहिद हुसेन भुयाले फेनीमा मानिसहरूलाई बचाउन अथक प्रयास गरिरहेको बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित