अर्जुनधारा जलेश्वर धाममा ४२औं वार्षिक अनुष्ठान, पाँच लाख पर्यटकको लक्ष्य

अर्जुनधारा जलेश्वर धाममा बालाचतुर्दशी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गर्दै पाँच लाखभन्दा बढी धार्मिक पर्यटकलाई भित्र्याउने लक्ष्य राखिएको छ। धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार, महायज्ञ मङ्सिर ८ देखि १५ गतेसम्म हुनेछ, जसको उद्देश्य विश्वशान्ति र पितृ उद्धारका लागि समर्पित छ।

यस धार्मिक महायज्ञमा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भावगतसहित हवनात्मक अनुष्ठान गरिने छ। महायज्ञको तयारीका लागि विभिन्न १९ उपसमितिहरू गठन भएका छन्, जसले आफ्नो जिम्मेवारीअनुसार कार्य गरिरहेका छन्। हाल मुख्य मन्दिरको पूर्व–दक्षिणतर्फ १०८ व्यास कुटी, यज्ञ मण्डप, र अन्य संरचनाहरूको निर्माण तीव्र रूपमा भइरहेको छ। शनिश्चरे बजार चोकमा ५० फिट अग्लो बिजुली बत्तीको गेट निर्माणको तयारी पनि भईरहेको छ।

महायज्ञको नेतृत्व धामका व्यासाचार्य कुवेर सुवेदीले गर्नेछन्, र मुख्य अर्चकका रूपमा अग्निप्रसाद सिग्देल रहनेछन्। धाममा हाल रु. ५० लाखको अक्षयकोष रहेको छ, जसलाई रु. दुई करोड पुर्याउने लक्ष्य राखिएको छ। अनुष्ठानका क्रममा अष्टोत्तरशत श्रीमद्भागवत पाठपारायण हुने र सोही सङ्ख्यामा यजमान राख्ने योजना छ। यजमानका लागि रु. ५१ हजारको सहयोगका साथ पितृको नाम सङ्कल्प गर्न सकिने व्यवस्था गरिएको छ।

महायज्ञ अवधिभर सहयोग रसिद, भागवत भेटी, गङ्गा आरती, बजार स्टल, यजमान, अक्षयकोष र अन्य माध्यमबाट रु. दुई करोड १६ लाख आम्दानी हुने अनुमान गरिएको छ। विभिन्न कार्यहरूमा कुल रु. ९५ लाख ५० हजार खर्च हुने अपेक्षा गरिएको छ। महायज्ञको उद्घाटन मङ्सिर ८ गते विभिन्न जातजातिको झाँकीसहित नगर परिक्रमा गरी गरिनेछ। अनुष्ठानको अवधिमा दैनिक बिहान र अपराह्न सङ्गीतमय कथा प्रवचन, श्रीमद्भागवत कथा पाठपारायण, रात्रि भजनकीर्तन, र शतबीजरोपण कार्यक्रमको आयोजना गरिनेछ।

सरकारले नेपालका १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा निर्माण गरिएको शिव मन्दिर छ, जसको चार वटा ढोका र तामाको छानो विशेष आकर्षण हुन्। मन्दिरको तस्बिर नेपाल सरकारले हुलाक टिकटमा पनि समावेश गरेको छ।

महाभारतकालीन किंबदन्तीअनुसार, अर्जुनले विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण हानेर धर्तीभित्रबाट जलधारा निकालेर यो स्थललाई पवित्र बनाएको मानिन्छ। अहिले पनि धाम परिसरमा रहेको पोखरीको बीचमा अर्जुनले धनुषवाण हानेको मूर्ति छ, र त्यहाँबाट अनवरत जलधारा बगिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित