महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश

काठमाडौँ / सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमले बागमती प्रदेशविरुद्ध १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय ५८ रनको लक्ष्य पछ्याएको बागमतीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनमा समेटियो ।

जितसँगै चार खेलमा छ अङ्क जोड्दै सुदूरपश्चिम दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । पराजित बागमती प्रदेश समान खेलबाट दुई अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरियो । बागमतीका लागि करिश्मा गुरुङले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कन्चन श्रेष्ठले ७, विपिसा साहीले ४ तथा सोनी पाख्रिनले ३ रन जोडे । बागमतीलाई सस्तैमा समेट्नेक्रममा सुदूरपश्चिमकी ऋतु कनोजियाले तीन विकेट लिइन् भने कविता जोशी र लक्ष्मी साउदले समान दुई/दुई विकेट लिए । त्यस्तै कप्तान विन्दु रावल र करिश्मा थापाले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ५७ रनको योगफल बनाइएको थियो ।

सुदूरपश्चिमका लागि सम्झाना खड्काले सर्वाधिक ७४ रनको योगदान दिइन् । उनले ४७ बलमा १० चौकाको मद्दतले अविजित ७४ रनको योगदान दिएकी हुन् ।

त्यस्तै, रुवी पोदार र विन्दु रावलले समान २८/२८ रन बनाए भने कविता जोशीले अविजित २० रन बनाएकी थिइन् । बागमतीका लागि करिश्मा गुरुङले एक विकेट लिइन् । योजितसँगै सुदूरपश्चिमले उपाधिका लागि अब नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल भोलि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित