वीरगंज महानगरले आज १० हजार किशोरीलाई एकैसाथ आत्मारक्षा तालिम दिँदै

वीरगंज । वीरगंज महानगरपालिकाले १० हजार भन्दाबढी किशोरीहरुलाई आत्मारक्षाका लागि आज तालिम दिन लागेको छ । महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

आज बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगंजका सामुदायिक र निजी विद्यालय, कलेज गरी १० हजार बढी छात्राहरुको सहभागिता रहने उनले बताए । एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्ड सहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारी समेत भएको उनले बताएका छन् ।

यो तालिम सफल रुपमा सम्पन्न भएमा वीरगंजको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने भएको हुँदा आम नगरबासीलाई कार्यक्रम सफल पार्न पनि उनले आग्रह गरे । वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिलाई बोलाएर सहभागिहरुलाई प्रशिक्षण दिन लागिएको महानगका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए ।

आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्राहरुलाई ल्याउने लैजाने व्यवस्था सहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिए । भारतबाट आएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्टिस्ट र फिटनेस प्रशिक्षक समेत हुन् ।

उनले अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टंडन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान जस्ता धेरै बलिउड र हलिउड स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएका छन् । ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्राहरु ९किशोरी० आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक वैदले व्यक्त गरे ।

प्रशिक्षक शेट्टीले आफू नेपालका छात्राहरुलाई प्रशिक्षण दिन आउन पाउँदा खुसी लागेको बताए । आज हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयंसेवीहरु खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित