जिममा महिला क्रेज

बिर्तामोड / भद्रपुर–११की २२ वर्षीया मनसुन अधिकारी युएसमा बच्चा जन्माउँन चाहन्छिन् । उनका श्रीमान नेना अधिकारी हाल युएसमा छन् । युएसमा बच्चा जन्माउनकै लागि उनी अहिले युएस जाने तयारी गर्दै छिन् । जसका लागि मनसुन अहिले बिर्तामोडमा रहेको निल डेविड हेयर सैलुन एण्ड व्यूटी एकाडेमीमा व्यूटिसियन कोर्ष गरिरहेकी छिन् । व्यूटीसियन कोर्षले मात्र उनी सन्तुष्ट छैनन् । उनको शरीर आफैंलाई भद्दा लाग्न थालेपछि उनी अहिले व्यूटीसियन कोर्षसँगै जिम धाउन थालेकी हुन् ।

फुर्तिलो र आकर्षक शरीरसँगै स्वस्थ रहन उनी अहिले ग्यालेक्सी फिटनेशमा दिनहुँ आउँछिन् । ११देखि २ बजेसम्म व्यूटीसियन कोर्ष गर्छिन् अनि एक घण्टा जिम गर्न सयम छुट्याएकी छन् उनले । उनको एउटै मात्र सपना छ, आफू स्वस्थ्य रहँदै आकर्षक र फुर्तिलो शरीर लिएर अमेरिका जाने । बिर्तामोडमा रहेको ग्यालेक्सी फिटनेश जिम हाउसमा भेटिएकी उनले भनिन्– ‘बच्चाको करियरका लागि युएस जाने तयारी गर्दैछु, आफैंलाई शरीर भद्दा जस्तो लाग्न थाल्यो अनि जिम आउन थालेकी हुँ ।’

उनी मात्र होइन लक्ष्मीपुर निवासी २४ वर्षीया खुशी कुँवर पनि अहिले नियमित ग्यालेक्सी फिटनेशमा शारीरिक व्यायामका लागि आउने गरेकी छिन् । उनी पनि मनसुनसँगै ग्यालेक्सी फिटनेश आउँछिन् । खुशी पनि हाल व्युटीसियन कोर्ष गरिरहेकी छिन् । ‘शरीरलाई स्वास्थ र तन्दुरुस्त राख्न म पनि मनसुनसँगै जिम आएकी हुँ’– खुशीले भनिन् । जिम गर्दा शरीर फुर्तिलो र आकर्षक बन्ने रहेछ– खुशीले थपिन्– ‘स्वास्थ्य प्रति म सचेत छु, स्वास्थ्य नै सवैभन्दा ठूलो धन हो, त्यसैले म जिम सिक्न आएकी हुँ ।’ उनी दुई सन्तानकी आमा हुन् ।

त्यसो त उनीहरु जिम आउने महिला प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्ता अधिकांश युवती र महिला अहिले दिनहुँ जिम हाउस धाउन थालेका छन् । ग्यालेक्सी फिटनेशकी सञ्चालक कल्पना मगर भन्छिन्– ‘यहाँ जिम गर्न १६ वर्षका किशोरीदेखि ५५ वर्षसम्मका महिलाहरु पनि आउनु हुन्छ ।’

२०७३ सालबाट चन्द्र राना मगर लाफा र सन्दीप सेर्माले ६० लाखभन्दा बढी लगानी गर्दै सञ्चालनमा ल्याएको जिम हाउसमा अहिले ३५ प्रतिशत महिला जिम गर्न आउने गरेका छन् । ग्यालेक्सी फिटनेशका सञ्चालक लाफा भन्छन्– ‘एक हजार दुई सय जना ग्यालेक्सी फिटनेशमा आवद्ध हुनु भएको छ, अहिले नियमित तीन सय जनाले जिम गरिरहनु भएको छ ।’ जिम गर्न महिलाको क्रेज पनि उत्तिकै छ –लाफाले भने– ‘ग्यालेक्सी फिटनेश शुरु गर्दा महिला खासै आउँदैनन् जस्तो लागेको थियो, तर अहिले ६५ प्रतिशत पुरुष हुन्छन्, बाँकी सबै महिला ।’

किन बढ्यो जिममा महिलाको रुची ?

पहिले जिम जाने पुरुष मात्रै भन्ने बुझाइ थियो । कुनै महिलाले फिटनेस सेन्टर जान्छु भन्दा पनि नराम्रो नजरले हेरिन्थ्यो । हलमा पनि पुरुष नै बढी हुने भएकाले महिलालाई जिस्क्याउँथे । अहिले त्यस्तो अवस्था छैन । शारीरिक व्यायामको ट्रेण्ड र स्वस्थ हुनुपर्छ भन्ने सोचको विकासले यसमा परिवर्तन आएको छ– ग्यालेक्सी फिटनेशकी सञ्चालक कल्पना भन्छिन्– ‘अधिकांश महिला शरीरको तौल घटाउन, स्टामिना बढाउन, स्वस्थ र स्फूर्तिका लागि जिम आउने गर्छन् ।’

शरीरको तौल घटाउन मात्रै नभएर हाम्रो शरीरलाई स्वस्थ र स्फूर्त राख्न व्यायाम जरुरी भएकाले जिम गर्न महिलामा पनि क्रेज बढेको छ– जिम हाउसका अर्का सञ्चालक सेर्मा भन्छन्– ‘स्वस्थ र सुन्दर रहन कसैलाई मन हुँदैन र ? त्यसैले अहिले के महिला के पुरुष सवै सचेत नागरिक जिम गर्न अग्रसर छन् ।’

यता जिम हाउस आउने महिलाले वेट लस, फिटनेश, वडी सेफ, कार्डियो ट्रेनिङ गर्न रुचाउने गरेको प्रशिक्षक ललित धिमालले बताए । उनले भने– ‘स्वस्थ र सुन्दर शरीरका लागि जिम र फिटनेस सेन्टर धाउनेको संख्या बढ्दो छ । पहिला शरीर बनाउनका लागि मात्रै जिम जानुपर्छ भन्ने सोचाइ धेरैले राख्थे । अहिले सोचमा परिर्वतन आएको छ । स्वस्थ रहनुपर्छ भन्ने सोचको विकासले पनि जिम धाउने महिला बढेर गएका छन् ।’

नेपालमा शारीरिक सुगठन सम्बन्धी थुप्रै प्रतियोगिता आयोजना हुन थालेसँगै जिमप्रति युवाको आकर्षण बढेको बताइन्छ । राम्रो ट्रेनिङ लिएकाले ती प्रतियोगितामा भाग लिने र जित्ने मौका पाउँछन् । त्यसमा पनि मोडलिङ गर्ने अवसर पनि त्यतिकै हुने भएकाले जिम प्रति युवाको आकर्षण बढ्दै गएको बताइन्छ ।

धमाधम जिम हाउसमा लगानी गर्दै झापाली युवा

बिर्तामोडका युवा व्यवसायी हरि धिमालले फिटनेश वल्र्डमा केही वर्ष अघि मोटो रकम लगानी गरे । जिम हाउसबाट उनले राम्रै मुनाफा पनि कमाए । त्यस यता धमाधम अन्य युवाले पनि जिम हाउसमा लगानी गर्न शुरु गरे । अहिले बिर्तामोडमा व्रदर्श, वडी ग्यारेज, ग्यालेक्सी, फिटनेश वल्र्ड, सन्तुलन, नारी फिटनेश, मण्डा जिम सेन्टर लगायतका जिम हाउसमा झापाली युवाले करोडौं रुपैयाँ लगानी गरेका छन् ।

अनुभवी प्रशिक्षक राखेर जिम हाउस चलाउँदा घाटा नहुने भएकाले झापाली युवाले धमाधम जिम हाउसमा लगानी गर्न शुरु गरेको बताइन्छ । एरोबिक, जुम्बा फिटनेस, स्टेप एरोबिक, किक बक्सिङ, सर्किट ट्रेनिङ, बुट क्याम्प ट्रेनिङ, एक्वा फिटनेस लगायत कोर्स, वेट लस, वडी सेफ, काडियो ट्रेनिङ, वडी बिल्डिङ लगायतका कोर्ष यहाँ सञ्चालित जिम सेन्टरमा सिकाइने गरेको बताइन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित