हिमाल आरोहण गर्न ७० देशबाट ८७० आरोहीले लिए अनुमति

शरद् ऋतु (अटम सिजन) मा नेपालसहित ७० देशका ८७० जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार, यो सिजनमा ३७ हिमाल आरोहणका लागि १११ आरोही समूहका २०२ महिला र ६६८ पुरुषले अनुमति प्राप्त गरेका छन्।

हिमाल आरोहणबाट नेपाल सरकारले ६ करोड ३५ लाख ७९ हजार ५३ रुपैयाँ रोयल्टी संकलन गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए। उनले शरद् ऋतुको आरोहण करिब अन्तिम चरणमा पुगेको र मनास्लु र हिम्लुङ हिमालको आरोहण सकिएको, जबकि अमादब्लम लगायतका अन्य हिमालको आरोहण कार्य जारी रहेको बताए।

विभागको पर्वतारोहण शाखाका अनुसार, मनास्लु हिमाल (८,१६३ मिटर) सिजनको सबैभन्दा लोकप्रिय रहेको छ जहाँ २८ समूहका ३०८ जनाले आरोहण अनुमति लिएका छन्। अमादब्लमका लागि १४ समूहका १५८, हिम्लुङका लागि १० समूहका १२४, धौलागिरिमा १ समूहका १४, र मकालुमा १ समूहका २ जनाले आरोहण अनुमति लिएका छन्।

गुरुङका अनुसार, शरद् सिजनको अन्त्यसँगै अब साना समूहमा मात्र केही आरोही आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित