ब्रा नलगाउने अभियान किन चलाइरहेछन् महिलाहरू ?

एजेन्सी / पछिल्ला दिनहरूमा दक्षिण कोरियाका महिलाहरू इन्टरनेटमा यस्ता तस्वीरहरू शेयर गरिरहेका छन्, जस्मा उनीहरूले ब्रा पहिरिएका छैनन् । ‘नो ब्रा ह्यासट्याग’ यतिबेला सोसियल मिडियामा ठूलो अभियान बन्दै गइरहेको छ । यसको सुरुवात दक्षिण कोरियाली अभिनेत्री तथा गायिका शु लीले गरेकी थिइन् । उनले आफ्नो इन्स्टाग्राम अकाण्टमार्फत् ब्रा नलगाएको आफ्नो तस्वीर शेयर गरेकी थिइन् । इन्स्टाग्राममा उनको लाखौँ फलोअर्स थिए । त्यसैले हेर्दा हेर्दै उनको तस्वीर भाइरल भयो । यससँगै उनी दक्षिण कोरियामा ब्रा मुक्त अभियानकी प्रतीक बनिन् ।

यस अभियान मार्फत् दक्षिण कोरियाका महिलाहरू ब्रा पहिरिनु र नपहिरिनु नीजि छनौटको विषय भएको सन्देश प्रवाह गरिरहेका छन् । यस अभियानमा धेरैजना शु लीको पक्षमा आए भने धेरैले उनको आलोचना समेत गरे । यी दुवै खेमामा महिला र पुरुष दुवै सहभागि छन् । केहीले यसलाई सस्तो लोकप्रियता हासिल गर्न अपनाइएको हतकण्डा भन्दै आलोचना गरेका छन् । त्यस्तै केहीले यसलाई महिलाहरूको नाममा मानिसको ध्यान खिच्ने तरिका भएको बताइरहेका छन् ।

केहीले भने यसलाई शु लीले महिला आन्दोलनमार्फत् आफ्नो प्रसिद्धी कमाउन लागिपरेको आरोप लगाएका छन् । केहीले उनलाई निशाना बनाउँदै लेखेका छन्, ‘के तिमी यस्तो अवस्थामा चर्च जान सक्छौ ? के तिमी आफ्नो बहिनीकाे पति अथवा सासु–ससुराका अघि यसरी प्रस्तुत हुन सक्छौ ?’ केबल पुरुष मात्रै नभई महिलाहरू पनि ब्रा नलगाउँदा असहज महशुस गर्छन् । हालसालै एक हाइप्रोफाइल गायिका ह्वाजाले बिना ब्रा खिचिएको आफ्नो फोटो सार्वजनिक गर्दै यो बहसलाई झनै बढाइदिएकी छन् । यस्ता फोटोहरूले दक्षिण कोरियाका आम महिलाहरूको समेत ध्यान खिचिरहेको छ, र उनीहरू अभियानमा जोडिदैँ गइरहेका छन् । अधिकांश महिलाहरू ब्रा नलगाउने अभियानको समर्थनमा छन्, तर पुरुषहरूको घुरेर हेर्ने बानीले गर्दा उनीहरू ब्रा नलगाई सार्वजनिक स्थान जान सक्ने अवस्था नरहेको समेत बताउँछन् । यसका लागि उनीहरू दक्षिण कोरियाका पुरुषहरूको लगातार घुरेर हेर्ने बानीलाई समस्या ठान्छन् । यसलाई उनीहरू गेज रेप अर्थात् घुरेर बलात्कार गर्नु सरह रहेको बताउँछन् ।

यो अभियान केवल दक्षिण कोरियाको राजधानी सियोलमा मात्रै सीमित छैन । यसले २२ वर्षीया डिजाइनर तथा छात्रा ना ह्यून लीलाई समेत प्रभावित गरेको छ । ना ह्यूनले एक पपअप ब्राण्ड हिप्पी सुरु गरेकी छन् । यसै वर्षको मे महिनाबाट उनले निप्पल प्याड बेच्न सुरु गरेकी छिन् । यससँगै उनले नारा दिएकी छन्, ‘यदी तपाईंले ब्रा पहिरिनु भएको छैन भने पनि केही छैन…।’ २८ वर्षीया अर्की युवती डाके युनले भनेकी छिन्, ‘म गायिका शु लीको अभियानबाट अत्याधिक प्रेरित छु । अचेल त्यतिबेला मात्रै ब्रा पहिरिन्छु जतिबेला म कार्यालयमा बोससँग हुन्छु । तर जब म आफ्नो ब्वायफ्रेण्डसँग हुन्छु, तब ब्रा पहिरिन्नँ ।’

यी सबैको पछाडी लुकेको एउटै सन्देश भनेको ब्रा पहिरिने र नपहिरिने विषय निजी भएको बताउनु हो । ब्रालाई महिलाहरूले प्रदर्शनको लागि पनि प्रयोग गरिरहेका छन् । सन् १९६० को दशका ब्रा जलाउने अभियान महिलाहरूबीच निकै लोकप्रिय भएको थियो । यो एउटा सांकेतिक विरोध थियो । त्यतिबेला धेरै महिलाहरूले ब्रा जलाएनन्, तर विरोध जनाउनको लागि बिना ब्रा सडकमा निस्किएका थिए । सन् २०१३ मा फ्रान्सको राजधानी पेरिसमा महिलाहरूले समेत सडकमा ब्रा फ्याँक्दै स्तन क्यान्सर विरुद्ध जागरण अभियान चलाएका थिए ।

स्राेत : नेपालीपत्र

प्रतिक्रिया

सम्बन्धित