‘पृथ्वी जयन्ती’ का अवसरमा धरानबाट धनकुटासम्म पदयात्रा

धरान: नेपाल सरकारले पुष २७ गते बुधवार ३०१ औँ पृथ्वी जयन्ती एवं एकता दिवसमा सार्वजनिक बिदा दिए सँगै सोही अवसरमा अवसर पारेर बुधवार बिहान धरानको फुस्रेदेखि धनकुटाको साँगुरीगढीसम्मको एकीकरण मार्गमा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।

फुस्रेबाट चिउरीबास, साँगुरीगढी हुँदै धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर जाने पुरानो बाटोलाई नेपाली सेनाले एकीकरण मार्ग नामकरण गरेको छ । सोही एकीकरण मार्गमा बुधवार फुस्रेदेखि साँगुरीगढीसम्म ५ किलोमिटर वृहत् पदयात्रा भएको हो । पदयात्रामा नेपाली सेनाको पुर्वीपृतनापति सहदेव खड्का, धरानका मेयर हर्क साम्पाङ, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, जिल्ला समन्वय समिति अध्यक्ष निरेन तामाङ, उपाध्यक्ष सावित्री राईसहित ६ सयभन्दा बढी सहभागीहरू थिए । गढीमा पुगेपछि पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरिएको थियो भने राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर सलामी पनि दिइएको थियो । साथै, सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।

पदयात्रा आयोजक भीमदल गण धनकुटाका गणपति एवं सेनानी सुमन थापाले राष्ट्रिय एकताको भावना जगाउन तथा ऐतिहासिक कुराहरूलाई संवर्द्धन र जर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि पृतनापति सहदेव खड्काले ऐतिहासिक स्थल, गढी तथा किल्लाहरूको संरक्षण गर्ने जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएकोले साँगुरीगढीको संरक्षणमा पनि अग्रसर भएको बताए । नेपाली सेनाले राजनीति, विचार र वादको दायराभन्दा माथि बसेर, जात जाति, धर्मभन्दा पर बसेर राष्ट्रिय एकतालाई शिरमा राखेर काम गरिरहेको पनि उनले बताए । 

भोजपुरमा निशान मन्दिर र पालिकासँग समन्वय गरेर सेनाले काम गरेको छ भने विराटनगरमा विराट राजाको दरबार उत्खननको काम भएको पृतनापति खड्काले बताए । यस्तै, धनकुटामा निशान मन्दिर र ३ सय वर्ष पुरानो ढुङ्गे धाराको उत्खनन् र संवर्द्धन गर्न थालेको पनि उनको भनाई थियो । साँगुरीगढीमा जग्गाको स्वामित्वको समस्या भएको र अहिले समाधान भइसकेको भन्दै डिपिआर अनुसारको काममा सेना अघि बढ्ने खड्काले बताए । उनले भने,‘पर्यटन क्षेत्र प्रवर्द्धन हुनसक्ने गरी अब काम हुन्छ ।’

अरुण पूर्व लिम्बुवान नेपालमा एकीकरण हुनुअघि साँगुरीगढी तत्कालीन लिम्बुवानको एक महत्त्वपूर्ण गढी रहेको थियो । सयोक योक भनिने यो गढीको स्थापना सयोक हाङले गरेको बताइन्छ । सयोक यकलाई नै अचेल साँगुरीगढी भनिन्छ । यो गढी निर्माण गर्दा धरानको तामाखाम क्षेत्रको ढुंगाहरु लस्करै सेना राखेर लगिएको थियो । अहिले पनि गढीमा ती ढुङ्गाहरू सुरक्षित नै छन् । युद्धमा पराजित हुन नसकेका लिम्बु राजाहरूसँग तत्कालीन शाह राजाले अरुण पुर्व लिम्बुवान भूमिलाई वि.स.१९३१ साउन २२ गते सम्झौता गरी नेपालमा विलय गरेको इतिहास छ । 

धनकुटा र सुनसरी (धरान)को सिमानामा अवस्थित यही गढीको नामबाट धनकुटाको दक्षिणी गाउँपालिकाको नाम साँगुरीगढी राखिएको छ । यो गढी प्रसिद्ध पर्यटकीय स्थल भेडेटारबाट २.३ किलोमिटर पश्चिमतर्फ पर्छ । कोसी राजमार्गको धरान धनकुटा सडक निर्माण हुनुअघि धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लाहरूका मानिसहरू धरानको फुस्रेमा किनमेल गर्न आउँथे । त्यस बेला धरानको फुस्रे हुँदै चिउरीबास, साँगुरीगढीबाट धनकुटाको फेदी, बेलहारा, उत्तरपानी, पख्रिबास हुँदै मानिसहरू ओहोरदोहोर गर्थे । त्यही ऐतिहासिक बाटोलाई नेपाली सेनाले एकीकरण पदमार्ग नामकरण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित