जानी राख्नुहाेस् ! नुन हाम्रो शरीरलाई कति आवश्यक ?

नुन हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो । यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्त्वकाे विशेष भूमिका हुन्छ । तर त्यही नुन अत्यधिक खाएमा शरीरमा नकारात्मक असर पर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एउटा व्यक्तिले प्रत्येक दिन पाँच ग्रामभन्दा बढी नुन सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ । प्रशोधित खानेकुरामा प्रयोग गरिने अत्यधिक नुनले पेटमा क्यान्सर हुने सम्भावना हुन्छ । सामान्यतया मिर्गौलाले शरीरमा रहेका विकारजन्य वस्तु हटाउने, तरल पदार्थ सन्तुलनमा राख्ने र रातो रक्तकोषिकाको वृद्धिलाई नियन्त्रण गर्ने काम गर्छ ।

उच्च सोडियमयुक्त खाना, खासगरी प्रशोधित खाद्यपदार्थले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ, जसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउँछ । उच्च रक्तचापका बिरामीले बढी नुन सेवन गर्दा मिर्गौलाले शरीरका विषाक्त तत्त्व हटाउन असमर्थ हुन्छ। परिणामस्वरूप मिर्गौला बिग्रिने सम्भावना हुन्छ ।

नुनको बढी सेवनले मस्तिष्क, धमनी र मुटुमा बढी असर गर्छ । शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्युसमेत हुन सक्छ। वयस्क मानिसमा आवश्यकभन्दा बढी सोडियम हृदयरोगको कारक बन्छ । सोडियमको अत्यधिक मात्राले उच्च रक्तचाप निम्त्याउँछ । बुढेसकालमा सोच्ने शक्तिमा समेत ह्रास ल्याउँछ । शरीरमा सोडियमको मात्रा बढी हुँदा घुँडा र हातखुट्टा सुन्निने समस्या आउँछ ।

प्रतिक्रिया

सम्बन्धित