आजको राशिफल ~ वि.सं. २०८१ कार्तिक २२ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको पञ्चाङ्ग, वि.सं. २०८१ कार्तिक २२ गते बिहीवार तदनुसार ई. सं. २०२४ नोभेम्बर ०७ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१० बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, चन्द्रोदय : दिउँसो १०:१४ बजे र चन्द्रास्त : बेलुका ०९:३५ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२० बजे र सूर्यास्त : साँझ ०५:१४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०५:१९ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:४२ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे, कार्तिक शुक्लपक्ष (कछलाथ्व) षष्ठी तिथि, बेलुका ०९:०१ बजेसम्म, त्यसपछि सप्तमी तिथि, पूर्वाषाढा नक्षत्र, बिहान ०९:४५ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, साँझ ०३:४२ बजेसम्म, त्यसपछि मकर राशिमा,
धृति योग, बिहान ०८:५५ बजेसम्म, त्यसपछि शूल योग , सुरुमा कौलव करण बिहान ०९:२६ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०९:०१ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : धाता, चन्द्रवर्ण : पहेंलो (साँझ ०३:४२ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (साँझ ०३:४२ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : पश्चिम (बेलुका ०९:०१ बजेसम्म), त्यसपछि वायव्य, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये नृप (राज) वाण : बेलुका ०९:३१ बजेपछि, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : छठ पर्वअन्तर्गत मुख्य दिन – छठ पर्व, डाला पूजा (सायं कालमा सूर्यलाई अर्घ्य दिने दिन), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २३ गते : छठ पर्वअन्तर्गत अन्तिम दिन, बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्वको समापन, कल्पादि, मुहूर्त : शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), अन्नप्राशन (पास्नी), धान्यच्छेदन (मुठी लिने), पसल थाप्ने (दोकान खोल्ने), २४ गते : अष्टमी व्रत, गोरखकाली पूजा, गोपाष्टमी, मुख अष्टमी, बैतडी सिलङ्गामा महारुद्र कोटिहोम मेला, वीर गणेशमान सिंह जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), २५ गते : कूष्माण्ड नवमी (कुभिण्डोभित्र रत्न, द्रव्यादि लुकाएर दान गर्ने दिन), अक्षय नवमी, अमला पूजन, अमलाको बोटमुनि भोजन गर्ने दिन, सत्ययुगादि, हेटौंडा कुष्माण्ड सरोवर मेला, सको चंगुवने, विष्णुत्रिरात्रव्रत प्रारम्भ, महागुरु फाल्गुनन्द जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक) 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवगुरुभ्यो नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

असहजता बीचमा कामको चाप बढ्ने दिन हो, स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । प्रतिष्ठा गुम्ने दुर्घटनामा फँस्न सक्नुहुन्छ । स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रो छैन, तर अचानक धनलाभ हुने सम्भावना छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वरोगहराय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

हाँके÷ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचार÷विमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । घरपरिवारमा सम्पर्क राखी खैखबर बटुल्ने समय हो । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्द्धामा विजय प्राप्त गर्ने दिन हो, मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । उच्चकोटिको प्रेम भावनाको उदय हुने दिन हो, जीवनसाथी वा प्रेमी÷प्रेमिकासँग निकटता बढ्नेछ । सुखसुविधाका सामाग्री वा कुनै यन्त्र÷उपकरण आदि किनमेल गर्न धन खर्च हुनसक्छ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरे÷रङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीले पूर्ण सहयोग गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुनेछ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकाङ्क्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
 

प्रतिक्रिया

सम्बन्धित