नीति विपरित अभिभावकहरूबाट रकम उठाउदै पथरीशनिश्चरे स्काउट ,नगर भन्छ याे नियम नै छैन

पथरीशनिश्चरे । पथरीशनिश्चरे क्षेत्रका विद्यालयहरूमा नेपाल स्काउटले विद्यार्थीहरूबाट रकम असुलेको भन्दै अभिभावकहरूले गुनासो गरेका छन्। स्काउटले विभिन्न निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरूबाट एक हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म असुलेको आरोप लागेको छ।

नेपाल स्काउट, जसले सामाजिक उत्तरदायित्व वहन गर्छ, उसले नीतिविपरीत पैसा उठाउन थालेपछि स्काउटप्रतिको विश्वासमा शंका उत्पन्न भएको छ। नगरपालिकाले कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिसकेको भए पनि स्काउटले विद्यार्थीका अभिभावकहरूबाट थप रकम असुल्न थालेको खबर सार्वजनिक भएको हाे।

पथरी शनिश्चरे नगर शिक्षा शाखाका अधिकृत नविन खुलालले स्काउटलाई नीतिविपरीत रकम उठाउन नपाउने स्पष्ट पारेका छन्। उनले स्काउटले विद्यार्थीहरूबाट रकम असुल्नुलाई गलत कदम भनेका छन्, किनकि स्काउटमा पैसा उठाउन पाउने कुनै व्यवस्था छैन।

अभिभावकहरूले स्काउटले विद्यार्थीहरूबाट रकम उठाउँदा आर्थिक भार थपिएको गुनासो गरेका छन्। स्काउटका आयुक्त रोशन बुढाथोकीले भने कार्यक्रम सञ्चालनका लागि अभिभावकहरूको सल्लाहमा विद्यार्थीहरूबाट रकम संकलन गरिएको बताएका छन्। तर, नगरपालिकाले बजेट विनियोजन गरिसकेपछि विद्यार्थीहरूबाट रकम असुल्नु अनावश्यक भएको र यसले अभिभावकहरूलाई अतिरिक्त आर्थिक भार परेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित