सुरक्षित छ आकस्मिक गर्भनिरोधक चक्की ?

परिवारनियोजनका साधनको प्रयोगविना यौनसम्पर्क भएको अवस्थालाई असुरक्षित यौनसम्पर्क भनिन्छ । असुरक्षित यौनसम्पर्क हुनेबित्तिकै वा ७२ घण्टाभित्र आकस्मिक गर्भनिरोधक चक्की सेवन गरेमा यसले अनिच्छित गर्भधारण हुन दिँदैन । आकस्मिक गर्भनिरोधक परिवारनियोजनको नियमित साधन भने कदापि होइन । यसलाई सधैँ गर्भधारण रोक्ने उपायका रुपमा प्रयोग गरेमा यो कम प्रभावकारी हुन्छ र यसले गर्भपतन गराउँदैन ।

कहिले प्रयोग गर्ने ?

– यौनसम्पर्कका वेलामा कन्डम फुटेमा वा चिप्लिएर फुस्केमा, – लगातार ३ दिनसम्म पिल्स खान बिर्सेमा, – डिपो लगाउन १४ दिनभन्दा बढी ढिला हुन गएमा, – परिवारनियोजनका कुनै पनि साधनको प्रयोगविनै यौनसम्पर्क हुन गएमा, – बलात्कार भएमा, – वीर्यस्खलन हुनुपूर्व लिंग योनिबाट बाहिर निकाल्न नभ्याएमा, – गर्भ रहन सक्ने दिन गणनामा भुल भएमा ।

कसरी प्रयोग गर्ने ?

– असुरक्षित यौनसम्पर्क हुनेबित्तिकै वा भएको ७२ घण्टाभित्र एक चक्की खानुपर्छ । पहिलो चक्की खाएको १२ घण्टाभित्र अर्काे चक्की खानुपर्छ । – दुवै चक्की खाइसकेपछि महिनावारी नहोउन्जेल नियमित प्रयोग गर्दै आएका पिल्स चक्की, कन्डमलगायत अस्थायी साधनको पूर्ववत् प्रयोग गर्नुपर्छ । – आकस्मिक गर्भनिरोधक प्रयोग गर्दा पनि हुनुपर्ने समयभन्दा एक हप्ता पछिसम्म पनि महिनावारी नभएमा स्वास्थ्यकर्मीद्वारा गर्भ परीक्षण गराउनुपर्छ ।

कति सुरक्षित छ ?

यो पूर्ण रुपमा सुरक्षित छ । यसको प्रयोग सबै महिलाले गर्न सक्छन् । बच्चालाई दूध खुवाइरहेकी महिला र साधारण पिल्स चक्की खान नहुने महिलाले पनि यसको प्रयोग गर्न सक्छन् । यसले भविष्यमा गर्भधारण गर्नुपरेमा केही असर गर्दैन ।

कति प्रभावकारी ?

महिनावरी भएको दोस्रो वा तेस्रो हप्तामा असुरक्षित यौनसम्पर्क राख्ने १०० महिलामध्ये ८ जना गर्भवती हुन्छन् । ती १०० जनाले असुरक्षित यौनसम्पर्क राखेको ७२ घण्टाभित्र आकस्मिक गर्भनिरोधकको प्रयोग गरेमा जम्मा एकजना मात्र गर्भवती हुन्छिन् । असुरक्षित यौनसम्पर्क राखेको १२ वा २४ घण्टाभित्र यसको प्रयोग गरेमा बढी प्रभावकारी हुन्छ ।

कस्ता असर देखा पर्न सक्छन् ?

– आकस्मिक गर्भनिरोधकको प्रयोगले कहिलेकाहीँ वाकवाकी लाग्ने, बान्ता हुने, रिँगटा लाग्ने, टाउको दुख्ने, थकाइ लाग्ने, स्तन भारी हुने वा केही देखेको महसुस हुनेजस्ता अस्थायी समस्या हुन सक्छन् । सामान्यतया यस्ता समस्या एक वा आधा दिनमा हराएर जान्छन् । – यसको प्रयोगले महिनावारीको समय केही दिन वर वा पर जान सक्छ । यसको प्रयोग गर्ने १० जना महिलामध्ये एकजनामा महिनावारीको समय केही फरक पर्न सक्छ । – यसको प्रयोग गरेपछि केही महिलाहरुलाई थोरै रगत देखिन पनि सक्छ । तर, महिनावारीपछि आफैँ हराएर जान्छ । – खाना खानेबित्तिकै खाएमा वाकवाकी लाग्ने वा बान्ता हुनेजस्ता लक्षण कम देखापर्छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित