तपाईंलाई थकाइ धेरै लाग्छ ? साबधान, निम्त्याउन सक्छ यस्ता जोखिमहरु

‘किन मलाई यति धेरै थकाइ लाग्छ ? व्यस्त, भागदौड र प्रतिस्पर्धाको यो समयमा प्रायः सबैले चिकित्सक, आफन्त र साथीभाइलाई सोध्ने प्रश्न हो यो । ‘एकछिन काम गर्नासाथ थकाइ लागिहाल्छ न त सुत्दा नै राम्ररी निद्रा पर्छ’, यो गुनासो पनि आम बनेको छ ।

उत्पादनशील उमेर समूहका मानिस पनि थकाइ लागेर केही गर्न नसकेको गुनासो गर्दै भन्छन्, ‘बिहान उठ्दा आलश्य हुन्छ, साँझ ढल्न नपाउँदै ओछ्यानमा पल्टिहालौं जस्तो हुन्छ, शरीर नै धान्न हम्मेहम्मे हुन्छ ।’ वृद्ध उमेरका मानिसलाई त थकाइले झनै समस्या दिन्छ । थकाइ लाग्दा घरको तलमाथि समेत गर्न नसक्ने अवस्थामा अल्झिएको छ अधिकांश वृद्धवृद्धाको जीवन । निरोगी देखिनेहरू पनि थकाइ लागेर हैरान हुन्छु भन्छन् । आखिर किन लाग्छ थकाइ ?

चिकित्सकका अनुसार थुपै्र तर अदृश्य कारणले थकाइको महसुस धेरै हुन्छ । त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सरोजराज ओझाका अनुसार थाहा नै नपाई हुने ‘डिप्रेसन’ले मानिसमा थकाइको ज्यादै महसुस हुने गर्छ ।

‘डिप्रेसन भएपछि अधिकांशलाई अति नै निद्रा लाग्ने समस्या देखिन्छ । त्यसैबाट उसलाई शरीरमा थकाइ महसुस हुन थाल्छ ।’ डिप्रेसनका बेला जे गरे पनि थकाइ लाग्ने हुन्छ । त्यसैले थकाइको समस्या धेरै नै भएको अनुभव भइरहेको छ भने चिकित्सकको परामर्श समयमै लिन जरुरी छ भन्छन् डा. ओझा ।

कतिपय चिकित्सकका अनुसार धेरै थकाइ लाग्नुमा निद्रामा श्वासप्रश्वास बन्द हुने समस्याका कारण पनि हुनसक्छ । जसलाई चिकित्सकले ‘स्लिप एप्निया’ भन्ने गर्छन् । यसका कारण अति धेरै थकाइ लाग्ने र रक्तचाप, मधुमेह, डिप्रेसन जस्ता जटिल समस्या पनि निम्तने गर्छ ।

थाकाइ लाग्नु हामीले दैनिक खाने खानासँग पनि सम्बन्धित छ । बिहानको खाजा नखाई एकैपटक खाना खानाले पनि दिनभरि थकाइ महसुस हुन्छ । नर्भिक इन्टरनेसनल अस्पतालकी डायटिसियन डा. प्रणित सिंहका अनुसार बिहान खाजा खाने र खाना पनि समय मिलाएर खाने हो भने थकाइ कम लाग्छ । बिहान खाली पेट राख्ने र एकैपटक कार्बोहाइड्रेड धेरै भएका खाना खानाले शरीरमा आवश्यक पर्ने पौष्टिक तत्त्वको कमी भई काम गर्न अल्छी लाग्ने वा कार्यक्षमतामा कमी आउने गर्छ ।

केही अध्ययनले भनेका छन्, ‘धेरै नै थकाइ लाग्छ भने सातामा एकपटक सुत्नुभन्दा पहिले एक ग्लास मनतातो दूध पियो भने त्यसले थकाइ कम लाग्छ । सिंहका अनुसार पर्याप्त पानी पिउँदा पनि थकाइको समस्या हटाउन सकिन्छ । ‘हाम्रो शरीरमा रगतलगायत तरल पदार्थ उत्पादन गर्न पानी धेरै नै आवश्यक पर्छ ।

पानी कम हुँदा रगत बाक्लो हुँदै जाँदा मुटुमा दबाब पर्न जान्छ र निकै थकाइ महसुस हुन्छ’, उनले भनिन्, ‘त्यसैले प्यास नलागे पनि पानी बारम्बार पानी पिउनुपर्छ ।’ दिउँसो सुत्ने बानीले पनि थकाइ महसुस हुन्छ । चिकित्सक भन्छन् ‘ दिउँसो एकैछिन सुतेर उठ्दा आँखा लोसे हुने र अल्छी लाग्छ । थकाइ मेट्न गहिरो निद्रामा सुत्नुपर्छ । गहिरो निद्रा लाग्न कम्तीमा आधा घन्टा लाग्नसक्छ ।’

अध्ययनले कफी पिउँदा थकाइ मेटिने पुष्टि गरेका छन् । तर धेरै मात्रामा क्याफिनको प्रयोगले थकाइ मेटाउने नभएर बढाउने काम गर्छ । डा. सिंहका अनुसार धेरै कफीले गर्मी बनाउँछ । विशेषगरी दिउँसो ३ बजेपछि वा सुत्नुअघि कफी पिउँदा बढी थकाइ महसुस हुन्छ । थकाइ लाग्ने समस्या भएका मानिसले नियमित शारीरिक व्यायाम गर्नुपर्छ या योगलाई अपनायो भने पनि थकाइको महसुस कम हुनसक्छ । धेरै नै थकाइ लाग्नु स्वास्थ्यका लागि राम्रो संकेत होइन ।

संसारमै घातक मानिएको ‘वेगनर्स’ रोगका कारण पनि त्यस्तो भएको हुनसक्छ । मिर्गौला, श्वासप्रश्वासका धमनी, रक्तनशालगायतमा थाहै नपाउने गरी क्षति पुर्‌याउने उक्त रोगका कारण पनि थकाइ लागेको हुनसक्छ । त्यसैले थकाइ लाग्ने विभिन्न कारण हुन सक्छन् । सामान्य ठानेर टारियो भने यसले दीर्घकालीन रूपमा ठूलो क्षति पुर्‌याउन सक्छ । समयमै उपयुक्त चिकित्सकसम्म पुगी थकाइबारे परामर्श गर्नु जाती हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित