साथीहरू विदेश जाँदा पनि मौरीपालन गरिरहेका कृष्णबहादुर

अहिले गर्छन् मासिक ५० हजार आम्दानी

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरेर मासिक ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन्।सानै उमेरमा सहर पसेका मगर कोरोना कहरका कारण गाउँ फर्किएका थिए।  

कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गरे। कुखुराबाट खासै आम्दानी नभएपछि उनले मौरीपालन गर्ने सोच बनाएर ललितपुरको गोदावरीमा गई मौरीपालनसम्बन्धी तालिम लिए। गाउँ फर्किएर उनले मौरीपालन सुरु गरे। 

उनले सुरुमा मेलिफेरा जातको १० घार मौरीबाट व्यवसाय सुरु गरेका हुन्। ‘त्यसपछि मैले छ घार सेरेना जातको मौरी थपेँ, अहिले यो व्यवसाय गरेको तीन वर्ष भयो आम्दानी राम्रै छ,’ उनले भने। उनले मौरीपालनसँगै मौरीका नयाँ घार उत्पादन गरी घारसहितका मौरीसमेत बेच्दै आएका छन्। 

महभन्दा घारसहितको मौरी बिक्री चाँडो हुने र त्यसबाट बढी फाइदा हुने उनको अनुभव छ। मह र घार बिक्रीबाट उनले खर्च कटाएर वार्षिर्क छ लाख कमाइ गर्दै आएका छन्। आर्थिक वर्ष २०८०/८१ मा मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि उनले रामेछाप नगरपालिकाबाट रु तीन लाख अनुदान प्राप्त गरेका थिए। सुरुमा लगानी गर्न समस्या भएको अवस्थामा अनुदान पाएपछि उनी खुसी छन्।

उनले एक लाख १५ हजार लगानी गरी मौरीपालन सुरु गरेका हुन्। सबैभन्दा बढी खर्च मह काढ्ने मेसिनमा लागेको छ। पछि आफैँले घार निर्माण गर्न थालेपछि अहिले उनको बगैँचामा मेलिफेरा र सेरेना जातका ७० घार माहुरी छन्। मेलिफेरा जातका मौरीले वर्षमा चार÷पाँचपटक मह उत्पादन गर्छन्। यसले एक पटक मह काढ्दा एक घार बराबर १० देखि १५ केजीसम्म मह दिन्छ। सेरेना (लोकल) जातको माहुरीको घारबाट भने वर्षमा दुईपटक मात्र मह निकाल्न मिल्ने उनले बताए। 

अहिले महभन्दा पनि मौरीसहितको घारको माग बढी छ।  उनले उत्पादन र निर्माण गरेका मौरीसहितको घार १० हजारका दरले बिक्री गर्दै आएका छन्। सेरेना जातको माहुरीको मह प्रतिकेजी एक हजारदेखि एक हजार दुई सयसम्म बिक्री हुन्छ। अठार वर्षसम्म सहरमा रोजगारी गर्दा खासै पैसा कमाउन नसकेका मगर अहिलेको आम्दानीबाट सन्तुष्ट छन्। 

‘देशका युवा लाइन लागेर विदेश गएको  देख्दा आफूलाई पनि जाउँ जाउँ लागेको थियो, तर विदेश गएर फर्केका साथीहरुको अनुभव सुन्दा नजाने अठोट लिएर गाउँमै काम गर्न थालेका हुँ,’ उनले भने। मौरीपालन सुरु गरेको दुई वर्ष लगानी थप्दै जानुपर्ने र उत्पादन नहुनेजस्ता समस्या थियो। तेस्रो वर्षदेखि धमाधम उत्पादन हुन थालेपछि लगानी उठेको उनले बताए। 

कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने यो व्यवसायका लागि विभिन्न स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रममा मौरीपालन समावेश गरेका छन्। सोही अनुसार सुनापति गाउँपालिकाले मगरसँग एक सयवटा मौरीसहितको घार माग गरेको छ । रानीसहितको कर्मी मौरी उत्पादन गर्न केही समय लाग्ने भएकाले तत्काल मौरी उपलब्ध गराउन नसकिने उनले बताए।

मौरीलाई अरिङ्गाल र मलसाप्रोबाट जोगाउन निकै समस्या हुन्छ। धेरै घार भएपछि घर वरिपरि मात्र राखेर नहुने भएकाले बारीको कान्लाहरुमा राख्ने गरेका छन्। त्यहाँ अरिङ्गाल र मलसाप्रोले दुःख दिने गरेको छ। 

घारभित्रको महमा कमिलाले दुःख दिने भएकाले कमिलाबाट जोगाउन ‘स्ट्यान्ड’ बनाएर राख्नुपर्ने र मलसाप्रोबाट जोगाउन ढुङ्गाले थिचेर राख्नुपर्छ। उनले अर्को वर्षसम्ममा तीन सय घार मौरी पाल्ने योजना बनाएका छन्। 

प्रायः मौरीपालक किसानहरुले  धेरै र चाँडो मह निकाल्न घार नजिक चिनी र चास्नी बनाएर राखिदिने गरेपनि आफूले त्यस्तो नगरेको र चास्नी बनाएर दिइरहनु नपर्ने उनको अनुभव छ। मौरीको घार विस्तार गर्दा रानी बनाउन कृत्रिम प्रविधि नअपनाई प्राकृतिक तरिकाले रानी उत्पादन गर्ने गरेको उनी बताउँछन्। 

‘घार फुटाएपछि मौरीहरुले आपत्कालीन रानी तयार पार्छन्। रानी हराएको अवस्थामा माहुरीहरुले तीन/चार दिनको लार्भा अण्डा हालेर भए पनि तुरुन्तै रानी उत्पादन गर्ने भएकाले कृत्रिम तरिकाले रानी उत्पादन गरिरहनु पर्दैन,’ उनले भने। रानी हराएको अवस्थामा दुई÷तीन दिनसम्म कर्मी मौरीले रानी खोज्ने तर फेला परेन भने चौथो दिन देखि तीन/चार दिनको लार्भा हालेर रानी तयार पार्ने मगरले बताए। उनले उत्पादन गरेको मह सदरमुकाम मन्थलीदेखि छिमेकी जिल्ला दोलखा, सिन्धुली, काठमाडौँ र भक्तपुरका बजारहरुमा बिक्री हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित