बाल कथा: गोठालो अतुल

अतुलको परिवार ज्यादै गरिब थियो । गरिबीका कारण अतुलले पढ्न पाएको थिएन । उसलाई पढ्न ज्यादै रहर थियो । पढ्ने इच्छा हुँदाहुँदै पनि अतुलले पढ्न पाएको थिएन । स्कुल जानुको सट्टा ऊ सधैँ आफ्नो घरमा पालेका गाईवस्तुहरू चराउन जगल जाने गर्थ्यो । अतुलको बुबा अर्काको खेतबारीमा ज्यामी काम गर्न जानुहुन्थ्यो । ज्यामी कामबाट आएको ज्यालाले अतुललाई स्कुलमा भर्ना गर्न त के परिवारको बिहान बेलुकाको छाक टार्न समेत धौधौ पर्दथ्यो । अतुलको परिवारसँग भएको आफ्नो जमिनको कमाइले छ महिना खान पनि पुग्दैन थियो । बाँकी छ महिनासम्मका लागि खानेकुराको जोहो अर्काको खेतबारीमा ज्यामी काम गरी अतुलको बुबा जसोतसो गरी पुऱ्याउने गर्नु हुन्थ्यो ।

अतुलले कहिलेकाहीँ आफ्नो बुबालाई आफ्नो पढ्ने इच्छा बताउने गर्दथ्यो । तर अतुलको बुबासँग छोराको इच्छा पुऱ्याउने उपाय केही थिएन । अतुललाई सधैँ सम्झाउँदै भन्नुहुन्थ्यो, “बाबु यसपालि हामीसँग स्कुलमा भर्ना गर्ने र मासिक रूपमा शुल्क तिर्ने पैसा जम्मा हुन सकेन त्यसैले दुःख नमान अर्को वर्ष जसरी पनि तिमीलाई गाउँको स्कुलमा भर्ना गराइदिनेछु ।” अतुललाई आफ्नो बुवाले थुप्रै वर्षदेखि यस्तै भन्दै आउनुभएको थियो । तर कुनै पनि वर्ष अतुलले स्कुलमा भर्ना हुन पाएन ।

गाउँका सबै साथीभाइहरू बिहानै झोलामा किताबकापी हालेर गाउँको बजार छिचोल्दै स्कुल जान्थे । अतुलचाहिँ आफ्ना गोठमा भएका गाईगोरुहरू लिएर मेची बगर हुँदै टुकुरे फारस (अंग्रेजीमा फरेस्ट शब्द बोलीचालीको भाषामा फारस भनिएको हो) तर्फ लाग्थ्यो । उसका साथीहरू भने सेतो सर्ट, निलो पाइन्ट, कालो जुत्ता, नीलो मोजा, सर्टको गोजीमा चिटिक्क परेको चाइनिज पेन भिरेर स्कुल जान्थे । झोलाभरि किताबकापी बोकेर गाउँको बजार छिचोल्दै आलडाँगीमा भएको स्कुलमा पढ्न जाने साथीभाइको चम्किलो अनुहार र चिटिक्क पारेर कोरेको कपालसँगै मीठामीठा गफ गर्दै सधैँ अघिबढिरहेको देख्थ्यो । सधैँ साँझ झमक्क पर्न लाग्दा आफ्ना गाईवस्तुको गोधूलीसँगै आफू र आफ्ना साथीभाइहरू गाउँ फर्कने गर्दथे ।

विचरा ! अतुल दिउँसोको खाजाका लागि आमाले गोजीमा हालिदिनु भएको भुटेको मकै र भटमास बोकेर मेची नदी पार गर्दै टुकरे फारसतर्फ आफ्ना गाई चराउन जाने गर्दथ्यो । जङ्गलमा ठूला हिंस्रक जन्तुहरू नभए पनि स्याल, व्वाँसो र खरायो जस्ता जनावरहरू थिए । ढुकुर, जुरेली, सुगा, सिमकुखुरा जस्त केही चराचुरुङ्गीहरू पनि थिए । गोठाला साथीभाइहरूसँग मिलेर दण्डीवियो खेल खेल्नु बाहेक जङ्गलमा अरू केही उपाय थिएन । कहिलेकाहीँ जङ्गलमा पाइने निगुरो टिप्नु, कोइरालाको फूल टिप्नु र बेलुका घर फर्कदा निगुरो र कोइरालाको फूल तरकारी र अचारका लागि आफ्नी आमालाई दिनु; उसको कार्य थियो । दिउँसोको खाजाका लागि आमाले तयार पारिदिएको मकै र भटमास कहिलेकाहीँ मेची नदी तर्दा पानीले भिजेर ढाडिन्थ्यो । खान नमिल्ने गरी बिग्रन्थ्यो । कैंयौ यस्ता दिनहरू अतुल भोकै गोठालो गरेर घर फर्कने गर्दथ्यो ।

गाईवस्तुलाई गोठमा बाँधिसकेपछि पनि ऊ आमालाई घरधन्दामा सघाउने गर्थ्यो । करेसाबारीमा लगाइएको सागपातमा पानी हाल्ने; मलखाद हाल्ने; गोडमेल गर्ने कार्यमा अतुलले सघाउने गर्दथ्यो ।

उसलाई स्कुलमा अर्को वर्षको पढाइ सुरु हुने समयको प्रतीक्षा हुन्थ्यो । स्कुलमा भर्ना गरिदिने आफ्नो बुबाको वचन सम्झेर उसलाई समय बितेको पत्तै हुँदैन थियो । आउने सालको भर्नामा त जसरी भएपनि स्कुल भर्ना गरिदिन र किताव कापीको जोहो मिलाइदिन अनुरोध गर्छु भन्ने उसलाई मनमा सधैँ लागिरहन्थ्यो । आफ्ना दौतरीहरू सधैँ पढ्न जाने र आफूचाहिँ पढ्नबाट वञ्चित भएकोमा अतुललाई मात्र हैन उसको बुबालाई समेत ज्यादै पीर परेको थियो ।

“यसवर्ष अतुललाई कसरी स्कुलमा भर्ना गरिदिऊँ ? मैले त केही उपाय पनि देखिनँ । यसवर्ष पनि उसलाई स्कुलमा भर्ना नगरिदिने हो भने उसले ज्यादै चित्त दुखाउने छ । धेरै वर्ष भयो उसलाई अर्को वर्ष स्कुलमा भर्ना गरिदिने भनी आश्वासन दिएको । वर्षभरिको कमाइले खान नै पुग्दैन उसलाई कसरी स्कुलमा भर्ना गरिदिने ? मलाई त साह्रै पीर परेको छ ।” आमासँग बुबाले गरेको सल्लाह सुनेर अतुललाई साह्रै नरमाइलो लाग्यो । तर पनि उसलाई भित्रैदेखिको पढ्ने इच्छाले कहिले पनि छाडेन ।

अतुल ज्यादै मिहिनेती पनि थियो । ऊ गाईवस्तुको हेरचाह, कोठेबारीको हेरचाह तथा घरमा आइपर्ने सबै कामहरू मन लगाएर गर्ने गर्दथ्यो । त्यसैले उसका छिमेकी तथा साथीभाइहरू पनि उसलाई ज्यादै माया गर्थे । उसले पढ्न नपाएकोमा गाउँका साथीभाइहरू र छिमेकीहरूलाई पनि दुःख लागेको थियो। यस वर्षको भर्नाको समयमा साहुसँग ऋण लिएरै भए पनि अतुललाई स्कुलमा भर्ना गरिदिने सोच अतुलको बुबाले बनाउनुभयो ।

एकदिन बिहानै अतुलको बुबा गाउँको प्रधान कहाँ ऋण माग्न जानुभयो । प्रधानसँग आफ्नो छोरालाई स्कुलमा भर्ना गर्न र किताब कापीको जोहो गर्न आवश्यक पर्ने ऋण दिन अनुरोध गर्नुभयो । गाउँका प्रधान रूखा स्वभावका व्यक्ति थिए । गाउँका सबै गाउँलेहरूलाई आफूले कजाएर राख्नुपर्छ भन्ने मान्यता राख्थे । आफूले दिएको ऋणको साँवा तथा व्याज निर्ममतापूर्वक असुल्ने गर्थे । गाउँले बालबालिकाको पढाइ-लेखाइ तथा उनीहरूको भविष्यका सवालमा उनलाई कुनै मतलब थिएन । गाउँले बालबालिकाले लेखपढ गरेर जान्नेसुन्ने भएको उनलाई मन पर्दैन थियो । त्यसैले स्कुल भर्ना गर्न र किताव कापीको जोहो गर्न अतुलका बुबाले माग्नु भएको ऋणलाई प्रधानले ठाडै नकारी दिए । अतुलको बुबालाई ज्यादै नरमाइलो लाग्यो । यस वर्ष पनि अतुललाई स्कुलमा भर्ना गर्न नसकिने कुराले वहाँलाई ज्यादै पिरोल्यो । वहाँ केही भन्न नसकेर प्रधानको घरबाट फर्कन लाग्नुभयो ।

प्रधानको छोराले अतुलको बुबा र प्रधानबीच भएको सबै कुराहरू सुनिरहेका थिए । वास्तवमा प्रधानका छोरा पढेलेखेका व्यक्ति थिए । उनी प्रधान जस्तो रूखो स्वभावका पनि थिएनन् । उनले गाउँको स्कुलमा केही समय पढाउने काम पनि गरेका थिए । उनको नरम व्यवहारप्रति गाउँलेहरू पनि परिचित थिए । प्रधानका छोराले अतुलको बुबालाई अतुललाई स्कुलमा भर्ना गर्न लाग्ने खर्च र किताब कलमको बन्दोबस्त मिलाइदिने वचन दिए । भोलि नै अतुललाई स्कुलमा भर्ना गराउने सहमति भयो । अतुलको बुबा खुसी हुँदै घर फर्कनुभयो

साँझ अतुललाई बुबाले सबै कुरा बताउनुभयो । अतुल ज्यादै खुसी भयो । बिहानै साथीभाइहरूसँग अतुल पनि गाउँको बजार छिचोल्दै आलडाँगीमा रहेको स्कुलमा भर्ना हुन गयो । अतुल ज्यादै मिहिनेती विद्यार्थीको रूपमा स्कुलमा चाँडै नै चर्चामा आयो । मासिक, अर्धवार्षिक तथा वार्षिक परीक्षाहरूमा अतुल उत्कृष्ठ स्थानहरू ल्याउन सफल भयो । सबै शिक्षक, विद्यार्थी तथा अभिभावकसमेत अतुलको सफलतादेखि प्रभावित भए । अतुलले स्कुलमा कायम गरेको उत्कृष्ट नतिजाका कारण कुनै वर्ष पनि उसले स्कुलमा शुल्कहरू बुझाउनु परेन । उसलाई किताब, कापी तथा पढाइ शुल्कहरू सबै मिनाहा भयो । उसले त्यस स्कुलको नाम राख्ने गरी अध्ययन र अतिरिक्त क्रियाकलापमा नतिजाहरू प्राप्त गर्यो । स्कुलको पढाइ समाप्त भएपछि पनि अतुललाई उच्च शिक्षा अध्ययन गर्नका लागि कठिनाइ भएन । उसको मिहिनेत र सफलताले गर्दा उसलाई उच्च शिक्षा अध्ययनको पनि अवसर प्राप्त भयो । कडा मिहिनेत र लगनशीलताले गर्दा आफ्नो अध्ययनपछि राम्रो रोजगारीको अवसरसमेत प्राप्त गर्न अतुल समर्थ बन्यो ।

आज अतुल गाउँका थुप्रै गरिब तथा असहाय बालबालिकालाई पढाउने र सही बाटो देखाउने अभिभावकको रूपमा स्थापित भएको छ । गरिब बुबा-आमालाई पनि उसले सुखपूर्वक हेरविचार गरिरहेको छ । ;– पारसमणि दाहाल, साभार श्राेतः बिभिन्न अनलाइनहरू

प्रतिक्रिया

सम्बन्धित