एसियाली राजमार्गको काँकडभिट्टा–लौकही सडकखण्डको ओलीले गरे शिलान्यास

झापा ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गरेका छन्।

कमल गाउँपालिका–५ स्थित पाडाजुँगी चोकमा सडक विभागद्वारा आयोजित शिलान्यास कार्यक्रममा उनले विदेशमा जस्तै चार लेनका चिल्ला र ठूला राजमार्ग अब नेपालमै देख्न पाइने बताए।उनले एसियाली राजमार्गको निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ आयाम थपिने र आर्थिक विकासको नयाँ नयाँ अवसर सिर्जना हुने बताए।

‘उत्पादन र रोजगारीसँग जोड्ने भएकाले एसियाली राजमार्गलाई नेपालले सदुपयोग गर्नुपर्छ’, उनले भने।शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सम्झौतामा उल्लेख भएकै तीन वर्ष अवधिमा एसियाली राजमार्गको निर्माण सम्पन्न हुने बताए।

उनले राजमार्गको निर्माण विश्वस्तरीय हुने र निर्माण सम्पन्न भएको छ वर्षसम्म निर्माण कम्पनीले नै मर्मतसम्भारको जिम्मेवारी बहन गर्ने सम्झौता रहेको जानकारी दिए। भारत सरकारले पूर्वपश्चिम राजमार्गको प्रस्थानविन्दु काँकडभिट्टाको पाँच मिटरभित्रसम्म एसियाली राजमार्गको निर्माण दुई वर्षअघि नै गरिसकिएको छ भने मेची नदीमा नयाँ पुल पनि बनिसकेको छ। अब काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ दशमलव ७६ किलोमिटर सडकको स्तरोन्नति कार्यको सुरुआत भएको छ।

‘एएचटु’ नाम दिइएको यो अन्तरदेशीय राजमार्ग एसियाली विकास बैंकको सहयोगमा बन्ने भएको हो। यस आयोजनाका लागि एसियाली विकास बैंकले तीन सय मिलियन अमेरिकी डलर ऋण प्रदान गरेको छ भने नेपाल सरकारले ६२ दशमलव ४७ मिलियन अमेरिकी डलर लगानी गरेको छ।

सडक विभागको आयोजना निर्देशनालय (एडीबी) मातहत निर्माण हुने यस राजमार्गलाई दुई खण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताए। काँकडभिट्टादेखि केरखासम्मको ४५ किमी लम्बाइ भएको पूर्वी खण्ड रहेको छ भने केरखादेखि इटहरीसम्मको ५० दशमलव ७६ किलोमिटर पश्चिम खण्ड रहेको छ।

गत कात्तिक २ गते ठेक्का सम्झौता भएको यो राजमार्गको निर्माण कार्य अजरवैजान र चिनियाँ निर्माण कम्पनीले नेपाली कम्पनीसँग मिलेर गरिरहेको छ। विसं २०८३ माघ १९ गते अर्थात् तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको छ। राजमार्ग निर्माण क्रममा ५२ पुल, दुई सय ८९ कल्भर्ट, १० सवारी गुड्ने ओभरपास, तीन पैदल ओभरपास, १८ पैदलयात्री अन्डरपास र १२ ‘एनिमल क्रसिङ ब्रिज’ बनाइने पन्तले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित