रुसी सेनामा नेपाली : जसलाई मरेपछि मात्रै राज्यले चिन्यो

काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको छ । रुस–युक्रेन युद्धका क्रममा उनको मृत्यु भएको थियो । 

परराष्ट्र मन्त्रालयका अनुसार उनी रोजगारीका लागि रुसी सेनामा पुगेको जानकारी छ । गुरुङ गत भदौमा रुस पुगेका थिए । तर सरकारले गुरुङको मृत्य भएपछि उनी पनि रुस गएको जानकारी प्राप्त गरेको हो । गुरुङ् जस्ता रुसी सेनामा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन । तर युक्रेनसँगको युद्धमा मृत्यु भएपछिको विवरण सरकारले थाहा पाइराखेको छ । 

यसअघि रुसी सेनामा भर्ती भएका १० जना नेपालीको मृत्यु भइसकेको छ । यो सँगै मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ । अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा पनि नेपाल सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । यसले गर्दा रुसी सेनामा भर्ना भएका नेपालीहरु रुस–युक्रेन युद्धका क्रममा मृत्यु हुने क्रम रोकिएको छैन । 

चार जना नेपालीको भिडन्तमा मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले नै जनाएको थियो । दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र  दोलखाका राजकुमार रोक्का छन् ।  

दूतावासले मृतक तीन जनाको परिवारसँग सम्पर्क गर्न काठमाडौँ त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको थियो । जसको बोधार्थ परराष्ट्र मन्त्रालय र युरोप–अमेरिका महाशाखालाई दिइएको छ । उक्त पत्रमा रुसी सेनाले टेलिग्राममार्फत् मृत्युको जानकारी दिएको उल्लेख गरिएको छ । अर्थात् सरकार रुसी सेनामा भर्ना भएका नेपालीहरुबारे मृत्यु भएपछि रुसी सेनाबाट जानकारी लिइरहेको छ । 

किनकि रुसी सेनामा भर्ती गैरकानुनी हो । त्यसैले त्यहाँ पुग्ने र रुसी सेनामा भर्ती भएको जानकारी सरकारसँग छैन । तथापि, नेपालीहरु गइरहेका छन् । परराष्ट्र मन्त्रालयलेरुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूत मार्फत रुसी सरकारलाई अनुरोध गरिएको मन्त्रालयले जानकारी दिएको छ । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन पनि मन्त्रालयले रुसी सरकारलाई आग्रह गरेको छ । तर यो प्रक्रियामा रुसले चासो दिइरहेको छैन । 

रुस युक्रेन युद्धमा संलग्न ४ जना नेपाली बन्दी अवस्थामा रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । युक्रेनमा बन्दी बनाइएका नेपालीलाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको छ । साथै उनीहरुको रिहाइ र नेपाल फिर्तीको लागि रेडक्रसको अन्तर्राष्ट्रिय संस्था र अरु माध्यमबाट कुटनीतिक पहल गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालबाट मात्र नभई भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरव इमिरेट्स, साउदी अरविया, कुवेत, कतार र बहराइनबाट रुस यात्रा गर्दा पनि ती देशमा रहेका नेपाली राजदूताबास तथा महावाणिज्यदूताबासबाट नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएकाहरु नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको बताउँछन् । विद्यार्थी भिसा र भिजिट भिसा लगायतमा रुस पुगेकाहरु सेनामा भर्ती भएको र जोखिममा परेको उनको भनाइ छ । उनी भन्छन्, ‘रुसमा ११ जनाको मृत्यु भइसकेको छ । अरु धेरै जना जोखिममा पर्नुभएको छ । तर यो समस्या नेपाल सरकारको कारणले आएको होइन । जो त्यहाँ गएको छ, रुसी सेनामा काम गरिरहेको छ, उनीहरु विद्यार्थी भिसामा, भिजिट भिसामा त्यहाँ पुगेका हुन् । भिसा प्रयोजनलाई तोडेर उहाँहरु त्यहाँको सेनामा भर्ना हुनुभएको छ ।’ 

परराष्ट्रमन्त्री साउदले अफ्ठयारोमा परेका आफ्नो नागरिकको उद्धार गर्न सरकार जुनसुकै बेला पनि तयार रहेको बताउँछन् । उनी भन्छन्, ‘आठ वटा शवहरु अहिले त्यहाँको शवगृहमा राखिएको कुरा मसँग आएको छ । हामीले ती शव नेपाल ल्याउनका लागि कुटनीतिक पहल गरिरहेका छौँ ।’ 

देश छोड्ने बेला जो कसैले पनि एकपटक सोच्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘देश छोड्दा जो कसैले पनि एकपटक सोच्नुपर्छ । कहाँ जाँदैछु ? कस्तो देशमा जाँदैछु ? कानूनीरुपमा ठीक छ, कुन ठीक छैन ? त्यो कुरामा सबैले ध्यान पुर्‍याउनु आवश्यक छ ।’ आजकाे मध्यान्ह दैनिकमा खबर छ । 

प्रतिक्रिया

सम्बन्धित