हारपछि ह्यारिसको पहिलो सम्बोधन, शान्तिपूर्ण सत्ता हस्तान्तरणमा जोड
काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा पराजयपछि कमला ह्यारिसले आफ्ना समर्थकलाई सम्बोधन गरेकी छन् । हारपछिको पहिलो सम्बोधनमा ह्यारिसले आफ्ना समर्थकहरूलाई डोनाल्ड ट्रम्पको जित स्वीकार गर्न अपिल गरेकी छन् । यससँगै उनले आफ्ना समर्थकहरूलाई आफ्नो आदर्शका लागि ‘कहिल्यै हार नमान्न’ भनेकी छन् । वाशिंगटन, डीसीको हावर्ड विश्वविद्यालयमा एक भाषणमा, ह्यारिसले हार स्वीकार गर्दै भनिन्, 'चुनावको नतिजा हामीले चाहेको अनुसार भएन ।' ह्यारिसले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताएकी छन् ।
आफ्ना समर्थकहरूलाई निराश नहुन भन्दै ह्यारिसले आफ्ना उपराष्ट्रपतिका उम्मेदवार गभर्नर टिम वाल्ज, अभियान कर्मचारी, समर्थक, मतदान कार्यकर्ता र निर्वाचन अधिकारीहरूलाई धन्यवाद दिएकी थिइन् । उनको सम्बोधनका क्रममा उनका समर्थक भावविव्हल बनेका थिए भने धेरैले आँसु पुछेको देखिएको थियो ।
ह्यारिसले आफ्नो सम्बोधनमा भनिन्- 'मलाई थाहा छ मानिसहरू अझै पनि धेरै भावनाहरूबाट गुज्रिरहेका छन् । म बुझ्छु, तर हामीले यो चुनावको नतिजालाई सम्मान गर्नुपर्छ ।' ह्यारिसले चुनावमा पराजय भोग्नु परे पनि आफूले उठाएका मुद्दामा संघर्ष जारी राख्ने बताइन् ।
प्रतिक्रिया