प्रथम नेपाल हव महिला २०–२० क्रिकेटको अन्तिम खेलमा पाहुना टोली राजविराज विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा सम्पन्न प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाहुना टोली राजविराज विजयी भएको छ। अन्तिम खेलमा विजयी भए तापनि ३ खेलको २०–२० क्रिकेट सिरिजमा राजविराज विराटनगरसँग २–१ ले सिरिज गुमाएको छ।

सोमबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमा राजविराजले घरेलु टोली विराटनगरलाई ८ विकेटले पराजित गर्दै ३ खेलको सिरिजमा २–१ ले सिरिज गुमाएको हो। टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९९ रनमा सीमित भयो। विराटनगरका लागि रानु राजवंशीले २२ रन र काजल राजवंशीले १० रनको योगदान दिए। राजविराजकी सुस्मिता यादवले २ विकेट लिँदा अपेक्षा यादव, दीपा राम, र साक्षी यादवले १–१ विकेट लिए।

१ सय रनको विजयी लक्ष्य पछ्याएको राजविराजले १७.१ ओभरमा २ विकेट गुमाई उक्त लक्ष्य पूरा गर्‍यो। राजविराजकी साक्षी यादवले ५४ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै अविजित ५६ रन बनाउँदा बन्दना यादवले अविजित ८ रनको योगदान दिइन्। विराटनगरकी सानु राजवंशीले १ विकेट लिइन्। प्रतियोगिताको उत्कृष्ट ब्याटर राजविराजकी साक्षी यादव घोषित भइन् भने उत्कृष्ट बलर राजविराजकी अपेक्षा यादव बनिन्। विजयी टोली तथा अन्य खेलाडीलाई कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद सादबावु कुरैसीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।

प्रतिक्रिया

सम्बन्धित