पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
काठमाडौँ । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा घुमाइएको छ । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ ।
यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मन्दिर घुमाउने परम्परा बसेको काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले जानकारी दिए । चन्द्रविनायकलाई पिता अर्थात् भगवान् पशुपतिनाथको दर्शन गराएपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिए ।
यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वकासाथ मनाइन्छ । पशुपतिनाथ अमालकोट कचहरीकाद्वारे रामकृष्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।
मार्गशीर्ष कृष्ण प्रतिपदामा दुवै रथलाई मन्दिर वरपर घुमाइ गङ्गाहिटीमा लगेर स्नान गराइएको थियो । स्नानपछि दुवै खटलाई त्यस दिन बेलुकी नै चारुमती बिहारमा लगेर बिसाइएको थियो । जात्रा करिब ३५० वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल सम्बत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुवात् गराएको स्थानीयको भनाइ छ । श्री चन्द्रविनायक तथा भैरवनाथको रथयात्रा कार्तिक शुक्ल पूर्णिमा अर्थात् शुक्रबारदेखि सुरु भएको हो ।
जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । मार्गशीर्ष कृष्ण तृतीयाका दिन अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि जात्रा सम्पन्न हुन्छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ ।
जात्रा सफलतापूर्वक समापन भएको खुसियालीमा चाबहिल क्षेत्रमा सिन्दूरजात्रा गर्ने परम्परा रहिआएको जनाइएको छ । जात्रा कार्तिक शुक्ल पूर्णिमामा चाबहिल क्षेत्रमा सुरु भएको थियो ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा हर्षोल्लासका साथ मनाउने परम्परा भूपालेन्द्र मल्लका पालादेखि नै रहिआएको जनाइएको छ ।
प्रतिक्रिया