मलेसियामा नयाँ ‘एप्रुभल’ खुलाउनेबारे आगामी हप्ता छलफल हुने

काठमाडौं । मलेसियामा आगामी हप्ता विदेशी कामदार भर्ना खुला गर्ने सम्बन्धमा महत्वपूर्ण छलफल हुने भएको छ । मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले आफू र मानव संशाधन मन्त्री स्टिभन सिमबीच आगामी जनवरी १६ तारिकमा विदेशी कामदारको एप्रुभलबारे मन्त्रिपरिषदमा लैजाने प्रस्तावबारे छलफल गर्न बैठक बोलाएको बताएका छन् ।

मलेसियामा मानव संशाधन मन्त्रालयमा केही दिनअघि आएका मन्त्री सिम चिनियाँमुलका हुन् । उनी बंगलादेशका कामदारभन्दा अन्य देशबाट कामदार ल्याउनुपर्ने धारणाका पक्षपाती मानिन्छन् । गत वर्ष डिसेम्बर ७ तारिकमा निवर्तमान मानव संशाधन मन्त्री वी शिवकुमारले अघिल्लो वर्षदेखि लागू नयाँ विदेशी कामदार भर्ना गर्न प्रतिबन्धको निर्णयमा कुनै नयाँ छलफल नगरेको बताएका थिए । उनी सन् २०२४ मा पनि विदेशी कामदारको नयाँ भर्ना रोक्ने यसअघिको निर्णय यथावत रहनुपर्ने पक्षमा थिए । केही समयका लागि कुनै नयाँ कोटा घोषणा नगर्ने भन्दै उनले भविष्यमा थप विदेशी कामदार भर्ना गर्नुपर्ने आवश्यकताको समीक्षा मात्रै गर्ने पक्षमा रहेको बताएका थिए ।

मन्त्रालयमा भएको नेतृत्व परिवर्तनसँगै नीति पनि परिवर्तन हुने कतिपयको आंकलन छ । मलेसियामा हाल विदेशी कामदारको चाप बढी भएको र भारतीय मूलका मलेसियाली जनसंख्या मात्रै २० लाखभन्दा बढी भइसकेको भन्दै सञ्चारमाध्यमबाट विदेशी कामदार भित्र्याउने सरकारी नीतिको आलोचना भएको छ ।

तर नयाँ मानव संशाधन मन्त्री सिमले विदेशी कामदार भर्नाको सम्बन्धमा लचिलो नीति लिनुपर्ने र विदेशी कामदारको एप्रुभल दिने अख्तियारी आफ्नो मन्त्रालयलाई दिनुपर्ने धारणा राख्दै आएको मलेसियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । मलेसियाका गृह मन्त्रालय र मानव संशाधन मन्त्रालयले वैधानिकरुपमा मलेसिया प्रवेश गरेका विदेशी कामदारको शोषणको समस्यालाई सम्बोधन गर्न नयाँ नियमावलीहरु जाँच्ने र विद्यमान कानूनमा सुधार गर्ने योजना बनाएको पनि बताएका छन् ।

मलेसियामा नयाँ कामदारको एप्रुभल खुला भएमा कामदारको लागत घट्ने अपेक्षा गरिएको छ । नयाँ एप्रुभल नहुँदा मलेसियाबाट आउने डिमाण्डका लागि अस्वभाविक लगानी गरिरहनुपर्ने अवस्था रहेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् ।आजकाे मध्यान्ह दैनिकमा खबर छ । 

प्रतिक्रिया

सम्बन्धित