बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान

धरान । धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एन्ड क्लिन’ अभियान सुरु गरेको छ । कांग्रेसले ४२औँ बीपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एन्ड क्लिन’ अभियान सुरु गरेको हो । 

धरान उपमहानगरपालिका–१९ बाट सुरु अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्तालगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको छ ।  साथै यस अवसरमा कांग्रेसले सडक सरसफाइ र डेङ्गीका लार्भा नष्ट तथा डेङ्गीसम्बन्धी सचेतना पर्चा तथा डेङ्गीका बिरामीलाई औषधि वितरण पनि गरेको छ ।

कांग्रेसका सुनसरी सचिव माधव घिसिङले अभियानको उद्घाटनमा यसबाट नगरको सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने बताए । गत वर्ष पनि अभियान सञ्चालन भएको थियो । अभियान धरान उपमहानगरपालिका –१, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं वडामा भदौ १ गतेसम्म अभियान सञ्चालन हुनेछ ।   

नेपाली कांग्रेस सुनसरीको १ नं प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १ (१) र १ (२) समितिको संयोजन र नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको सहकार्य एवं सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रिन एन्ड क्लिन धरान’ अभियान सञ्चलान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित