रजस्वला ढिलो हुन्छ? नियमित रजस्वलाको लागि घरेलु तथा प्राकृतिक उपायहरू…

अनियमित महिनावारीलाई चिकित्सकीय भाषामा ‘ओलिगोमेनोरिया’ भनिन्छ, जुन अधिकांश महिलाहरूका लागि साझा समस्या बन्दै आएको छ। तौलमा घटबढ, चिकित्सकीय समस्या, अस्वस्थ खानेबानी तथा जीवनशैलीजस्ता अनेकौँ कारणले गर्दा हुने अनियमित रजस्वलाले गर्दा महिलाहरूमा अनावश्यक तनाव उत्पन्न गराउन थाल्दछ। यसैकारण नै आज हामी तपाईँहरूलाई यस्तो तनावबाट मुक्त गराउने सुरक्षित तथा प्राकृतिक उपायहरूको बारेमा छोटो जानकारी दिन गैरहेका छौँ।

अनि थाहा छ? अनियमित रजस्वलाको समस्याबाट राहत दिने उपचार विधिहरू प्रकृतिकै कोखमा भेटिन्छन्, जुन हामीले सँधै देख्दै आइरहेका छौँ, याद मात्र गर्दैनौँ। धनियाँको हरीयो पात देखि लिएर भिटामिन-सी युक्त फलफूलसम्म- प्रकृतिले हामीलाई अनियमित रजस्वला हटाउनका लागि अनेकौँ स्रोतहरू प्रदान गरेको छ।

रजस्वलाचक्रलाई नियमित गर्ने सबैभन्दा उपयोगी र प्रभावशाली प्राकृतिक उपायहरू यसप्रकार रहेका छन्-

१. धनियाँको हरीयो पात

प्राचीन कालमा शताब्दीऔँ देखि नै धनियाँको पातलाई रजस्वला निम्त्याउने प्राकृतिक औषधीको रूपमा प्रयोग गरिँदै आएको छ। “धनियाँको पातमा हुने दुईवटा तत्वहरू- एपियोल र मिरिस्टिसिनले पाठेघरलाई खुम्च्याउँदछ, जसले रजस्वला चक्रलाई सुचारु गर्न मद्दत गर्दछ।”, पोषणविशेषज्ञ ‘डा. लभनीत बात्रा’ भन्छन्।

कसरी प्रयोग गर्ने?

रजस्वला नियमित गराउनको लागि हरीयो धनियाँको पातको दैनिक डोज भनेको केवल ६ ग्राम हुनुपर्दछ, जसलाई २/२ ग्राम गरी १५० मिलिलिटर पानीमा उमाली दिनमा तीनपटक पिउनुपर्दछ। अथवा १ गिलास पानीमा ३/४ पत्ता हरीयो धनियाँको पात राखेर उमालेर पिउँदा पनि उपयोगी हुन्छ।

२. जीरा

धनियाँकै प्रजातीमा पर्ने जीराको दानाले पनि उस्तै प्रभाव गर्ने विशेषज्ञहरू बताउँछन्। यसले महिलाहरूमा रजस्वलाचक्रलाई नियमित गराउनुको साथै नियमित सेवनले दुई हप्तामा नै मोटोपना घटाउँदछ।

कसरी प्रयोग गर्ने?

१ गिलास पानीमा आधा चम्चा जीराको दाना राखेर १० मिनेट उमाल्नुहोस्, ताकि पानीको रङ्ग हलुका खैरो होस्। त्यसपछि त्यसलाई ५ मिनेटसम्म छोपेर राख्नुहोस् र पिउनुहोस्। यसले रजस्वलाचक्रलाई नियमित गराउन मद्दत गर्दछ। यदि तपाईँको गर्भवती हुनुहुन्छ भने यो विधि अपनाउनु हानीकारक हुने चिकित्सकहरू सल्लाह दिन्छन्।

३. मेवा

रजस्वलाचक्रलाई नियमित बनाउने सबैभन्दा प्रभावशाली घरेलु उपायहरूमध्ये मेवा पनि पर्दछ। डा. बात्राका अनुसार, काँचो हरीयो मेवाले पाठेघरलाई खुम्च्याई रजस्वला सुचार गर्न मद्दत गर्दछ। यसमा पाइने क्यारोटिनले महिलाहरूमा एस्ट्रोजेन हरमोनको उत्पादन गराई रजस्वला सुचारु गराउँदछ।

कसरी प्रयोग गर्ने?

विशेषज्ञका अनुसार, रजस्वलाचक्रका अन्तिम दिनहरूमा काँचो मेवा चपाउने अथवा मेवाको जुस दिनमा दुईपटक (२०० मिलिलिटर) पिउने अथवा १ बटुको पाकेको मेवा खाने गर्नाले यसको प्रभाव देख्न सकिन्छ।

४. अदुवा

अदुवाको चियालाई रजस्वला निम्त्याउने सबैभन्दा शक्तिशाली तत्व मानिन्छ। तर यसले अलिकति साइडइफेक्ट दिने चिकित्सकहरू सुझाव दिन्छन्- एसिडिटी। त्यसैले धेरैदिनसम्म रजस्वला रोक्किएको छ भने हरीयो धनियाँको पात र अदुवाको चिया बनाएर पिउन चिकित्सक सल्लाह दिन्छन्। अदुवाले पाठेघर वरिपरीको तापक्रम बढाएर त्यसलाई खुम्च्याई रजस्वला गराउन मद्दत गर्दछ।

कसरी प्रयोग गर्ने?

अदुवालाई चियाको रूपमा सेवन गर्नु सबैभन्दा सजिलो उपाय हुन आउँछ। तर यसबाट राम्रो प्रभाव पाउनका लागि आधा गिलास अदुवाको रसमा आधा चम्चा मह मिसाएर पिउनुपर्ने विज्ञहरू बताउँछन्। रजस्वला रक्किएका दिनहरूमा विहान उठ्ने बित्तीकै आधा गिलास पानीमा आधा गिलास अदुवाको रस मिसाएर खालीपेटमा पिउनुपर्दछ।

५. मेथी

प्रजनन समस्याको उपचारको लागि मेथीलाई शताब्दीऔँ देखि नै प्रयोग गरिँदै आएको इतिहास रहेको छ। यसले महिलाहरूमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हरमोनलाई सक्रिय गराई पाठेघरलाई खुम्च्याउँदछ र रजस्वला गराउन मद्दत गर्दछ। साथै यसले प्रशवावस्थाको पीडा सहिरहेका महिलाहरूको पीडा कम गर्न पनि मद्दत गर्दछ। तर यसको धेरै सेवनले गर्भपतन गराउने खतरा निम्त्याउँदछ।

कसरी प्रयोग गर्ने?

तरकारीमा एक चम्चा मेथीको दाना राखेर दैनिक खाने बानीले रजस्वलाचक्रमा आउने समस्या टाढा हुने विज्ञहरूको सल्लाह रहेको छ। साथै विहानीपख एकगिलास पानीमा आधा चम्चा मेथीको दाना राखि उमालेर पिउँदा पनि प्रभावकारी हुने उनीहरू बताउँछन्।

अन्त्यमा– रजस्वला रोक्किनु महिला र उनको जीवनसाथीको लागि कहिले खुशीको खबर हुन सक्छ भने कहिले तनावको खबर हुन सक्छ। त्यसैले यसलाई हेलचेक्र्याईँ गर्नु भनेको खतरासँग जुवारी खेल्नुसरह हुन्छ। माथीमा घरेलु उपायहरू अपनाउँदा पनि रजस्वलाचक्रमा समस्या देखापर्यो भने चिकित्सकसँग परामर्श लिई सही उपचार गर्नु आवश्यक हुन्छ।

*नोट- तल दिइएकामध्ये केही विधिले गर्भपतन पनि गराउन सक्दछ। त्यसैले यदि तपाईँको रजस्वला रोक्किएको छ र गर्भवती हुनुभएको छ भने चिकित्सककोमा जानु उचित हुनेछ।

प्रतिक्रिया

सम्बन्धित