वीरगन्ज महानगरले १० महिनामा उठायो ४० करोड राजस्व

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रुपैयाँ बढी सङ्कलन गरेको हो। महानगरले गत आवको १० महिनामा रु ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो।

वीरगन्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै रु ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म रु ४० करोडको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिए। आर्थिक मन्दीका कारण वीरगन्ज व्यापार घटेकोकाले यसको राजस्व सङ्कलनमा परेको उनको भनाई छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले चालु आर्थिक वर्षमा मालपोत कर रु  ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए।

 ‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले रु १३ करोड ९३ लाख ६२ हजार मात्रै सम्पत्ति कर उठेको छ,’ उनले भने, ‘आन्तरिक राजस्व अपेक्षाकृत रुपमा सङ्कलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ।’ 

महानगरले २४  शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ। महानगरले यस वर्ष घरबहाल कर बापत रु चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने रु दुई करोड सात लाख ९२ हजार सङ्कलन गरेको छ।

महानगरले घर बहाल करतर्फ रु तीन करोड २६ लाख ४४ हजार तथा अन्य सेवा शुल्कबापत रु दुई करोड ४१ लख ४३ हजार, नक्सापास दस्तुर रु दुई करोड ९२ लाख ४ हजार  उठाएको छ। गत आवमा  रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित