सिन्काले दाँत कोट्याउनु कति हानिकारक?

सिन्का अर्थात टुथपिकलाई दाँत सफा गर्ने संसारकै सबैभन्दा पुरानो दन्तचिकित्सकीय उपकरण मानिन्छ। ब्रसको आविष्कार हुनुभन्दा करिब ७५ हजार वर्ष अगाडि नै मानिसहरु सिन्काले दाँत सफा गर्ने गर्थे भन्ने तथ्य अवशेषहरुको अध्ययनबाट पुष्टि भएको छ।

तर अहिले दाँतको किटाणु हटाउन विभिन्न प्रकारका राम्रा र सुरक्षित उपकरणहरु बजारमा पाइन्छन्। तैपनि मानिसले सिन्काले दाँत कोट्याउन छोडेका छैनन्। सिन्काले दाँत कोट्याउनु किन हानिकारक त? अमेरिकन डेन्टल एसोसियसनकी डा. सेली क्रेम भन्छिन्, ‘दाँतको बीचमा अड्केका खानाका ठूला टुक्रा निकाल्न टुथपिकको सहयोग लिन सकिन्छ तर यसले दाँत सफा गर्ने धागो तथा अरु माध्यम जसरी काम गर्दैन।’

‘टुथपिक काठबाट बनेको हुन्छ र त्यो एकदम तीखो हुन्छ। मसँग एकजना बिरामी थिए, जसले टुथपिक प्रयोग गर्दथे र त्यसले दाँत कोट्याउने तथा गिजा कोट्याउने गर्दथे र त्यसैकारण उनको दाँतमा संक्रमण भएको थियो,’ उनी भन्छिन्।

उनका अनुसार दाँतमा अड्केको खाना टुथपिकले निकाल्न खोज्दा ती फोहोर अझ भित्र पस्न सक्छ। ननिस्केपछि टुथपिक दाँतको भित्रसम्म पुर्‍याउने कोसिस गरिन्छ। त्यसो गर्दा गिँजामा घाउ लाग्न वा चल्न सक्छ। धेरै कोट्याए गिँजाबाट रगत आउन वा संक्रमण हुन सक्छ।

त्यसैले दाँत कोट्याउन टुथपिकको प्रयोग गर्नुको साटो दाँत सफा गर्ने फ्लस पिक वा सफ्ट पिक प्रयोग गर्न उनी सल्लाह दिन्छिन्। दाँत कोट्याउने प्लास्टिक स्टिक पनि पाइन्छ। त्यसमा रबर हुनाले त्यो लचिलो हुने र गिँजामा चोट नलगाइ वा नदुखाइ फोहोर निकाल्न सकिन्छ। एजेन्सी / नेपालखबर

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित