मधेसको ‘जम्बो मन्त्रिपरिषद’ विरुद्ध जसपाका युवा र विद्यार्थीको प्रदर्शन, प्रहरीसँग झडप

जनकपुरधाम । मधेश प्रदेशको मन्त्रिपरिषद २० सदस्यीय पुर्‍याएको विरोधमा जसपा नेपालका युवा र विद्यार्थी संगठनले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन् । जसपा नेपाल निकट समाजवादी युवा संघ र समाजवादी विद्यार्थी यूनियनले सिटी जुलुस निकालेको हो ।

निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय अगाडि पुगेका प्रदर्शनकारीले मधेस सरकारविरुद्ध नाराबाजी गरे । निषेधित क्षेत्र (सुरक्षा घेरा) तोड्ने क्रममा जसपा नेपालका युवा, विद्यार्थी र सुरक्षाकर्मीबीच सामान्य झडप समेत भएको छ । प्रदर्शनकारीले मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयताको बदनाम गरेको भन्दै राजीनामा पनि मागेका छन् । मधेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छ । जम्बो मन्त्रिपरिषद बनाएपछि मुख्यमन्त्री सिंह आलोचित बनेका छन् । उनको आफ्नै पार्टी जनमतले समेत स्पष्टीकरण सोधेको छ ।

आफूहरूले कुर्सी जुलुस निकालेर मधेस सरकारलाई जम्बो मन्त्रीपरिषद्लाई सानो आकारको बनाउनका लागि खबरदारी गरे पनि आफूहरूको माग नसुनेकाले सिट्टी जुलुस निकालेको समाजवादी युवासंघ मधेसका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताए । 

उनले मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार समेत नरहेको भन्दै राजीनामा माग गरे । जनकपुरधामको जनकचौकबाट सुरु भएको विरोध र्‍याली मधेस भवनतर्फ अगाडि बढ्दा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजे पनि युवा विद्यार्थीहरू प्रहरीको घेरा निस्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित