उच्च पहाडी क्षेत्रको ‘छुसा’ छुर्पीको भारतमा बढ्दो माग

पूर्वी नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनावरले बोकेर भारतका बजारमा पुर्‍याउने गरिएको छ। चिल्लो (फ्याट) को मात्रा अत्यधिक भएको यो छुर्पी भारतमा धेरै रुचाइन्छ।

पाँचथरको याङवरक तथा फालेलुङ गाउँपालिका, साथै ताप्लेजुङ र इलामका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने छुसा छुर्पी विगतमा भारतका व्यापारीहरूले सिक्किम राज्यमा लैजाने गर्थे। तर अहिले, पूर्वी भारतका धेरै बजारसम्म यो छुर्पी पुर्‍याइने गरिएको याङवरक गाउँपालिका–१ का छुर्पी उत्पादक राजेन्द्र खालिङ राईले बताए।

उनका अनुसार यहाँ उत्पादित छुर्पी भरियाले बोकेर नेपाल–भारत सीमासम्म पुर्‍याउने गर्छन्। त्यसपछि, भारततर्फका व्यापारीहरूले गोरुलाई बोकाएर बजारसम्म पुर्‍याउँछन्।

शेर्पा भाषामा ‘छुसा’को अर्थ टुक्रा हुन्छ। विशेषतः सिक्किमका व्यापारीले नेपालमै आएर छुर्पी उत्पादकलाई यसको सीप सिकाएपछि यहाँ छुसा छुर्पीको उत्पादन सुरु भएको हो। “व्यापारीहरू आफैं आएर टुक्रा बनाउन र टुक्राको माला बनाउन सिकाएपछि यो छुर्पी बनाउन थालेका हौं,” खालिङले भने। उनले थपे, “हामीले उत्पादन गरेको सबै छुर्पीले बजार पाइरहेको छ।”

उच्च पहाडका दुग्ध डेरी तथा गोठालाहरूले यो छुर्पी बनाउँछन्। छुर्पी बनेपछि व्यापारीले दिएको आकारमै टुक्रा पारी डोरीमा माला उनेर सुकाइन्छ। उच्च पहाडमा यातायातको पहुँच राम्रो नभएका कारण भारतका व्यापारीले आफैं भरिया खोजेर गोठ-गोठबाट छुर्पी सङ्कलन गर्छन्। नेपालका धेरै छुर्पी उत्पादकले कुकुरले खाने ‘डगइट’ छुर्पी उत्पादन गर्छन्।

डगइट छुर्पीको तुलनामा छुसा छुर्पीको मूल्य कम भए पनि यहाँका किसानले यही छुर्पी बनाउँछन्। “अर्को छुर्पी बनाउन गाह्रो छ, यहाँ घाम कम लाग्ने हुँदा सुकाउन समस्या हुन्छ, कहिलेकाहीँ छुर्पी फुलिने समस्या हुन्छ,” पाँचथरको याङवरक–१ का वडाध्यक्षसमेत रहेका खालिङले भने। तर, छुसा छुर्पीमा बिग्रिने समस्या हुँदैन र लामो समय भण्डारण गरेर राख्न सकिन्छ।

यो छुर्पी प्रतिमाला रु १८० मा बिक्री हुन्छ। खालिङका अनुसार यो छुर्पीमा चिल्लोको मात्रा अत्यधिक हुन्छ। डगइट छुर्पी बनाउन दूध फटाएर दुईदेखि तीन पटक धोएर सुकाइन्छ, जबकि छुसा छुर्पी फाटेको दूध नधोई थप दूध लगाएर बनाइन्छ। उत्पादकहरूका अनुसार यो छुर्पी खाँदा रसिलो हुन्छ।

उच्च पहाडमा गुणस्तरीय छुसा छुर्पी उत्पादन भए पनि नेपाली बजारले यसलाई चिन्न नसकेको खालिङको भनाइ छ। “नेपालको बजारमा यो छुर्पी पुर्‍याउन र उपभोक्तालाई स्वाद चखाउन सके राम्रोसँग चल्ने थियो,” खालिङले भने। उनका अनुसार सबैले रसिलो छुर्पी खान पाउने थिए।

खालिङको परिवारले यो छुर्पी उत्पादन गर्न थालेको तीन वर्ष भयो। विगतमा डगइट छुर्पी उत्पादन गर्ने उत्पादकले उक्त छुर्पीले बजार नपाउँदा सास्ती भोग्नुपरेको थियो। “अहिले हामी महिनामा ५०० देखि ६०० माला यो छुर्पी बनाउँछौं,” खालिङले बताए। “अहिलेसम्म यो छुर्पीमा कुनै समस्या खेप्नुपरेको छैन।”

प्रतिक्रिया

सम्बन्धित