सिरहामा साढे ६ करोडको आयोजना अलपत्र, एक हजार दुई सय घरधुरी खानेपानीबाट वञ्चित

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र रहेको छ । पञ्चवर्षीय योजनासहित विसं २०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना नौ वर्ष बित्दा पूरा नभएको हो ।

पाँच वर्षभित्र एक हजार दुई सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानले छ करोड ५० लाखमा आयोजना बनाउन सुरु गरेको थियो । कार्यालयले हालसम्म रु दुई करोडमा दुई बोर्डिङ गाडेर ट्याङ्की बनाएर बाँकी काम अलपत्र छाडेको छ । 

समयमै पूर्णता दिन बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले भने पाँच वर्षभित्र योजना सम्पन्न गर्ने भने पनि नभएको स्थानीयको गुनासो छ । ‘डिभिजन कार्यालयमा धाउँदा धाउँदा र हाकिमलाई भन्दाभन्दा थाकिसकें’, उपभोक्ता समितिका अध्यक्ष ठाकुरले भने ।

साबिकको लहान खानेपानी तथा सरसफाइ डिभिजन पछिल्लो समय समायोजना भएर सप्तरीको राजविराज डिभिजन कार्यालयअन्तर्गत समावेश भइसकेको छ । आर्थिक वर्ष २०७९/८० असार मसान्तमा डिभिजन कार्यालय राजविराजले रु १९ लाखको बोर्डिङको पाइप किनेर कार्यालय अगाडि थुपारेर छाडेको छ । त्यो पाइप जडान गर्न त्यसपछि कहिल्यै डिभिजन कार्यालयका कर्मचारी नै पुगेनन् । आर्थिक वर्ष २०८०/८१ म छुट्याएको रु १७ लाख डिभिजनले कामै नगरी ‘फ्रिज’ भएर गएको बताइएको छ ।

कल्याणपुर–१२ का वडाध्यक्ष दिलीपकुमार यादवले भने वडावासीलाई स्वच्छ खानेपानी खुवाउन निरन्तर योजनाबारे सोधीखोजी गरिरहेको बताए । ‘डिभिजन कार्यालय छुट्याएको खुद्रे बजेटले पनि लापरबाही काम गर्छ’, अध्यक्ष ठाकुर भन्छन्, ‘यसरी यो आयोजनाले कहिले पूर्णता पाउँदैन ।’ सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन् । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना भएकाले उचित बजेट नदिँदा पूर्णता पाउन नसकेको खानेपानी तथा सरफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित