ढाकाका सडकमा ट्राफिक व्यवस्थापनमा खटिए आन्दोलनकारी विद्यार्थीहरू

काठमाडौं ।  ढाकाका सडकहरूमा अनौठो दृश्य देखिएको छ । दर्जनौं विद्यार्थीले बङ्गलादेशको राजधानीमा यातायात व्यवस्थापनको जिम्मेबारी सम्हालेका छन् । ढाकाका सडकहरूमा हिंसात्मक विद्रोह हुँदा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो र नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

मूल रूपमा संशोधित आरक्षण प्रणालीको मागबाट विरोध प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थानका हजारौँ विद्यार्थी हसिनाको नेतृत्वमा रहेको अघिल्लो अवामी लिग सरकारबाट परिवर्तनको माग गर्दै सडकहरूमा उत्रिएका थिए । 

हिंसात्मक विरोध प्रदर्शन महिनौंसम्म चलेको थियो र पछिल्ला केही सातामा स्थानीय सञ्चार माध्यमहरूमा धेरैको मृत्यु भएको रिपोर्ट गरिएको थियो । युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएसँगै चर्को ट्राफिक जाम देखिएको बङ्गलादेशको संसद्बाहिर ट्राफिक व्यवस्थापन गर्न विद्यार्थीहरू अघि सरेका छन् । 

इन्जिनियरिङ, चिकित्सा र अन्य क्षेत्रलगायत विविध पृष्ठभूमिका विद्यार्थीहरूले ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवा गरिरहेका छन् । बङ्गलादेशको संसद् भवन नजिकै ट्राफिक व्यवस्थापन गर्ने स्वयंसेवक विद्यार्थी बशिरले विश्वविद्यालय र विद्यालय अहिले बन्द भएकाले विद्यार्थीहरू ट्राफिक व्यवस्थापनका लागि अघि बढेको बताए । 

‘हामी ५० भन्दा बढी विद्यार्थीले ट्राफिक व्यवस्थापन गरिरहेका छौँ, प्रहरी पनि आएर व्यवस्थापन गर्छ किनकी हामी पनि पढाइका लागि फर्कनुपर्छ, अहिले विद्यालय र कलेज बन्द छन् तर प्रहरी चाँडै आउनेछ’, उनले भने ।     बशिरले बङ्गलादेशमा निर्वाचन हुनुपर्ने बताउँदै भने, ‘अहिले मुलुक सञ्चालनका लागि हामी मात्र उपलब्ध छौँ, आन्दोलन बिल्कुल सही थियो, निर्वाचन हुनुपर्छ ।’

अधिकारीहरूले आफ्नो माग सम्बोधन गर्ने मात्र नभई बङ्गलादेशलाई लोकतान्त्रिक मुलुक बनाउने दिशामा  पनि काम गर्नुपर्ने विद्यार्थीहरूले अपेक्षा गरेका छन् । बढ्दो विरोध प्रदर्शनका बीच आफ्नो राजीनामा बुझाएपछि शेख हसिनाले अगस्ट ५ मा बङ्गलादेश छाडेकी थिइन् । सुरुमा सरकारी सेवामा आरक्षण प्रणालीविरुद्ध विद्यार्थीहरूले गरेको विरोध प्रदर्शन पछि व्यापक सरकार विरोधी प्रदर्शनमा रूपान्तरण भएको थियो । 

सन् १९७१ को युद्धका दिग्गजहरूका सन्तानलगायत विशिष्ट समूहहरूका लागि निजामती सेवाका जागिरहरूलाई आरक्षित गर्ने कोटा प्रणालीमा सुधारको मागका कारण जुलाईको प्रारम्भमा विरोध प्रदर्शन सुरु भएको थियो । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मुहम्मद युनुसले हसिनाले राजीनामा दिएको तीन दिनपछि अगस्ट ८ मा बङ्गलादेशको अन्तरिम सरकार प्रमुखका रूपमा सपथ लिए । 

प्रतिक्रिया

सम्बन्धित