खोटाङको राजापानीमा बाघ आतङ्क, स्थानियमा बढ्याे त्रास

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा  कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् ।

 केही दिनअघिदेखि गाउँ पसेको एउटा बाघले शुक्रबार राति साविक राजापानी गाविस वडा नं २ भोगटिनीस्थित देविका चौहानको घरमा बाँधेको कुकुर तथा सोही राति शम्भुप्रसाद भण्डारीको खसी मारेको स्थानीय बासिन्दाले बताएका छन् ।

चौहानको घर बाहिर राखिएको खाटमा बाँधेको कुकुर साङ्लोसहित २० मिटर तल लगेर टाउको बाहेक सबै खाए पनि भण्डारीको खसी भने खोरबाट निकाल्न नसक्दा मारेर भागेको जनाइएको छ । बाघले शनिबार भोगटिनीकै देवीबहादुर कार्कीको बोका मारेको छ । 

राजापानीका स्थानीयका अनुसार केही दिनअघि साविक ६ नं वडामा पर्ने मापाचुलीका कीर्तिमान कार्कीको गोठको बाच्छो बाघले मारेको छ । दुई वर्षअघि पनि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाको त्रास थियो ।खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा त्यतिबेला चितुवाले २५ भन्दाबढी चौपाया मारेको थियो । 

प्रतिक्रिया

सम्बन्धित