झुम्का कारागारलाई पुस्तक-दराज सहयोग
सुनसरी, रामधुनीस्थित झुम्का कारागार पुस्तकालयलाई पुस्तक-दराजसहित २५० थान पुस्तक प्रदान गरिएको छ। पूर्वेली अन्तर्राष्ट्रिय समाजको सहयोग तथा लायन्स क्लब अफ धरान ग्लोरीको आयोजनामा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अफ धरान ग्लोरीकी अध्यक्ष एकता श्रेष्ठले जानकारी दिइन्।
कार्यक्रमको मुख्य उद्देश्य कारागारलाई केवल बन्दी गृह मात्र नभई सुधार गृहको रूपमा परिणत गर्ने र बन्दीहरूको विचार परिवर्तनका लागि विविध विषयका पुस्तकहरू उपलब्ध गराउनु रहेको अध्यक्ष श्रेष्ठले बताइन्। उनले पुस्तकको माध्यमबाट समाजमा पुनःस्थापना गराउने दिशामा बन्दीहरूलाई सकारात्मक योगदान दिने आशा व्यक्त गरिन्।
पूर्वेली अन्तर्राष्ट्रिय समाजका अध्यक्ष सुवास लोहनी र संयोजक शिवजी श्रेष्ठले समाजको उद्देश्य नेपालबाहिर रहेका पूर्व क्षेत्रका नेपालीहरूलाई एकत्रित गरी मातृभूमिको सेवामा योगदान पुर्याउनु रहेको बताए। अध्यक्ष लोहनीले भने, “लायन्स क्लब अफ धरान ग्लोरीसँग सहकार्य गरी कारागारका बन्दीहरूको जीवन परिवर्तनमा सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं।” नले थपे कि यो कार्यक्रम समाजका मानव कल्याणकारी कार्यहरूको सानो सुरुवात मात्र हो, र भविष्यमा यस्ता जीवन परिवर्तनका कार्यहरूमा निरन्तर सक्रिय रहिरहने प्रतिबद्धता जनाए।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख सुमन तिमसिना, जेलर ध्रुव रिजाल, रामधुनी नगरपालिकाका मेयर तथा उप-मेयर, सशस्त्र प्रहरी बलका एस.पी. सुमेन्द्र बज्राचार्य, सशस्त्र कारागार प्रमुख डि.एस.पी. आइन्द्र नेम्वाङ लगायतका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो। साथै, लायन्स क्लबका Multiple GET लायन इन्द्र राजन खत्री, IPDG लायन विजय हरि शर्मा, 1st VDG लायन बबरजंग थापा, 2nd VDG लायन लिला चिमरिया, Cabinet Treasurer लायन रमेश खत्री लगायत अन्य सिनियर लायन्स लिडरहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रम लायन्स क्लब अफ धरान ग्लोरीकी अध्यक्ष एकता श्रेष्ठको अध्यक्षतामा र डि.आइ.जी. चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
प्रतिक्रिया