रिबन इन्टरटेनमेन्टले पायाे फ्रेन्चाइजी, अब ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’ सञ्चालन हुने

काठमाडौं / विवाहित महिलाका लागि आयोजना गरिँदै आएकाे ‘मिसेस नेपाल इन्टरनेसनल’अब ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको छ । आयोजक संस्था रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि ‘मिसेस नेपाल वर्ल्ड’को आधिकारिक फ्रेन्चाइजी पाएछि नाममा हेरफेर भएकाे हाे ।

रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वर्ल्ड’को फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको चाउचाउ वाईवाईसमेत यो सोन्दर्य प्रतियोगितामा सामेल भएपछि प्रतियोगिता ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’का नाममा हुने बताए । झाका अनुसार ‘मिसेस नेपाल वर्ल्ड’सँगै सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेता पनि चयन गरिनेछ ।

तीनै प्रतियोगिताका लागि आगामी शनिबार पुरानो बानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुनेछ । आवेदन संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँबानेश्वरस्थित अर्याल होटलबाट प्राप्त गर्न सकिनेछ ।

आयोजकले ‘मिसेस नेपाल वर्ल्ड’को विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ ।

‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड-१९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो । यस वर्षदेखि यो प्रतियोगितालाई परिमार्जित रुपमा अगाडि बढाउने आयोजकले जनाएका छन् ।

यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ भने ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।

अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताको नियमित तालिम र प्रशिक्षण ८ मंसिरदेखि नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित