खाँदबारीकाे रमिते वासीलाई पहिरेकै पिर : ८ घर उच्च जोखिममा

सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन्। गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमेतेका घरहरू जोखिममा परेका हुन्। 

पहिरो गएको ठाउँमा दुई वटा ठूला ढुङ्गा रहेकाले पहिरासँगै ढुङ्गा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताए। पहिराका कारण दिनरात त्रास बढेको गुनासो गर्दै उनले स्थानीय सरकारले ढुङ्गा हटाउन सहयोग गर्नुपर्नेमा जोड दिए। 

कोशी राजमार्गको मोटरबाटो गगनेदेखि रमिते गाउँ हुँदै लगिएको छ । एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पु¥याइएको छ। गाउँमाथिबाट ट्रयाक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएकाले माटो धस्सिएर पहिरो बगिरहेको रमितेका स्थानीयले बताएका छन्।

गाउँमा पहिरोका जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी–५ का वडाध्यक्ष टङ्कबहादुर घिमिरे र खाँदबारी–४ का कार्यवाहक वडाध्यक्ष पवित्रा गुरुङलगायत नगरका टोलीले स्थलगत अवलोकन गरेको छ। 

पहिरो अवलोकनपछि उपमेयर बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजालीसहित ढुङ्गा फुटाउने आश्वासन दिए। केही वर्षअघिदेखि गाउँ पहिरोको जोखिममा छ। गतवर्ष खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा केही रोकथाम गर्ने प्रयासस्वरूप तारजाली लगाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित