इटहरीकाे मुख्य चाैकमै बन्ने भयाे दुईवटा आकासे पुल

इटहरी । इटहरीमा ट्राफिक जामको समस्या कम गर्न दुईवटा आकासे पुल बन्ने भएको छ । यहाँको गोल्डेन चोक र गोर्खा डिपार्टमेन्ट अगाडि आकासे पुल बन्ने भएको हो ।इटहरी उपमहानगरपालिकाको चालू आर्थिक वर्षको बजेटमा आकासे पुल बनाउन बजेट विनियोजन गरिएको छ । पुल निर्माणको लागि सम्झौता प्रक्रियामा गइसकेको इन्जिनियर जीवन घिमिरेले बताए ।

‘हामीले पुल निर्माणको लागि टेन्डर आह्वान गरेका थियौँ । काठमान्डौँको निर्माण कम्पनी रिजेन्सी विल्डर्स प्राइभेट लिमिटेडसँग सम्झौताको प्रक्रिया भइरहेको छ,’ उनले भने ।उपमहानगरले उक्त कम्पनीसँग सम्झौताको लागि १५ दिने आशय पत्र जारी गरिसकेको इन्जिनियर घिमिरेले बताए ।कम्पनीले चार करोड ५१ लाख ६३ हजार ७५३ रुपैयाँ ३५ पैसामा टेन्डर कबोल गरेको सव इन्जिनियर खेमकुमार श्रेष्ठले बताए ।

आकासे पुल बनेपछि इटहरीमा हुने गरेको ट्राफिक जामको समस्या र बाटो काट्दा हुने दुर्घटनाको कमीमा सहयोग पुग्ने उनको भनाइ छ । मेयर हेमकर्ण पौडेल भन्छन्, ‘इटहरीमा आकासे पुल निर्माण गर्ने पूर्व माननीयको सपना थियो । उहाँको सपना इटहरीको पनि सपना र इटहरीको आवश्यकता भएकाले हामीले आकासे पुलको परियोजना ल्याएका हौँ ।’

यही चालू आर्थिक वर्षका लागि इटहरीको मुख्य चोकमा दुई वटा आकासे पुल निर्माण गर्न बजेट विनियोजन गरिएको उनले बताए । २ वटा आकासे पुलको कुल लागत अनुमान ५ करोड ४४ लाख ४ हजार ५५४ रुपैयाँ रहेको उपमहानगरले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित