देशका ७३ जिल्ला फैलियो डेंगु‚ विरामीको संख्या २ हजार नाघ्यो

काठमाडौँ । देशभरि ७३ जिल्लामा डेंगु फैलिएको छ भने विरामीको संख्या २ हजार नाघेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लामा डेंगुका विरामीको संख्या २ हजार ६१ जना पुगेको जानकारी दिए। 

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगुका विरामी अझ बढ्न सक्ने अनुमान गरेको उनले बताए। मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगु फैलिएको छ। सबैभन्दा बढी काठमाडौँमा २४९ जनामा डेंगु देखिएको छ। झापामा १३० जना र चितवनमा १०५ जनामा डेंगु देखिएको छ। 

उपत्यकामा विरामीको संख्या ३१६ जना

काठमाडौँ उपत्यकामा नै डेंगुका विरामीको संख्या ३१६ जना पुगेको छ। काठमाडौँमा २४९ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा २९ जना डेंगुका विरामी छन्। रोग शाखा प्रमुख डा दाहालले डेंगु अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। 

“डेंगुबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो। यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै वेला झुल प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्छ”, उनले भने। 

प्रतिक्रिया

सम्बन्धित