यी हुन् बच्चाको सामुन्ने अभिभावकले गर्नैपर्ने ६ काम

१) असफलतालाई स्विकार्न : अधिकांश अभिभावक चाहन्छन्, आफ्नो बच्चाले हरेक क्षेत्रमा सफलता हासिल गरुन् । तर, जीवनमा सधै सफलता मात्र प्राप्त हुँदैन । सफलता र असफलता एकै सिक्काका दुई पाटा हुन् । कहिले सफलता मिल्छ, त कहिले असफलता ।

सफलतामा रमाउन वा खुसी हुन गाह्रो भएन । तर, हार एवं असफलतालाई पचाउन पनि सिकाउनुपर्छ । बच्चा जब कुनै क्षेत्रमा असफल हुन्छन्, त्यस अवस्थामा पनि उनीहरुले आफ्नो आत्माविश्वास गुमाउनु हुँदैन । त्यो असफलताबाट निरास एवं दुखी हुन दिनु हुँदैन । बरु उच्च आत्माबलका साथ असफलतालाई स्विकार्न सिकाउनु पर्छ ।

२) आध्यात्मिक कुरा : धर्म, संस्कारलाई अहिले धेरैले आडम्बर, अन्धविश्वासका रुपमा लिन्छन् । तर, धर्म-संस्कारले मानिसलाई नैतिकवान् बन्न प्रेरित गर्छ । आपराधिक मनोवृत्ति हटाउँछ र सवैप्रति श्रद्धाभाव जगाउँछ ।

यसले मानिसमा सकारात्मक सोंचको विकास गर्छ । त्यससँगै आध्यात्मिक ज्ञानले मानसिक शान्ति दिन्छ । त्यसैले बच्चालाई सहि बाटोमा डोहोर्‍याउनका लागि धर्म, संस्कारको कुरा पनि सिकाउनुपर्छ । उनीहरुलाई आध्यात्मिक ज्ञान दिनुपर्छ । यसले उनीहरुलाई सफलता प्राप्त गर्न मात्र होइन, आफ्नो काम एवं सफलतारअसफलताप्रति सन्तुष्ट हुन पनि मद्दत गर्छ ।

३) प्रकृतिसँग एकाकार हुन : बच्चालाई प्रकृतिसँग एकाकार हुन सिकाउनुपर्छ । बोट बिरुवा, जीव जन्तु सवैलाई प्रेम गर्न सिकाउनुपर्छ । प्रकृतिले हाम्रो जीवनलाई कति सुन्दर बनाएको छ भन्ने कुराको उनीहरुलाई अनुभूत गराउनुपर्छ । बोट बिरुवा रोप्न, स्यहार्न, फूल रोप्न प्रेरित गर्नुपर्छ । पर्यावरणलाई दुषित तुल्याउने काम नगर्न सचेत गराउनुपर्छ ।

४) अनुशासित जीवनशैली : कुनै पार्टीमा, भोजमा, सभा-समारोहमा, कार्यलयमा वा सार्वजनिक क्षेत्रमा हामी जति सर्तक र अनुशासित हुने अभ्यास गर्छौ, घरभित्र पनि त्यसैलाई निरन्तरता दिनुपर्छ ।

घरमा एवं परिवारसँग अनुशासित ढंगले प्रस्तुत हुनुपर्छ । आत्माअनुशासनलाई कायम राख्नुपर्छ । परिवारका सदस्यसँग गर्ने व्यवहार, बोली आदि तर्कसंगत हुनुपर्छ । यसबाट बच्चाले पनि अनुशासित जीवनशैली अनुसरण गर्न सक्छन् ।

५) स्वस्थ्य दिनचर्या : बावुआमा एवं अभिभावकको दिनचर्याबाट बच्चाको जीवनशैली प्रभावित हुन्छ । आमाबुवा उठ्ने, सुत्ने, खाने, बस्ने, मनोरञ्जन गर्ने कुराले बच्चामा प्रभाव पार्छ ।

अभिभावकले जस्तो जीवनशैली अपनाउँछ, त्यसै अनुरुप बच्चाको जीवनशैली पनि निर्देशित हुन्छ । त्यसैले अभिभावककको सुत्ने, उठ्ने, खाने तालिका नियमित हुनुपर्छ । साथै, स्वस्थ्य खानपान गर्ने, व्यायाम गर्ने, हाँसीखुसी रहने जस्ता व्यवहारबाट बच्चाले स्वस्थ्य जीवनशैली अपनाउन प्रेरित हुन्छन् ।

६) संघर्ष गर्न : अभिभावकलाई आफ्नो बच्चाको माया हुन्छ । र, हरेक अभिभावक चाहन्छन् बच्चाले सुखभोग गरुन् । त्यसो भन्दैमा बच्चालाई काम गर्न नदिने वा वच्चाले चाहे जस्तो सबै कुरा उपलव्ध गराउने गल्ती गर्नु हुन्न ।

यसले गर्दा बच्चाले संघर्षको महत्व बुझ्दैन । श्रमको मूल्य बुझ्दैन । बच्चालाई सुख र खुसी मात्र बाढ्ने होइन, दुख, संघर्षको अनुभव पनि गराउनु पर्छ । श्रमलाई सम्मान गर्न सिकाउनुपर्छ । अभिभावकले आफ्नो पीडा, दुख, कष्ट, संघर्षबारे बच्चालाई जानकारी दिनुपर्छ र त्यसरी संघर्ष गर्नका लागि प्रेरित पनि गर्नुपर्छ । स्वास्थखबरकाे सहयोगमा

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित